Comments Add Comment

जाडोको पूर्वसन्ध्यामा छाला सुख्खा भयो भने…

मौसमको फेरबदल हुनु प्राकृतिक नियम नै हो । मौसमको फेरबदलले हाम्रो जीवनशैलीमा पनि विभिन्न किसिमको परिवर्तनहरु आउँछ । हामी मौसमअनुसार खानपान र पहिरन प्रयोग गर्छौं । त्यति मात्र नभएर मौसमअनुसार आफ्नो शरीरको हेरचाह पनि गर्छौं । गर्मीमा भन्दा जाडोयाममा हाम्रो शरीरको हेरचाह धेरै गर्नु पर्छ । जाडोयामको शुरुवातसँगै हाम्रो छालामा परिवर्तन देखिन थाल्छ । चिसो हावाले हाम्रो छाला तन्कने, सुख्खापना आउने र चम्किलोपना कम हुन थाल्छ । जाडोयाम आउनासाथ हाम्रोे छाला सुख्खा हुन थाल्छ । कहिलेकाहीँ त छालामा राता-राता धर्साहरु पनि देखिन थाल्छन् ।

कसै-कसैलाई त धेरै चिसो भएर छाला सुख्खा भएर फुट्न थाल्छ र रगत पनि आउँछ । जाडोयाममा ओँठ फुट्नु सामान्य कुरा हो । जाडोयाममा सबैभन्दा बढी छालाको हेरचाह गर्नु पर्छ । हामी परिवर्तनशील मौसमलाई त रोक्न सक्दैनौं, तर आफ्नो जीवनशैलीमा केही परिवर्तन गरेर छालालाई सुन्दर र स्वस्थ बनाउन सक्छौं ।

छालाको ध्यान राख्नु पर्छ

जाडोयाममा कहिले पनि धेरै तातो पानीले नुहाउनु हुँदैन्ा, सधैं मनतातो पानीले नुहाउनु पर्छ । तातो पानीले छालाको प्राकृतिक तैलियपनालाई हटाइदिन्छ, जसका कारण छाला अति नै सुख्खा हुन्छ । यदि तपाइर्ंको छाला सुख्खा छ भने अनुहार र शरीरमा साबुन प्रयोग गर्नु हुँदैन । साबुनमा समावेश भएको कास्टिकले तपाईंको छालालाई धेरै नोक्सान पुर्‍याउँछ ।

फेस वास अथवा बडी वासको प्रयोगले छालाको ड्राइनेस कम हुन्छ । यति गर्दा पनि तपाईंलाई आफ्नो अनुहार सुख्खा भएको महसुस हुन्छ भने अनुहारमा साबुन अथवा फेसवासभन्दा क्लिजिङ मिल्कले सफा गर्नुपर्छ । सफा पानीले अनुहार धोएर अल्कोहल प|mी टोनर अथवा मोइस्चराइजरको प्रयोग गर्नु पर्छ ।

यदि तपाईंको छाला सुख्खा छ भने शरीरको लागि एउटा राम्रो बडी लोसन अथवा बडी बटरको प्रयोग गर्नु पर्छ । अनुहारको लागि राम्रो मोइस्चराइजर आफूसँगै राख्नु पर्छ । राम्रो मोइस्चराइजर अथवा बडी लोसन किन्दा त्यसमा नेचुरल आयल, बदाम, ओलिभ र ग्लिसरीन समावेश छ कि छैन हेर्नु पर्छ ।

यदि तपाईंको छाला तैलीय छ भने पनि जाडोयाममा पानीको कमी हुन्छ । तैलीय छाला भएको अनुहारलाई जेल भएको मोइस्चराइजरको आवश्यकता हुन्छ, जसमा तेल हुँदैन तर राम्रो मोइस्चराइजिङ एजेन्टहरु जस्तै एलोभेरा, ग्लिसरीन, हेलुरोनिक एसिड, काँक्रो तथा खरबुजाको गुणहरु समावेश हुन्छ ।

यसबाहेक सुन्दर छालाको लागि धेरै पानी पिउनु आवश्यक हुन्छ । धेरै पानी पिउनाले तपाइको छाला हाइड्रेटेड हुन्छ । जाडोयाममा प्यास कम लाग्छ तर यो मौसममा पनि दैनिक कम्तिमा आठ गिलास पानी पिउनु आवश्यक छ । बाहिरको जंक फुड भन्दा घरमा बनेका खानेकुराहरु खानु पर्छ । फलफूल र तरकारीको सेवन धेरैभन्दा धेरै गर्नु पर्छ । हाम्रो शरीर जति स्वस्थ रहन्छ त्यति नै हाम्रो छाला सुन्दर र चम्किलो हुन्छ ।

जसरी हामीले सास फेर्न आवश्यक छ, त्यसरी नै छालाले पनि सास फेर्न आवश्यक हुन्छ । हाम्रो छालाको माथिल्लो भागमा मृत छालाको पत्र रहेको हुन्छ, जसका कारण हाम्रो छालाले सास फेर्न सक्दैन । मृत छालाका कारण हाम्रो छाला सुख्खा देखिन्छ र यो चम्किलो पनि देखिँदैन ।

यी मृत कोषिकाहरुलाई समय-समयमा हटाउनु अति नै आवश्यक हुन्छ, जसलाई हामी एक्सफोलिएसन भन्छौं । यसको लागि हप्तामा दुई पटक फेस स्क्रबको प्रयोग गर्नु पर्छ, यसो गर्दा मृत छाला हट्छ । छाला स्वस्थ हुनु अति नै आवश्यक छ किनभने यो हाम्रो शरीरको एउटा कवच हो । त्यसैले केवल सुन्दर देखिन मात्र होइन स्वस्थ रहन पनि छालाको ध्यान राख्नु अति नै आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment