Comments Add Comment

हङकङमाथि नेपालको जित, करण र विनोदको उत्कृष्ट प्रदर्शन

१९ असोज, काठमाडौं । नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको छ ।

आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो ।

अन्तरगत हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै६ विकेट क्षतिमा भेट्टायो ।

हङकले खडा गरेको स्कोर ठूलो नभए पनि नेपाललाई जित निकाल्न सहज भने भएन । ओपनरका रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भए भने पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँए । पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए ।

३६ रनको स्कोरमा ४ महत्वपूर्ण विकेट गुमाइसकेको नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले उद्दार गरे । उनले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए ।

आरिफ शेखले २४ बलमा २१ रन बनाउँदै विनोदलाई साथ दिए । आरिफ र विनोदको साझेदारीले नेपाललाई अगाडि बढायो । तर, नेपालको स्कोर ९७ हुँदा आरिफ आउट भएपछि विनोदले सोमपाल कामीको साथ पाए ।

सोमपालले १३ बलमा १३ रन बनाए । नेपाल जितनजिक पुगेका बेला सोमपाल पनि आउट भए । त्यतिबेला नेपाललाई जितका लागि १२ रनमा ११ रन आवश्यक थियो । विनोदले १८ औं ओभरको पाँचौं बलमा छक्का हान्दै आफ्नो अर्धशतक पुरा गरे भने छैटौं बलमा २ रन लिँदै नेपाललाई जिताए ।

यसअघि टस जितेर पहिले बलिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो ।

४१ रनमा तीन विकेट गुमाएको अवस्थाबाट किञ्चित शाह र वकास वर्कतले हङकङको इनिङ सम्हाले । अन्तिम ओभरमा पनि एक विकेटलिएर करणले आफ्नो विकेट संख्या ४ पुर्‍याएका छन् । टी-२० मा यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो ।

यस्तै अविनाश बोहराले एक विकेट लिए भने हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment