
२७ असोज, काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साधना सम्मान–२०७५ र पद्मश्री पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानद्वारा कोजाग्रत पूर्णिमाको अवसर पारेर असोज २६ मा काठमाडौंमा आयोजित कार्यक्रममा पद्मश्री साधना सम्मान वरिष्ठ अध्येता एवं इतिहासकार डा. महेशराज पन्तलाई प्रदान गरियो ।
६२ वर्षअघि संस्कृत वाङ्मयका सामग्री सङ्कलन सुरु गरेर आफ्नो खोज अध्ययनमा रुचि देखाएका पन्तले भाषा, साहित्य र इतिहाससम्बन्धी दर्जनौं पुस्तक लेखेका छन् । उनी नेपाली इतिहासको आधिकारिक पत्रिका मानिने त्रैमासिक पूर्णिमाका सम्पादक हुन् ।
पद्यश्री साहित्य पुरस्कार–२०७५रमेश शायनको सस्मरणात्मक निबन्ध ‘छुटेको अनुहार’लाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले नेपाली वाङ्मयका साधक डा. महेश र युवा पुस्ताका प्रतिनिधि शायनलाई पुरस्कृत गरेर दुबै पुस्ताको संयोजन गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे ।
दुबै सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुईरदुई लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा लामिछानेले अर्को वर्षदेखि लागू हुने गरी पुरस्कारको राशी तीन लाख रुपैयाँ पुर्याइएको जानकारी पनि दिए । मदन पुरस्कार गुठीले यसै वर्षदेखि पुरस्कारको राशी दुई लाखबाट बढाएर चार लाख पुर्याएको थियो ।
पद्यश्री साहित्य पुरस्कार २०६३ सालमा मोफसलका सर्जकको उत्कृष्ट साहित्यिक कृतिलाई पुरस्कृत गर्ने गरी स्थापना भएकोमा २०६६ देखि नेपाली भाषामा लेखिएका विश्वभरिका कृतिलाई समेट्न थालेको हो । गएको वर्ष यो सम्मान र पुरस्कार डा. तारानाथ शर्मा र नयनराज पाण्डेले प्राप्त गरेका थिए ।
प्रतिक्रिया 4