Comments Add Comment

प्रिया पत्थरलाई २१ हजार राशीको गजल सम्मान

२८ असोज, पोखरा । सुदूरपश्चिमकी गजलकार श्रेष्ठ प्रिया पत्थरले गजल प्रतिभा सम्मान पाउने भएकी छन् । गजल सन्ध्या पोखरा नेपालले प्रदान गर्दै आइरहेको सम्मान यसपटक पत्थरलाई दिने निर्णय गरेको हो ।

यही कात्तिक ९ गते दोस्रो शनिबार पोखरामा एक समारोहबीच २१ हजार १ सय ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला पत्थरलाई प्रदान गरिने छ । कवि ढाका थापाले स्थापना गरेको २ लाख रुपैयाँको अक्षयकोषमार्फत गजलकार प्रिया पत्थरलाई सम्मान गर्ने सन्ध्याले निर्णय गरेको हो ।

गजलकार दीपक समीपको संयोजत्वमा रुपिन्द्र प्रभावी, मन क्षेत्री, उदीपराज ढुंगाना, अमृत सुवेदी सदस्य र सन्ध्याका अध्यक्ष मोहन भण्डारी, सचिव कृष्ण अधिकारी ‘त्रुपक’ सदस्य सचिव रहेको प्रतिभा छनोट समिति गठन गरिएको थियो । त्यही समितिले लामो समयदेखि सुदूरपश्चिममा रहेर नेपाली गजलको श्रीवृद्धि र उन्नयनमा सक्रिय पत्थरलाई सम्मान अर्पण गर्ने निर्णय गरिएको संयोजक समीपले जानकारी दिए ।

‘नेपाली गजलको दायरा फराकिलो बनाउने र विधालाई मर्याधित तथा ओजपूर्ण बनाउन श्रेष्ठ प्रिया पत्थरले ठूलो भूमिका निर्वाह गरेकी छन्,’ छनोट समिति संयोजक गजलकार समीपले भने, ‘गजलमात्रै नभएर समग्र साहित्यिक वृत्तमै उनको सक्रियता प्रशंसायोग्य छ । नेपाली गजलमा त उनको नाम अग्र स्थानमै आउँछ ।’

पत्थर नेपाली गजलमा प्रथम महिला कृतिकार हुन् । उनको पत्थरका ३ गजल संग्रहसहित १६ कृति प्रकाशित छ । उनले सुदूरपश्चिमबाट गजल साधना सम्मान तथा पुरस्कारको स्थापना गरी सञ्चालन गर्दै आइरहेकी छन् । निरन्तर साहित्यकर्ममा क्रियाशील पत्थरले दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् ।

सन्ध्याले देशका विभिन्न ठाउँमा रहेर नेपाली गजलको विकास, बिस्तार र गुणस्तरीय लेखनमा सक्रिय गजलकारमध्येबाट गजल प्रतिभा सम्मान प्रदान गर्दै आएको छ ।

यसअघि सन्ध्याले प्रत्येक वर्ष गजल प्रतिभा र सम्मान एकै समय अर्पण गर्दै आएको थियो । सन्ध्याका अध्यक्ष अमृत सुवेदीको कार्यकालमा कोषको व्यवस्थापन गरी एक वर्ष पुरस्कार र अर्को वर्ष सम्मान दिन थालिएको हो । गएको वर्ष गजलकार जीवनपानीलाई गजल प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।

यसअघि ज्ञानुवाकर पौडेल, ललिजन रावल, लक्ष्मण थापा, कृष्ण उदासी, दिलीप दोषी, सरस्वती श्रेष्ठ सरु, प्रकट पगेनी शिव, आरबी फ्लेम, ईश्वरमणि अधिकारी, घनश्याम परिश्रमीलाई गजल प्रतिभा सम्मान प्रदान गरिएको छ ।

गजल सन्ध्या लामो समयदेखि पोखरालाई केन्द्र बनाएर नेपाली गजलको क्षेत्रमा काम गर्ने नेतृत्वदायी संस्था हो । सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार नियमित गजल वाचन शृंखला चलाउँदै आएको छ भने तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा साहित्यिक अभियान चलाउँदै आएको छ ।

त्योबाहेक गजलका उत्सव, मेहफिल, पुस्तक प्रकाशन, चर्चा, र समग्रमा नेपाली गजलको राजमार्गलाई फराकिलो बनाउने काम सन्ध्याले गर्दै आएको अध्यक्ष मोहन भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment