Comments Add Comment

सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिन्छ : रामचन्द्र पोडेल

२९ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिने बताएका छन् ।

दशैं, तिहार, छठ लगायतका पर्वका अवसरमा सत्तारुढ नेकपाले राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् । ‘सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई चाहिन्छ । यो भन्दा फरक भए हामीलाई मान्य हुँदैन’ उनले पत्रकारहरुसँग भने । संसद सचिवालयमै कार्यरत एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएसँगै सभामुखको पद खाली छ ।

यसअघि एमाले र माओवादी फरक फरक दल हुँदा दुबैले सभामुख र उपसभामुख लिएका थिए । पार्टी एकतापछि एउटा पद आफूले पाउनुपर्ने माग कांग्रेसले गर्दै आएको थियो । तर, निर्वाचित हुँदा फरक फरक दलको नै भएको भन्दै नेकपाले कांग्रेसको मागको बेवास्था गर्दै आएको थियो ।

तर, अब त्यस्तो हुन नसक्ने कांग्रेस बरिष्ठ नेता पौडेलको भनाइ रहेको छ । उनले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने ब्यवस्था कार्यान्वयनका लागि सरकारलाई सडक र सदनबाट पनि दबाब दिने बताए । नेता पौडेलले कांग्रेसका सांसदहरुले पनि संसदमा दरिलो रुपमा यसबारे आफ्नो कुरा राख्न सक्नुपर्ने बताए । ‘संसदमा रहेका हाम्रा साथीहरुले पनि लाछीपना देखाउन हुँदैन’ उनले भने ।

नेता पौडेलले नेपाली राजनीतिमा नैतिकताको खडेरी देखा परेको पनि उल्लेख गरे । उनी भन्छन्, ‘राजनीतिमा नैतिकताको खडेरी परेको जस्तो लाग्छ । जता पनि पैसा, पहुँचमा मात्रै काम हुन्छ । हत्या, हिंसा मात्रै देखिन्छ । सिद्वान्तको राजनीति देखिन्न । म सबैलदाई आग्रह गर्न चाहन्छु– सिद्वान्तको राजनीति गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment