Comments Add Comment

नेपालले आयरल्यान्डलाई १४५ रनमा रोक्यो, बलरहरुको उत्कृष्ट कमब्याक

२२ असोज, काठमाडौं । ओमानमा जारी पेन्टाङ्गुलर सिरिज अन्तरगत आयरल्यान्डविरुद्धको खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको छ । एक समय विशाल स्कोरतर्फ लक्ष्यित देखिएको आयरल्यान्डलाई मध्यम अंकमा रोक्न नेपाली बलरहरुले उत्कृष्ट कमब्याक गरे ।

आयरल्यान्डले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको थियो । नेपालले सुरुमै दुवै इन्डमा स्पिनर खेलाएर फरक प्रयोग गर्‍यो । यो निर्णय सही सावित पनि भयो, जब दोस्रो ओभरमा सन्दिप लामिछानेले विष्फोटक ब्याट्सम्यान केभिन ओब्रायनलाई पेभिलियनको बाटो देखाए ।

७ रनमै विकेट गुमाएर झट्का खाएको आयरल्यान्डलाई त्यसपछि भने बलरले दवावमा राख्न सकेनन् । पहिलो ओभर फ्याक्दा दुई रन मात्र खर्चेका स्पिनर ललित राजवंशीले तेस्रो ओभरमा दुई छक्कासहित १६ रन खाए ।

आयरल्यान्डका ओपनर पाउल स्टर्लिङले एन्डी बलबिर्नीसँग निकै महत्वपूर्ण साझेदारी गरे । फलस्वरुप ११ ओभरमा आयरल्यान्डले एक विकेट मात्र गुमाएर ९४ रन बनाइसकेको थियो । २ सय रनको नजिक पुग्नसक्ने सम्भावना देखिएको अवस्थामा १२ ओभरले खेलको दिशा बदल्यो ।

राजवंशीले फ्याकेको १२ औं ओभरमा आयरल्यान्डले लगातार बलमा दुई विकेट गुमायो । तेस्रो बलमा राजवंशीले बलबिर्नीलाई विनोद भण्डारीको हातबाट स्टम्पिङ गराए । त्यसपछि चौंथो बलमा आयरल्यान्डका टेक्टर रनआउट भए ।

त्यसपछिका ओभरहरुमा नेपाली बलरले निकै कसिलो बलिङ गरे । १४.५ ओभरमा अविनाश बोहराले गेरी विल्सनको विकेट लिए । १५ औं ओभरमा पनि आयरल्यान्डले दुई विकेट गुमायो । ओभरको दोस्रो बलमा मार्क अडायर रन आउट भए भने लगत्तको बलमा करण केसीले पाउल स्टर्लिङको निर्णायक विकेट लिए । त्यतिबेलासम्म स्टर्लिङले ४७ बलमा ५९ रनको महत्वपूर्ण इनिङ खेलिसकेका थिए । उनको इनिङमा २ छक्का र छ चौका सामेल छन् ।

सन्दिपले आफ्नो अन्तिम ओभरमा गारेथ डेलानीको विकेट लिँदै आफ्नो विकेट संख्या बढाए । १८ औंभरमा फेरि अविनाशले पनि आफ्नो व्यक्तिगत दोस्रो विकेट लिए ।

नेपालले आयरल्यान्डलाई १ सय ३५ रनभित्रै समेट्ने सम्भावना देखिँदा करण केसीको अन्तिम ओभर भने महंगो बन्न पुग्यो । उनले दुई छक्का सहित १८ रन खर्चिन पुगे । यही ओभर अन्ततः दुवै टिमका लागि महत्वपूर्ण सावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment