१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधानले तोकेको समयभित्र महाधिवेशन गराउन भन्दै आफूले भनेरै सिंगापुर जाँदा पनि महाधिवेशन नभएकोप्रति नेताहरूसँग आपत्ति जनाएका छन् ।
शुक्रबार देउवा निवासमा भएको छलफलमा सहभागी नेताहरूलाई देउवाले यस्तो आपत्ति जनाएका हुन् ।
छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी थिए ।
उक्त छलफलका क्रममा सभापति देउवाले समय हुँदाहुँदै नियमित महाधिवेशन गर्नतर्फ नेताहरू नलागेको भन्दै आक्रोश व्यक्त गरे ।
‘मैले छाड्छु भनेर भनिसकेकै छु । विधानले तोकेको समयभित्र महाधिवेशन गर्नु भनेर मैले भनेरै सिंगापुर गएको हो,’ छलफलमा देउवाले राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यो भनेको मंसिरमै थियो । मंसिरमा किन नगरेको ? समय थियो त ! तपाईंहरूले विवाद गर्दागर्दै यस्तो भयो ? मैले छाड्छु भनेकै छु भने तपाईंहरूलाई के समस्या भयो ?’

देउवाले यति भनेपछि महामन्त्रीद्वय थापा र शर्माले समय कम भएकाले विशेष महाधिवेशन नै गर्नुपर्छ भन्ने लागेर उक्त काममा लागेको ब्रिफिङ गरेका थिए । सुवर्णशमशेरले ०१५ सालमा गरेकोजस्तै अपिल गरेर देउवालाई विशेष महाधिवेशनबाटै पद छाड्न आग्रह महामनत्रीद्वयले गेका थिए ।
‘नियमितमा छाड्छु भनेको छ भने विशेष गरेर छाड्दा पनि राम्रो हुन्छ,’ गगन–विश्वको भनाइ थियो ।
बीचमा रोक्दै देउवाले नियमित महाधिवेशनतर्फ नै जोड गर्न आग्रह गरे ।
‘त्यस्तो होइन, मैले छाड्छु । विशेष होइन नियमित नै गरौं । नियमित गर्न सकिन्छ, पुसको अन्तिम सातासम्म गरौं,’ देउवाले छलफलमा भनेका थिए ।
निधिको प्रतिवाद, कड्किए देउवा
सभापति देउवाले पुसको अन्तिमसाता महाधिवेशन गर्नेगरी तयराी थाल्न निर्देशन दिएपछि नेता निधिले मानेनन् ।
‘सभापतिज्यूले अहिले नियमित गर्ने भन्नुभयो भने हामीले कुरा मात्रै सुनेर हुन्छ ?,’ निधिले भनेका थिए, ‘केन्द्रीय कमिटीको बहुमत साथीहरू मान्दैनन् । हामी मान्दैनौं ।’
निधिलाई बीचमै रोकेर देउवा कड्किए । ‘कसले नमान्ने ? किन नमान्ने ? पार्टी फुटाउनतिर लाग्ने ? गर्न सकिन्छ, पुसको मसान्तभित्र गर्नुपर्छ । मिति तोकेर जानुपर्छ,’ देउवाको प्रष्ट लाइन थियो ।
निधिले भने बहुमत सदस्यले मान्दैनन् भन्दै तर्क गरिरहेका थिए । छलफलका क्रममा फास्ट ट्र्याकबाट कामहरू सकेर महाधिवेशनमा जानसक्ने विषयमा थप छलफल भएको थियो ।

त्यसका लागि केही विकल्प पनि अघि सारिएको थियो । छलफलमा सहभागी एक नेताले बताए अनुसार, यस्ता छन् अघि सारिएका विकल्प :
एक, ७७ जिल्लामा प्रतिनिधि नपठाएर १ सय ६५ ठाउँमा पठाउने ।
दुई, क्रियाशील सदस्यताका लागि एक साता दिने ।
तीन, केन्द्रीय प्रतिनिधि भएर एउटा निर्वाचन क्षेत्रमा एक जना हुनेगरी फास्ट ट्र्याकबाट गर्ने ।
कांग्रेस महाधिवेशनबारे सहमति नजुट्दा केन्द्रीय समिति बैठक पटकपटक सर्दै आएको छ । बैठक बस्न नसक्दा कांग्रेसभित्र विषय पेचिलो बनिरहेको छ ।
नेताहरूका अनुसार, भोलि (शनिबार) पनि महाधिवेशनबारे निष्कर्ष निकाल्नेगरी छलफल चल्नेछ ।
प्रतिक्रिया 4