Comments Add Comment

नेपाल–चीनका ६ नाका सञ्चालनमा, दुईवटाबाट व्यापार

२४ असोज, काठमाडौं । आफ्नो पहिलो नेपाल भ्रमणको अघिल्लो दिन एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणमा जोड दिएका छन् । यो भ्रमणमा नेपाली पक्षले सबैभन्दा बढि आशा राखेको पनि सम्पर्क सञ्जालका पूर्वाधारहरुको निर्माणमा नै हो ।

चिनिया राष्ट्रपतिको नेपाल भ्रमण तय भएसँगै नेपालमा अब उत्तरतर्फको ढोका थप उघ्रिने सम्वन्धमा सरकार विश्वस्त बनेको छ । भौगोलिक कठिनाइ र पूर्वाधारको अभावले नेपाल र चीनबीचको कनेक्टिभिटी सहज छैन । दुई देशबीच १४ सय १४ किलोमिटर लामो सीमारेखामा अहिले ६ वटा नाका सञ्चालनमा छन् तर व्यहारिक रुपमा दुई देशबीचको द्विपक्षीय व्यापार भने दुई वटा नाकाबाट मात्रै हुने गरेको छ ।

रसुवागढी र तातोपानी नाकाको स्तरोन्नतिसहित थप ४ नाका हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किमाङथान्का र ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट दुई देशबीचको व्यापार विस्तारमा यो भ्रमणले ठोस बल पुर्‍याउने आशा पलाएको छ ।

नेपाल–चीनबीच खुला रहेका नाका र तीनको व्यापार अवस्था कस्तो छ त ? यसबारे केही चर्चा गरौं ।

कोदारी–तातोपानी नाका

चीनको तिब्बत जाङ्गमु र नेपालतर्फ सिन्धुपाल्चोकको कोदारी तातोपानी नाका सन् २०७२ मा नेपालमा आएको बिनासकारी भूकम्पअघि नेपाल चीनबीच दुईदेशीय व्यापारको एक मात्र बिन्दू थियो । समून्द्री सतहबाट २५ सय १५ मिटर उचाईमा रहेको यो नाका २०२५ सालदेखि सञ्चालनमा आएको हो ।

बिभिन्न समयमा प्राकृतिक प्रकोपका कारण हुने अबरोधबाहेक नेपालको उत्तरतर्फको दुई देशीय ब्यापारका लागि यो नै एक मात्र र अन्तराष्ट्रिय नाकाको रुपमा रहेको छ । भूकम्पले ध्वस्त भएको यो नाका चिनिया सरकारको सहयोगमा चार वर्षपछि २०७६ जेठ १ गतेबाट सुचारु भयो । तर, आयात निर्यात अवस्था भने नाजुक छ ।

आर्थिक वर्ष ०७६ ÷०७७ को दुई महिनामा यो नाका भएर २९ करोड ९० लाख ९० हजारको वस्तु आयात भएको छ भने निर्यात शून्य छ । चीनतर्फ नाकाको पूर्वाधार राम्रै रहे पनि नेपालतर्फ भन्सार, सुरक्षा पोष्ट, सुख्खा बन्दरगाह, क्वारेन्टाईन र सडक जस्ता पूर्वाधार कमजोर हुँदा नाकाको प्रभावकारिता कमजोर देखिएको छ ।

चीन सरकारले सुख्खा बन्दरगाह, बाढी–पहिरो र भूकम्पले ध्वस्त पुल पुनर्निमाण गरेर नेपाललाई हस्तान्तरण गरे पनि नेपालतर्फ इन्टरनेट र विद्युतको समेत उचित प्रबन्ध छैन । भौतिक पूर्वाधार अभावमा जेनतेन यो नाका सञ्चालन भइरहेको छ ।

रसुवागढी नाका

चिनको तिब्बत जिलोेङ र नेपालको रसुवागढी जोडिने यो नाका २०७१ मंसिरबाट औपचारिक सञ्चालनमा आएको हो । भूकम्पले तातोपानी नाका बन्द भएपछि यो नाकाको महत्व बढेको थियो ।

२०७२ को भूकम्पलगत्तै भारतीय नाकाबन्दीको चपेटामा मुलुक परेपछि नेपाल–चीन दुईदेशीय अन्तर्राष्ट्रिय नाकाको रुपमा २०७३ सालबाट यो नाका सञ्चालन भईरहेको छ । चिनको केरुङबाट २५ किलोमिटर दक्षिणमा रहेको यो नाका समून्द्री सतहबाट १८ सय ५० मिटरको उचाईमा छ । बि.स. १९१२ सालमा पत्ता लागेको रसुवागढी नाका अहिले नेपाल–चीनबीच धेरै व्यापार हुने प्रमुख नाका हो ।

चिनीया भागतर्फ एकीकृत भन्सार तथा अन्य पूर्वाधार सबल रहे पनि नेपालतर्फ एकिकृत भन्सार, सुख्खा बन्दरगाह, सडक र सुरक्षा पोष्टको अवस्था दयनिय छ । नेपाल–चीन प्रमुख व्यापारिक नाकाको रुपमा विकसित भईरहेको यो नाका जोड्न नेपालले गल्छी मैलैङ ८२ किलोमिटर लामो फराकिलो सडक बनाईरहेको छ भने चीनीयाँ सहयोगमा नाकामा आवश्यक पूर्वाधार निर्माणको कार्य जारी छ ।

चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामा यो नाका भएर नेपालले ९ अर्ब ३ करोड भन्दा धेरैको वस्तु आयात गरेको थियो भने १८ करोड रुपैयाँ वराबरको वस्तु निर्यात गरेको गरेको थियो । आर्थिक वर्ष ०७५/७६ मा यो नाका भएर ४० अर्ब ८३ करोड भन्दा धेरैको वस्तु आयात र एक अर्ब २० करोडको निर्यात भएको थियो ।

यारी नाका हुम्ला

समुन्द्री सतहबाट ३६ सय ४० मिटर उचाइमा रहेको हुम्लाको यरी नाका नेपाल–चीन जनस्तरमा जोडिएको नाका हो । तर यो नाका दुई देशबीचको केन्द्रीय ब्यापारसँग जोडिएको छैन् ।

हुम्लाका स्थानीयवासीहरु दैनिक उपभोगका खाद्यन्न तथा निर्माण सामग्रीका लागि चीनीयाँ बजार ताक्लाकोटसम्म पुग्ने गरेका छन् । ताक्लाकोटबाट सीमा नाका यारीसम्म चीनले सडक निर्माण गरेको भए पनि त्यहाँबाट यता नेपाली भूमि सडक सञ्जालसँग जोडिएको छैन ।

कोरला नाका मुस्ताङ

समुन्द्री सतहबाट यो नाका ४६ सय २० मिटर उचाईमा अवस्थित छ । अन्तर्राष्ट्रिय नाकाको रुपमा नेपाल र चीनले बिकास गर्न चाहे पनि यहाँबाट औपचारिक रुपमा द्विपक्षिय व्यापार भएको छैन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिना तथा गत आर्थिक वर्षमा उक्त नाका भएर कुनै औपचारिक कारोबार भएको छैन । तर स्थानीयवासीहरु दुबै देशको नजिकका बजारसम्म पुगेर खुद्रा किनमेल गर्ने गरेका छन् । दुवैतर्फ कच्ची सडक सञ्जाल पुगेको यो नाका भएर द्विपक्षीय व्यापार गर्न नेपाल र चीनको वाणिज्य संयन्त्रबीच सकारात्मक छलफल अघि बढेको छ । कोरला नाकामा चीनीयाँ पक्षले व्यवस्थित नाका सरचना निर्माण गरे पनि नेपालबाट खासै काम भने भएको छैन ।

किमाङथाङका नाका, संखुवासभा

नेपालको संखुवासभा जिल्ला र चिनको तिब्बत स्वशासित क्षेत्रको छेन्ताङ भएर किमाङ्थाङ्का नाका अवस्थित छ । नेपाल–चीन अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्न सकिने किमाङ्थाङ्का हाल स्थानीय व्यपारको लागि मात्रै खुल्ला छ ।

संखुवासभाका नेपालीहरु चीनको स्थानीय बजारसम्म पुगेर जडिबुटी बेचेर दैनिक प्रयोगका खाद्यान्न तथा लत्ता कपडा खरिद बिक्रि गर्छन् । त्यसबाहेक ठूलो आकारको व्यापार यो नाकाबाट हुन सकेको छैन । चीन सरकारसँगको सहकार्यमा नेपालले यो नाकाको सम्भाव्यताबारे अध्ययन थाले पनि कुनै निष्कर्ष निकिएको छैन ।

नेपाल–चीन अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गर्न दुई देशबीच गहन छलफल चलेको यो नाका सञ्चालनमा आए चीनबाट भारतसम्मको दूरी २८१ किलोमिटर मात्रै हुनेछ ।

ओलाङचुङ गोला नाका, ताप्लेजुङ

पूर्वी नेपाल र चीन जोडिने यो नाका चीनको तिब्बत रियू र नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित छ । नेपाल चीन द्विदेशीय सम्भावनाको नाकामध्ये समुन्द्री सतहबाट यो नाका सबैभन्दा उच्च (५ हजार ९५ मिटर) उचाइमा छ ।

कठिन भूवनोट र कमजोर भौतिक पूर्वाधारका कारण स्थानीय मानिसहरुको किनमेल प्रयोजनमा मात्रै रहेको यो नाकाबाट दुईदेशीय व्यापारको सम्भावना भने प्रचुर देखिनछ । भन्सार विभागले नाकामा हुनसक्ने कारोबारका लागि विजयकुमार श्रेष्ठको नेतृत्वमा भन्सार कार्यालय राखेको छ । तर राष्ट्रिय अर्थतन्त्रमा देखिने व्यापार यो नाकाबाट भएको छैन । कच्ची सडक सञ्जाल नाकासम्म पुगेको छ ।

यसका अलवा गोरखाको लार्के, दोलखाको लामाबगर र मुगुको नाग्चा भन्ज्याङ पनि नेपाल–चीन स्थानीय नाकाको रुपमा बिकास गर्न सकिने स्थान हुन् । वाणिज्य मन्त्रालयका अनुसार नेपाल र चीनबीच ट्रान्जिट सन्धी भइसकेका कारण नेपालले यसबाट धेरै फाईदा लिन वैकल्पिक नाका खुलाउन तथा भएका नाकाको पूर्वाधार सुदृढ गर्न जरुरी छ । तर भरपर्दो सुरक्षा प्रत्युभूतिबिना चाहेर पनि वैकल्पिक नाकालाई व्यवपारिक प्रयोजनमा ल्याउनका लागि चिनिया पक्ष तयार नदेखिएको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ ।

यदी नेपालले चीनविरोधी गतिविधि रोक्ने र सुरक्षाको विषयमा चीनीयाँ राष्ट्रपतिलाई आश्वस्त पार्न सक्यो भने हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जालको रुपमा उत्तरतर्फका ढोका फराकिलो हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment