+
+
Shares
नाइमा मोबिलिटी एक्स्पो :

विभिन्न ब्रान्डका गाडी बढे, सर्भिस र स्पेयर पार्ट्सको अवस्था कस्तो ?

गाडीको ब्रान्ड र मोडल थपिँदै जाँदा उपभोक्ता भने अरू प्रश्न गर्नुपर्ने अवस्था आएको छ । गाडी किनेपछि सर्भिस कहाँ गर्ने ? स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन ? ब्याट्री वा मोटरमा समस्या आयो भने कसले बनाउँछ ? कम्पनी नै नेपालबाट बाहिरियो भने ग्राहकको अवस्था के हुन्छ ?

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ साउन २८ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा विद्युतीय सवारीसाधनको ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक भएका छन् ।
  • नयाँ विद्युतीय गाडी भित्रिने क्रम बढे पनि उपभोक्ताले खरिदपूर्व सर्भिस सेन्टर, स्पेयर पार्ट्सको उपलब्धता र दीर्घकालीन मर्मत सेवाबारे स्पष्ट जानकारी लिन आवश्यक छ ।
  • एक्स्पो संयोजक गौरव शारडाले ग्राहकलाई गाडी किन्दा आधिकारिक बिक्रेताको सर्भिस नेटवर्क, पार्ट्सको उपलब्धता र कम्पनीको जिम्मेवारीबारे पाँचवटा महत्वपूर्ण प्रश्न सोध्न सुझाव दिनुभएको छ ।

२८ साउन, काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै नयाँ–नयाँ ब्रान्डका गाडी भित्रिने क्रम तीव्र बनेको छ । आकर्षक डिजाइन, नयाँ प्रविधि, लामो रेन्ज र प्रतिस्पर्धी मूल्यसहित चिनियाँलगायत विभिन्न देशका ब्रान्ड नेपाली बजारमा आइरहेका छन् । जुन काठमाडौंको भृकुटीमण्डपमा साउन २६ गतेबाट जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा पनि देखिन्छ ।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी छन् । ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक भइसकेका छन् । चारपांग्रे, दुईपांग्रे र कमर्सियल सवारीमा नयाँ ब्रान्ड थपिने क्रम बढेको छ ।

तर, गाडीको ब्रान्ड र मोडल थपिँदै जाँदा उपभोक्ता भने अरू प्रश्न गर्नुपर्ने अवस्था आएको छ । गाडी किनेपछि सर्भिस कहाँ गर्ने ? स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन ? ब्याट्री वा मोटरमा समस्या आयो भने कसले बनाउँछ ? कम्पनी नै नेपालबाट बाहिरियो भने ग्राहकको अवस्था के हुन्छ ?

गाडी खरिद गर्दा ग्राहकको ध्यान मूल्य, रेन्ज, डिजाइन, फिचर्स र फाइनान्सिङ सुविधामा बढी जाने गरेको छ । तर गाडीको वास्तविक स्वामित्व लागत र दीर्घकालीन विश्वसनीयताका लागि बिक्रीपछिको सेवा उत्तिकै महत्त्वपूर्ण हुन्छ ।

पछिल्लो समय ग्राहकले गाडीको गुणस्तर, सर्भिस र स्पेयर पार्ट्सभन्दा नयाँ मोडललाई प्राथमिकता दिने प्रवृत्ति बढेको देखिन्छ । बजारमा आउने नयाँ मोडलका गाडीहरूमा विशेष अफरका कारण ग्राहक आकर्षित गर्ने गरेका छन् । तर, ग्राहकले गाडी किनेपछि त्यसको सर्भिस सेन्टरको सहजता, स्पेयर पार्ट्स लगायतका विषयमा ध्यान दिन सकिरहेका हुँदैनन् ।

नयाँ ब्रान्डसँगै नयाँ जोखिम

नेपालको अटो बजारमा पछिल्ला वर्षहरूमा चिनियाँ विद्युतीय सवारीका ब्रान्डको प्रवेश तीव्र भएको छ । नाइमा एक्स्पो–२०२६ मै बीवाईडी, ओमोडा/जेको, डेन्जा, फोर्थिङ, हेनरी भोल्ट्स, आइकार, केई, लिपमोटर, म्याक्सस, आरफक्स, हेनरी बोमा, वुलिङ, जिकरलगायत ब्रान्ड सहभागी छन् ।

यीमध्ये कतिपय ब्रान्ड नेपालका लागि नयाँ छन् भने कतिपयले बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । नयाँ ब्रान्डका लागि सबैभन्दा ठूलो चुनौती भनेकै बिक्रीपछिको सेवा र पार्ट्सको आपूर्ति सुनिश्चित गर्नु हो । किनभने गाडी बिक्री गर्ने शोरुम खोल्नु र देशभर सेवा दिन सक्ने नेटवर्क निर्माण गर्नु फरक कुरा हो ।

काठमाडौंमा आकर्षक शोरुम र केही सर्भिस सेन्टर राखेर मात्रै देशभरका ग्राहकलाई दीर्घकालीन सेवा दिन सकिँदैन । विशेषगरी काठमाडौं बाहिर गाडी बिक्री भएपछि नियमित सर्भिस, दुर्घटना मर्मत, ब्याट्री परीक्षण, मोटर तथा इलेक्ट्रोनिक पाट्र्सको मर्मत र जेन्युइन स्पेयर पाट्र्सको उपलब्धता कसरी हुन्छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।

काठमाडौं बाहिर सर्भिस सेन्टर कति ?

स्थापित ब्रान्डहरूले बिक्रीसँगै आफ्नो सर्भिस नेटवर्क विस्तार गरिरहेका छन् । स्थापित ब्रान्डहरूले ग्राहकको आकर्षणसँगै सर्भिस सेन्टर समेत विस्तार गर्दै आएका छन् । तर, नयाँ ब्रान्डहरूको अवस्था भने एउटै छैन । केहीले काठमाडौंमै सीमित नेटवर्कबाट सुरुवात गरेका छन् भने केहीले देशका प्रमुख सहरमा विस्तार गरिरहेका छन् ।

त्यसैले ग्राहकले एक्स्पोमा गाडी हेर्दा ‘तपाईंको सर्भिस सेन्टर कहाँ–कहाँ छ ?’ भन्ने प्रश्न पनि गर्नुपर्ने हुन्छ । काठमाडौंमा कति वटा ? पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, वीरगञ्जलगायत प्रमुख सहरमा कहाँ ?

विश्व ईभी बजारमा पछिल्लो समय निकै प्रभाव जमाइरहेको बीवाईडीका देशभर १४ वटा सर्भिस सेन्टर रहेका छन् । त्यस्तै टाटा मोटर्सको देशभर आफ्नै ३७ वटा चार्जिङ स्टेसन छन् भने दुई दर्जनभन्दा बढी सर्भिस सेन्टर छन् ।

त्यसैगरी जीडब्लूएम, महेन्द्रा, रोयल इन्फिल्डो, प्रोटोन, ओमोडा, निशान, हुन्डाई, सुजुकी, डेन्जा, टीभीएस, केटीएम, अथर लगायतका ब्रान्डहरूले समेत देशभर आफ्ना सर्भिस सेन्टर समेत विस्तार गरेका छन् ।

नयाँ आउने ब्रान्डहरूको हकमा भने काठमाडौं उपत्यका तथा विभिन्न स्थानमा न्यून संख्यामा सर्भिस सेन्टर रहेका छन् ।

स्पेयर पार्ट्सको स्टक कति ?

सर्भिस सेन्टर हुनु मात्रै पर्याप्त हुँदैन । त्यहाँ आवश्यक स्पेयर पार्ट्स उपलब्ध हुनु अर्को महत्त्वपूर्ण पक्ष हो । सामान्य सर्भिसका पार्ट्स स्थानीय रूपमा उपलब्ध भए पनि मोटर, कन्ट्रोलर, इन्भर्टर, ब्याट्री मोड्युल, चार्जिङ सिस्टम, एयरब्याग तथा विभिन्न इलेक्ट्रोनिक कम्पोनेन्ट बिग्रिँदा पाट्र्स विदेशबाट मगाउनुपर्ने अवस्था आउन सक्छ । यसले गाडी मर्मतको समय मात्र बढाउँदैन, ग्राहकको खर्चसमेत बढाउन सक्छ ।

नयाँ ब्रान्ड नेपालमा भित्रिँदा स्पेयर पाट्र्स र सर्भिस सेन्टर सुनिश्चित गर्नुपर्ने हुन्छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ का संयोजक तथा शारडा ग्रुपका निर्देशक गौरव शारडा बिक्रीपछिको सेवा हरेक ब्रान्डको आधारभूत जिम्मेवारी भएको बताउँछन् ।

‘हरेक ब्रान्डले आफ्नो सर्भिस व्यवस्थापन गर्नैपर्छ । सडक पूर्वाधारको विषयमा हामीले सरकारसँग संवाद गरिरहेका छौं,’ उनी भन्छन् ।

उनका अनुसार एक्स्पो स्थल भृकुटीमण्डपमा नेपाल पुलिस क्लबसँग सहकार्य गरेर लर्निङ सेसनसमेत सञ्चालन भइरहेको छ । तर सर्भिसको विषयमा भने ब्रान्ड आफैं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

‘सर्भिसको हकमा सिम्पल कुरा छ, यदि मैले ग्राहकलाई राम्रो सर्भिस दिइनँ भने भोलि कसले मेरो गाडी किन्छ ? ग्राहक मूर्ख छैनन्,’ शारडा भन्छन् ।

उनका अनुसार ग्राहकले ३० लाख रुपैयाँभन्दा बढी लगानी गरेर गाडी खरिद गर्ने भएकाले कम्पनीको इतिहास र सर्भिस नेटवर्क हेरेर मात्रै निर्णय गर्ने गरेका छन् ।

‘ग्राहकहरूलाई म के भन्न चाहन्छु भने गाडी रोज्नुअघि बनाउने कम्पनी, आधिकारिक बिक्रेता, सर्भिस हिस्ट्री र स्पेयर पाट्र्सको उपलब्धता पक्कै जाँच्नुहोस्,’ उनी भन्छन् ।

नयाँ ब्रान्डका गाडी किन्न खोज्ने ग्राहकका लागि एक्स्पो आफैं एउटा अवसर पनि हो । एउटै ठाउँमा धेरै ब्रान्डका प्रतिनिधि भेटिने भएकाले ग्राहकले बिक्री मूल्य र फिचरभन्दा बाहिर गएर बिक्रीपछिको सेवाबारे प्रश्न गर्न सक्छन् । उनले गाडी किन्नुअघि ग्राहकले कम्तीमा यी पाँच प्रश्नको जवाफ खोज्नुपर्ने बताए ।

देशभर आधिकारिक सर्भिस सेन्टर कति छन् ?, काठमाडौं बाहिर कुन–कुन सहरमा सर्भिस सुविधा छ ?, आवश्यक जेन्युइन स्पेयर पार्ट्सको स्टक कति राखिन्छ र आयात हुन कति समय लाग्छ ?, ब्याट्री, मोटर, कन्ट्रोलर वा इन्भर्टर बिग्रिँदा मर्मत गर्ने सुविधा नेपालमै छ कि पूरै पार्ट्स फेर्नुपर्छ ?, आयातकर्ता वा उत्पादक कम्पनीले नेपालमा कारोबार बन्द गरे ग्राहकलाई सर्भिस र पार्ट्स उपलब्ध गराउने जिम्मेवारी कसले लिन्छ ? भन्ने विषय हेर्नुपर्ने उनको तर्क छ ।

नयाँ गाडी किन्दा ‘कम्पनी कति ठूलो छ ?’ भन्ने मात्र नभई, नेपालमा आधिकारिक बिक्रेता को हो, उसको आर्थिक क्षमता कस्तो छ, कति वर्षदेखि बजारमा छ, कति लगानीमा सर्भिस नेटवर्क बनाएको छ र कम्पनीले पार्ट्सको आपूर्ति कति वर्षसम्म गर्ने प्रतिबद्धता गरेको छ ? भन्ने प्रश्न पनि गर्नुपर्ने देखिन्छ ।

यी प्रश्नको स्पष्ट जवाफ नलिई केवल एक्स्पोमा देखिएको आकर्षक डिजाइन, रेन्ज, फिचर वा मूल्यका आधारमा गाडी खरिद गर्दा भविष्यमा ग्राहकले अतिरिक्त जोखिम लिनुपर्ने हुन्छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?