Comments Add Comment

जमरा शीरमा लगाउने कि जुस बनाएर पिउने ?

२१ असोज, काठमाडौं । दशैंमा जमराको विशेष महत्व हुन्छ । जमरा विनाको दशैं खल्लो हुन्छ । जमरासँगै आर्शिवाद जोडिएकाले पनि जमराले छुट्टै महत्व बोकेको छ । यसैले होला, दशैंको सुरुवात जमरा राखेर नै हुने गरेको छ ।

दशैंको समयमा मात्रै राखिने जमरा आजभोलि जुनसुकै सिजनमा पनि उमार्ने र जुस बनाएर बेच्ने ब्यापार फस्टाइरहेको छ । जमरालाई पेलेर जुसका रुपमा सेवन गर्ने क्रम बढेको छ ।

जमराको जुस पिउँदा उक्त रक्तचाप, सुगर लगायतका रोग निको हुने भन्दै जमराको जुस सेवन गर्नेको संख्या बढ्दै गइरहेको छ । तर, यो प्रचलन डाक्टरको सुझावमा भन्दा पनि सेवन गर्नेहरुको विश्वासमा टिकेको छ ।

जमराको जुसले अनिन्द्रा, मोटोपन, थाइराइड लगायतका रोग नियन्त्रण हुन्छ भन्ने दाबी गर्दै कतिपयले व्यावसायिक रुपमा जमरा उमारेर जुस बेच्ने गरिरहेका छन् । जमरा पेलेर जुस बेच्ने व्यापारीहरु यसले क्यान्सर जस्तो घातक रोग ठीक हुने भन्दै प्रचार गरिरहेका छन् ।

तर, स्वास्थ्यसँग जोडिएको जुसको गुणस्तरबारे स्वास्थ्थ मन्त्रालयको ध्यान गएको छैन । यसको सेवन गर्दा के कस्तो असर पर्छ भन्ने बारेमा कुनैपनि खोज अनुसन्धान भएको छैन । हल्लाका भरमा यसका प्रयोगकर्ता बढ्दै गइरहेको पोषणविदहरु बताउँछन् ।

जमरा व्यापारीको तर्क

काठमाडौंको माकलबारीमा झण्डै ३ बर्षदेखि जमराको जुस विक्री गरिरहेकी सीता भट्राईले जमराको जुसले आफूलाई थाइराइडको रोग निको भएपछि आफूले व्यवसायिक उत्पादन र विक्री थालेको उनले बताइन् ।

तर, जमराको जुसको माग बढेसँगै कतिपयले यसको गुणस्तरमा ध्यान नदिएको बताउँछिन् । जमरा उर्मादा बिउ अर्गानिक हुनुपर्ने उनको भनाइ छ ।

आफूजस्तै रोगीलाई पनि ठीक हुन्छ कि भनेर जमराको जुस बेच्न थालेको बताउँदै सीताले भनिन्, ‘यो पुरै शरीरका लागि लाभदायक हुन्छ । आँखा कम देख्नेका लागि जुस पिएपछि चश्मा लगाउनु पर्दैन । टाउको दुखेको ठीक हुन्छ ।’

‘हामीले दशैंका बेला लगाउने जमराको महत्व बुझेका रहेनछौं । यसको औषधीबारे थाहा थिएन,’ उनले भनिन् ‘विदेशमा त यसको पाउडरसमेत बनाएर बेच्छन् । हामीले भर्खरै यसको महत्व बुझेका छौं ।’

पोषणविद् भन्छन्- अपुष्ट कुरा हो

जमराको जुसले हरेक खालको रोग निको पार्छ भन्ने व्यापारीको दाबीलाई पोषणविदहरुले ‘अपुष्ट’ मानेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत पोषण विभागका प्रमुख केशव पराजुलीले जमराको जुसको तथ्यगत कुराहरु बैज्ञानिक आधारले पुष्टि नभएको बताए । उनल् भने ‘जमराकै जुस खाएर रोग निको हुन्छ भन्नु गलत हो । यसको वैज्ञानिक आधार छैन । वैज्ञानिक आधार नभएका कुराहरु हामीले भन्नै मिल्दैन । हामीले प्रमाणित गरेर देखाउनुपर्छ, त्यसका लागि अनुसन्धान गर्नुपर्छ, परीक्षण गरेर पास भएमात्रै यसलाई मान्न सकिन्छ ।’

बजारमा हल्लाका भरमा जमराको जुसले क्यान्सर ठीक हुन्छ भन्ने प्रचार भए पनि यो अप्रमाणिक दाबी मात्र भएको पराजुली बताउँछन् । जमराको जुसमा पोषण तत्वको भण्डार हुने बताउँदै पराजुलीले तर, त्यसो भन्दैमा रोग ठीक हुन्छ भन्दै प्रचार गर्नु गलत भएको बताए ।

संस्कृतिविद् डा .जगमान गुरुङ भने जमराको जुस औषधीका रुपमा प्रचार भएपछि दशैंमा लगाउने जमराको महत्व अझ बढेको बताउँछन् । दशैंमा जमरा नलाउने मान्छेहरुले पनि यसको महत्व बुझेर जमरा उमारेर जुस खाने गरेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment