Comments Add Comment

लुक्ला उडान सुरु भएपछि मन्थली विमानस्थल व्यस्त

२४ असोज, रामेछाप । सोलुखुम्बुको लुक्लाका लागि उडान सुरु भएपछि रामेछापको सदरमुकाम मन्थलीस्थित विमानस्थल व्यस्त भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढेपछि नागरिक उड्डयन प्राधिकरणले लुक्लाको लागि उड्ने पर्यटकीय उडान मन्थलीबाट सुरु गरेको छ ।

अहिले मन्थलीबाट तारा समिट लगायतका विभिन्न निजी कम्पनीहरुले दैनिक सोलुको लुक्लाको लागि पर्यटकहरु बोकिरहेका छन् ।

असोज १४ गतेबाट मन्थलीदेखि लुक्लासम्मका उडान सञ्चालन भई रहेका छन् । यस बीचमा ६ सय भन्दा बढी उडान भइसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापले जनाएको छ । अहिलेसम्मकै सबैभन्दा बढी असोज २० गते मन्थलीबाट लुक्लाका लागि ६८ वटा उडान भएको प्राधिकरणका रामेछाप प्रमुख अमिर चौरसियाले जानकारी दिए । मन्थलीबाट लुक्लाको लागि गत वर्षबाट उडान सुरु भएको हो ।

मन्थलीबाट लुक्लाको लागि विमान सञ्चालनमा आएपछि मन्थली विमानस्थल र आसपासको क्षेत्र विदेशी पर्यटकले खचाखच भएका छन् । मन्थलीमा धेरै सुविधासम्पन्न होटल नभएका कारण राति काभ्रेको धुलीखेल, सिन्धुलीको मुलकोटलगायतका क्षेत्रमा बास बसेर पर्यटकहरु बिहानै मन्थली आई सोलुतर्फ जाने गरेका छन् । मन्थलीबाट सोलुका लागि हुने अधिकाँश उडान बिहान सबेरै हुने गर्छन् । दिउँसो मौसम अनुकुल नहुने भएकोले उडान हुँदैनन् ।

अहिले मन्थलीमा रहेका होटलहरु पनि पर्यटकहरुले खचाखच भएका छन् । मन्थली बजारका होटल तथा एयरपोर्ट क्षेत्र पर्यटकहरुले खचाखच भएको गैरसरकारी संस्था महासंघ रामेछापका पूर्वअध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

मन्थली विमानस्थललाई काठमाडौंको वैैकल्पिक विमानस्थलको रुपमा विकास गर्ने पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले घोषणा गरिसकेका छन् । यसअघि सरकारले काभ्रेको पाँचखालमा वैकल्पिक विमानस्थल बनाउने प्रस्ताव अघि सारेको थियो ।

मन्थली विमानस्थललाई वैकल्पिक विमानस्थलको रुपमा अघि बढाउने निर्णय भई सकेकाले अझ यसमा चाप बढ्ने मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेत बताउँछन् । नेपाल भ्रमण वर्षलाई समेत ध्यानमा राखी मन्थली बजार र विमानस्थल क्षेत्रमा पर्यटकहरुका लागि सुविधासम्पन्न होटलहरु निर्माण गर्नु पर्ने वस्नेतको भनाइ छ । यसका लागि निजी क्षेत्र र व्यवसायीहरुको ध्यान जानुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment