Comments Add Comment

पर्यटकीयस्थल बन्दै सहस्रधारा

२७ असोज, बागलुङ । दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जंगलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो ।

बागलुङको गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदैछ । जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा क्षेत्रको विकासमा जुटेका छन् ।

वि.सं. २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ)को सफल परीक्षणपछि झरनाले थप चर्चा पायो । गत असारमा पहिलोपटक व्यावसायिक रुपमा खेलाइयो । क्यानोनिङ खेलपछि झरनाबारे धेरैले थाहा पाए । बाहिर प्रचार पनि भयो ।

सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले क्यानोनिङ शुरु गरिएको वडाध्यक्ष वीरजंग भण्डारीले बताए । ‘पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो’, उनले भने, ‘विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्यस्थल बन्दैछ ।’

यसपालि दशैंको बिदामा पनि झरना घुम्नेको संख्या बढ्यो । छाँगावरोहणका लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा राम्रो गन्तव्य हो । जंगलले घेरिएको अक्करे भिरमुनि झरना अवस्थित छ ।

झट्ट जंगल छेउ पुग्दा लाग्दैन, झरना छ । केहीबेरको पदयात्रामा खोचमा पुगिन्छ । तब बल्ल देखिन्छ, मनमोहक झरना । ८६ मिटर अग्लो झरनाले मनै लोभ्याउँछ । वडाध्यक्ष भण्डारीसहित केही युवाले शुरुमा झरनामा छाँगावरोहण गर्नेबारे सोचेका थिए । अन्ततः त्यही जुक्तिले काम गर्‍यो, छाँगावरोहण सफल भयो ।

साहसिक खेल क्यानोनिङका लागि नयाँ गन्तव्य पहिचान भयो । स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवर्द्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको प्रवर्द्धन गरिरहेका छन् । युवाको सोच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ ।

वडामार्फत सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग भित्रिएको छ । वडाध्यक्ष भण्डारीका अनुसार क्यानोनिङ लाई दिगो र व्यावसायिक बनाउन पूर्वाधार तयारीको काम भइरहेको छ । क्यानोनिङ नियमित सञ्चालनका लागि स्थानीय युवालाई तालीममा पठाउने वडाको तयारी छ ।

विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) मार्फत काम अघि बढाइएको सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्रका सचिव गुञ्जबहादुर खत्रीले बताए । यही वर्ष क्यानोनिङमा चाहिने हार्नेस, हेल्मेट, ज्याकेट, डोरी जस्ता सामग्री तथा उपकरण जुटाइने भएको छ ।

नगरपालिकाबाट गत आर्थिक वर्षमा विनियोजित पाँच लाख रुपैयाँ बजेटबाट पदमार्ग, विश्रामस्थल, बगैंचालगायत संरचना बनेका छन् । चालू आर्थिक वर्षमा पनि नगरपालिकाले चार लाख बजेट छुट्टाएको छ ।

ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा १२ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट उद्यान, पोखरी निर्माण, वृक्षरोपणलगायतका काम गरिएको छ ।

साहसिक खेलका माध्यमबाट सहस्रधाराको पर्यटकीय विकास गरिने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई क्यानोनिङले आकर्षित गर्ने उनको भनाइ छ ।

सहस्रधारालाई धार्मिक पर्यटनसँग पनि जोड्न सकिने स्थानीयवासी बताउँछन् । सहस्रधारामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुईपटक झरनामा पूजा गर्छन् ।

गलकोट, हटिया बजारदेखि दुई किलोमिटर मोटर यात्रामा सहस्रधारा पुग्न सकिन्छ । पैदल हिँडे जम्मा ३० मिनेटमा पुगिन्छ । बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किलोमिटर यात्रापछि गलकोट आइपुग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment