Comments Add Comment

शाकाहारी कलाकारको दशैं

विशेषगरि, दशैंमा अरु समयमा भन्दा बढी मासु खाने गरिन्छ । दशैंमा मासुका विभिन्न परिकार बनाएर परिवार र आफन्तविच रमाइलो गर्ने प्रचलन छ । तर, पछिल्लो समयमा मासुले फाइदा भन्दा वेफाइदा बढी गर्छ भन्ने वुझेका मानिसहरुमा कि मासु कम खाने कि मासु नै नखाने प्रचलन बढेको छ ।

चलचित्र क्षेत्रका कतिपय कलाकारहरुले पनि दशैंलाई शाकाहारी भएर नै मनाउने गर्छन् । मासु नखाने कलाकारहरु धेरै छन्, जसले दशैंलाई भेज दशैंको रुपमा मनाउने गर्छन् । उनीहरुले मासु खादैँनन् । तर, दशैंलाई खुसी साथ मनाउने गर्छन् ।

निर्देशक दीपाश्री निरौलाले मासु खान छोडेको २२ वर्ष भइसक्यो । उनी कसैलाई हिंसा गरेर रमाइलो गर्न नहुने पक्षमा छिन् । उनले भनिन्–‘मलाई धेरैले दशैं आयो तिमीहरुलाई त के रमाइलो भन्नुहुन्छ । तर, त्यस्तो होइन । दशैं भनेको मासु खाने मात्र पर्व होइन । यो त आशिर्वाद लिने पर्व हो ।’ मासु नखाएपछि के खान्छिन् त दीपाश्री ? उनी भन्छिन्–‘पनिरको आइटम धेरै खाइन्छ । त्यसमा अचार, तरकारी, दाल त भइहाल्छ ।’

मासु खानु स्वास्थ्यको लागि पनि हानिकारक भएको दीपाश्री बताउँछिन् । उनी सकेसम्म दशैंमा मासु नखान आग्रह पनि गर्छिन् । ‘सोच्नुस् त !, तपाई अर्काको ज्यान मारेर रमाइलो गरिरहनु भएको छ । त्यो त हिंसा भयो’, दीपा भन्छिन्, ‘त्यसैले सक्नुहुन्छ भने मासु नखानुस् । मासु नखाएर पनि पर्व मनाउन सकिन्छ ।’

दीपाश्रीकै संगतबाट कलाकार दीपकराज गिरी पनि शाकाहारी भएका छन् । विगत ६ वर्षदेखि उनले शाकाहारी दशैं मनाइरहेका छन् । दशैंमा विषेशगरि दीपकराज च्याउको तरकारीहरु खाने गर्छन् । उनले भने–‘घरमा मैले बनाउने होइन । जे पाक्छ, त्यही खान्छु ।’

६ बर्ष पहिले दीपकराजलाई मासु विनाको दशैं के दशैं जस्तो लाग्थ्यो । तर, अहिले शाकाहारी दशैंमा नै रमाइरहेका छन् । उनी भन्छन्–‘पहिला दुःख गरिरहेको बेला दशैंमा एक फिला मासु र एक फुल रक्सी खान्थे । जब मलाई चिन्न थाल्नुभयो तब डर लाग्न सुरु भयो । मातेर लडेको देख्नुभयो भने बेइज्जत हुन्छ भनेर खान छोडेँ ।’

आफ्नो हिरो हुने समय बल्ल आएको भन्दै आफ्नो शरीरलाई मेन्टेन गर्न पनि मासु खान छाडेको उनले बताए । उनले थपे–‘अब बल्ल हिरो भएको छु । अझै ७–८ वर्ष हिरो हुनुपर्छ भन्ने छ । त्यसैले स्वास्थ्यलाई ख्यालमा राखेर पनि मासु खान छोडेको हुँ ।’

यो वर्ष त दीपकले नवरात्रीको कठोर ब्रत बसेका छन् । उनले घटस्थापनादेखि नवमीसम्म फलफुल र सुख्खा रोटी बाहेक केही खाएका छैनन् । ‘नवदुर्गाले शक्ति दिने विश्वासले ब्रत बसेको हुँ, दीपकले भने, ‘मलाई त अब टिकाको दिनबाटमात्र दशैं सुरु हुन्छ’ ।’

मासु खानेहरुलाई दीपकले मासु नखानुस् भन्दैनन् । मनले चाहान्छ भने खान भन्छन् । तर, दीपकको फेसबुकमा भएका कसैले पनि मासुको फोटो फेसबुकमा हाले ब्लक गर्ने नीति सुरु गरेका छन् । उनले भने–‘मासु खानेले अरुलाई पनि खान प्रोत्साहित गरेको मलाई मन पर्दैन । त्यसैले जसले फोटो हाल्नुहुन्छ उहाँलाई ब्लक गर्दिन्छु ।’

दशैंलाई शाकाहारी रुपमा मनाउने अर्का नायक हुन्, दीलिप रायमाझी । दीलिपले अहिलेसम्म मासु खाएका छैनन् । उनलाई मासुको स्वाद कस्तो हुन्छ पनि पत्तो छैन । त्यसैले पनि होला, दशैंलाई मासुको पर्व भन्ने मान्यताबाट पर छन् उनी ।

दशैंको समय र अन्य समय उनले खाने परिकारहरु एउटै हुन्छ । उनि भन्छन्–‘दशैं भनेर मेरो त्यस्तो खास केही हुन्न । अरु समय खाएको जस्तै सिजन अनुसारको तरकारीहरु नै खाइन्छ ।’ मासु खानेहरुलाई उनी नराम्रो भने भन्दैनन् । इच्छा हुनेले मासु खान पाउने उनले बताए । यस्तै दशैंलाई भेज भएर मनाउने कलाकारहरुमा नायक अनमोल केसी, नायक प्रदीप खड्का, नायक निखिल उप्रेती, नायिका निशा अधिकारी पनि पर्छन् । उनीहरुले पनि दशैंलाई शुद्ध शाकाहारी भएर मनाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment