Comments Add Comment
मेरो कथा :

अघिल्लो सागमा चुँडिएको सपना यसपालि साकार पार्नुछ

‘कप्तानी अवसर हो, खेल्नु कर्म हो’

३० असोज, काठमाडौं । बल त बलै हो । तर, धेरै फरक छ बास्केटबल र फुटबलमा । एउटा हातले खेलिन्छ अर्को खुट्टाले ।

म चाहिँ फुटबल खेलाडी थिएँ सानोमा । तर, पछि गएर राष्ट्रिय महिला बास्केटबलको टिमको कप्तान भएँ । फुटबल छोडेर बास्केटबलमा कसरी होमिएँ भन्ने त म बताउने नै छु । तर, त्यो भन्दा पहिले मनमा अरु कुराहरु छन् ।

सुरुवात म आफ्नो करिअरको नमिठो अनुभूतिबाट गर्छु, जहाँ हामीले बास्केटबलबाट आशा गरेको पदक गुमायौं । अघिल्लो सागको कुरा त हो ।

******

१२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता करिब पाँच वर्षपछि भारतको गुवाहाटी र सिलोङमा हुने पक्का भयो । हामी निकै हौसिएका थियौं । तयारी थाल्यौं । अरु खेलको तयारी कस्तो थियो थाहा भएन, तर हाम्रो चाहिँ निकै राम्रो थियो ।

साग खेल्ने कुराले मनमा एउटा छु्ट्टै उमंग थपिरहेको थियो । मेरो पहिलो साग थियो त्यो । एक्साइटेड थिएँ । हल्का नर्भस पनि । टिमको कप्तान पनि आफैं भएकाले अतिरिक्त दबाव थियो नै ।

तर हाम्रो सपना यत्तिकै तुहियो । प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिन मात्रै बास्केटबल समावेश नगर्ने आयोजकले निर्णय लियो । जसरी पनि पदक ल्याउने अठोट बोकेका हामी निल्ल पर्‍यौं । त्यो पीडाले मलाई अहिले पनि घोचिरहन्छ । यदि खेलेर हारेको भए एउटा कुरा हुन्थ्यो । अन्तिम क्षणमा आएर खेल्नै नपाउँदा त्यसको अनुभूति ज्यादै नमिठो हुँदो रहेछ ।

हामीलाई किन धेरै पीडा भयो भने हाम्रो तयारी निकै राम्रो थियो । १२ औं सागकै लागि भनेर हामीले थाइल्यान्डमा पनि लामो समय अभ्यास गरेका थियौं । तीन राष्ट्रसँग मैत्रीपूर्ण खेलेका थियौं । तीनवटै खेल जितेका थियौं । पाकिस्तान, भुटान र अफगानिस्तानलाई हामीले पराजित गरेका थियौं । त्यसैले मनोबल उच्च थियो ।

जोस थियो, जाँगर थियो । हामी सबै खेलाडीले कुनै न कुनै पदक जित्ने नै विश्वास लिएका थियौं । जुन पदक जितेको भए पनि हाम्रो लागि ऐतिहासिक हुन्थ्यो । तीन राष्ट्रसँग मैत्रीपूर्ण खेलमा हासिल गरेको जितले पनि हामीले पदक जित्ने निश्चितप्राय देखिएको थियो ।

तर भारतकै आन्तरिक कारणले गर्दा १२ औं सागमा बास्केटबल खेल हुन सकेन । दिलोज्यान लगाएर कडा परिश्रम गर्‍यो, तर अन्तिम समयमा खेल नै नहुँदा निकै दुःख लाग्दो रहेछ ।

******

अहिले फेरि त्यही पुरानो जोस, त्यही उमंगको साथ नेपालमै आयोजना हुने १३ औं सागको लागि हामी तयारी गरिरहेका छौं । आशा छ यो पटक बास्केटबल पनि समावेश हुनेछ । साग खेलकुदकै लागि यतिबेला छाउनीस्थित आर्मीको कभर्डहलमा विहान–बेलुका अभ्यास गरिहेका छौं । तयारी राम्रो भइरहेको छ ।

केही नयाँ कुरा सिक्ने मौका पाइरहेका छौं । सागकै लागि भनेर बन्द प्रशिक्षणमा रहेको पनि करिब अढाई महिना भइसक्यो । यो अवधिमा धेरै कुराको सुधार भएको जस्तो लाग्छ । म आफै कप्तान भएर पनि होला टिम एकतादेखि लिएर व्यक्तिगत सुधारमा धेरै कुरा परिवर्तन भएको छ । सागकै लागि भनेर हामीले धरानमा अभ्यास गर्‍यौं । निकै लामो समय धरान बसाई भयो ।

सागको उपाधि हाम्रो लागि एउटा सपना । हामी खेल्ने भनेकै पदकका लागि हो । पहिले पनि कुनै प्रतियोगिता खेल्दा जित्ने नै थियो अब झन आत्मबल बढेको छ ।

सागमा पदक (मेडल) नै जित्ने टिमको लक्ष्य रहेको छ । सबैले त्यसै अनुसारको अभ्यास गरिरहेका छन् । आफ्नै घरेलु मैदानमा सागमा मेडल जित्दा कति रमाइलो हुन्छ होला । त्यो सोचेर पनि निकै रोमाञ्चित बन्छौं ।

हामीलाई दबाब त हुने भइहाल्यो । साथीभाइ तथा आफ्ना अग्रज र समर्थकको बीचमा साग जस्तो ठूलो प्रतियोगितामा खेल्न पाउनु हाम्रो लागि सौभाग्य हुनेछ । हामीले झनै कडा परिश्रम गरेर राम्रो मेडल ल्याउने प्रयास गर्नुपर्नेछ । म आफ्नो तर्फबाट सत प्रतिशत दिएर खेल्नेछु ।

म अहिले नै यो पदक जित्न सकिन्छ भनेर दावी गर्दिन । तर हाम्रो तयारी भनेको कुनै न कुनै मेडल जित्नका लागि नै हो । त्यसै अनुसारको कडा अभ्यास भइरहेको छ । आत्मविश्वासी भएर नै खेल्ने हो । हाम्रो प्रदर्शन कस्तो हुन्छ त्यो त प्रतियोगिता सुरु भएपछि मात्रै थाहा हुनेछ । तर, अघिल्लो सागमा खेर गएको सपना यसपालि साकार पार्नु छ ।

******

खासमा भन्नु पर्दा पहिले म फुटबल खेलाडी हुँ । फुटबल खेल्न खबु मन पथ्र्यो । मेरो माइली दिदी सरिला श्रेष्ठ नेपाली महिला फुटबल टिमकी पूर्वकप्तान पनि हुनुहुन्छ ।

पहिले म दिदीकै सिको गर्दै फुटबल खेल्ने गर्थे । दिदीकै कारणले गर्दा मैले नियमित फुटबल खेल्न थालेकी थिएँ । फुटबलमै केही गर्ने सपनाहरु थिए । राम्रो खेल्थेँ पनि । यू–१० देखि नै फुटबल खेल्न थालेकी म यू–१६ सम्म पुगेकी थिएँ ।

नर्वेमा हुने प्रतियोगिताको लागि यू–१६ टिमको छनोट चलिरहेको थियो । त्यो बेला म कक्षा आठमा पढ्थेँ । पहिलो, दोस्रो हुँदै म अन्तिम चरणसम्म पुग्न सफल भएँ । तर फाइनल चरणमा भने म फालिएँ । निकै मेहनत गरेको थिएँ । मन पनि दुख्यो । सपना तुहिए जस्तो भयो । त्यसपछि मैले दिदीलाई अब म फुटबल खेल्दिन भनेँ । अनि छोडेँ ।

त्यसपछि मैले स्कुल परिवर्तन गरेर रिब्स स्कुल आएँ । यो स्कुलमा बास्केटबलको माहोल थियो । मलाई बास्केटबलको मोहले तान्यो । खेल्न थालेँ । खेल्दै गएँ… ।

विद्यालयस्तरीय हुँदै राष्ट्रिय टिममा स्थान बनाउन खासै गाह्रो भएन । मान्छेमा इच्छा शक्ति चाहिन्छ असम्भव भन्ने कुरा हुदैन ।

फुटबलमा सपना देखेको मान्छे म अहिले बास्केटबलको कप्तानी गरिरहेकी छु । बास्केटबलमा लागेर मलाई कुनै पछुतो छैन । फुटबलमा लागेको भए म यो उपलब्धी हात पाउने थिइन होला, तर मलाई बास्केटबलले सबै दियो । सन्तुष्ट नै छु ।

******

नेपालमा २०७२ साल चैत्रमा प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिप आयोजना भयो । यो प्रतियोगिता बारम्बार मेरो मानसपटलमा आइरहन्छ । यसमा निकै रमाइला र अविस्मरणीय अनुभूति छन् ।

राउण्ड रोविनको फम्यार्टमा आयोजना भएको प्रतियोगितामा हामी दोस्रो भयौं । भारत पहिलो बन्यो । उपविजेता हुनु पनि हाम्रो लागि गर्वकै कुरा थियो । दक्षिण एसियामा रजत पदक ल्याउनु भनेको हाम्रो इतिहासकै सबैभन्दा उत्कृष्ट प्रदर्शन थियो ।

त्यत्रो समर्थकको अगाडि कहिल्यै खेलेको थिइनँ । खेल्दाखेरि हताशा, दबाब, चुनौती सबै कुरा मैले त्यहाँ गएपछि महसुस गरे । विदेशमा खेल्दा त्यस्तो समर्थन हुँदैन थियो । हामी आफ्नै तरिकाले खेल्थ्यौं ।
त्यस बेलाको एउटा रमाइलो क्षण सुनाउछु । फाइनलमा भारत र नेपालबीच प्रतिस्पर्धा हुँदै थियो । हामीले कभर्डहलको बाहिर वार्मअप गर्‍यौं । जब फाइनल खेल्नका लागि हामी कभर्डहलभित्र छिर्‍यौं, बाफ्रे.. बाफ !

त्रिपुरेश्वरको कभर्डहल त पूरै भरिएको रहेछ । ठूलो स्वरमा हुटिङ सुरु भयो । त्यो देखेर म मात्रै हैन सबै खेलाडी छक्क पर्‍यौं । त्यहाँ बस्ने ठाउँ नै थिएन । धेरै समर्थकहरु उभिएर नै खेल हेरिरहनु भएको थियो । दुखको कुरा, हामीले फाइनल जित्न सकेनौं । तर हाम्रो तर्फबाट सक्दो प्रयास गरेका हौं ।

******

अन्तर्राष्ट्रिय प्रतियोगिता त निकै खेलेको छु । विश्व बास्केटबल च्याम्पियनसिपदेखि एसियन गेम्ससम्मको अनुभव छ ।

२०१३ मा ग्रिसमा भएको थ्री एण्ड थ्री विश्व बास्केटबल च्याम्पियनसिपमा नेपालले पनि भाग लिएको थियो । दक्षिण एसियाबाट वाइल्ड कार्डबाट नेपाल र श्रीलंकाले खेलेका थियो । यो पनि हाम्रो लागि एउटा ठूलो अवसर थियो ।

हामीले त्यो प्रतियोगितामा फ्रान्स, ग्रिस, चेक रिपब्लिक र हंगरी जस्तो देशसँग खेल्यौं । यो मेरो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । निकै गाह्रो पनि थियो । किनभने युरोपियन टिमहरु निकै बलिया थिए ।

त्यसपछि हामीले सन् २०१४ मा कोरियामा भएको इन्चोन एसियन गेम्स खेल्न पायौं । त्यो बेला बास्केटबलले भाग लिन्छ लिदैन टुंगो थिएन । दोधार हुँदाहुँदै अन्तिम समयमा बास्केटबलले ‘इन्ट्री’ पाएको थियो ।
हामीले भाग लिएको प्रतियोगितामध्ये आकारकै हिसाबले भन्ने हो भने इन्चोन एसियन गेम्स ठूलो हो । एसियन गेम्स खेल्न पाउनु पनि हाम्रो लागि भाग्यको कुरा हो । हामीले सपना देख्ने भनेको दक्षिण एसियाली खेलकुदमा पदकसम्मको हो । किनभने हाम्रो यस्तो तयारी र व्यवस्थापनले एसियन स्तरमा सहभागिता जनाउनै गाह्रो छ, मेडलको त परैको कुरा ।

******

आफूलाई बास्केटबलबाट कहिल्यै टाढा राख्न सक्दिन । त्यसैले अझै राम्रो गरौ भन्ने लाग्छ । देशको लागि केही गरौं भन्ने जोस जाग्दो रहेछ । तर अन्य खेलले जस्तो बास्केटबलले स्थान लिन सकेको छैन । स्कुल र कलेज लेभलमा बास्केटबलको लोकप्रियता भए पनि राष्ट्रिय स्तरमा चार्म छैन । जसले गर्दा क्रिकेट, फुटबल, भलिबलको जस्तो लोकप्रिय हुँदाहुँदै पनि छायाँमा परेको जस्तो लाग्छ बास्केटबल ।

मसँगै खेलेका मेरा समकक्षी साथीहरु बास्केटबल छोडेर अर्कै लाइनमा छन् तर मलाई भने बास्केटबलले छाड्दै छाडेन ।

स्नेहा श्रेष्ठ, लुनिभा सिंह, सुजाता राई, भावना लामा, ज्ञानु गौचन त्यति बेलाका मेरो समकक्षी थिए । तर अहिले उहाँहरु टिममा हुनुहुन्न । सबै जना बाहिरी देश गएका छन् । उहाँहरुलाई म निकै सम्झिन्छु । उहाँहरुले निकै कडा परिश्रम गर्नु हुन्थ्यो ।

अहिले उहाँहरु भएको भए झनै टिम राम्रो हुन्थ्यो होला । तर मैले यो भन्न खोजेकी होइन की अहिलेको मेरो टिम राम्रो छैन । अहिलेको टिम पनि बेष्ट छ । तर उहाँहरु भनेको अनुभवी खेलाडी हुनुहुन्थ्यो ।
उहाँहरुले बास्केटबललाई धेरै वर्ष योगदान पनि दिनुभएको छ । यो पटक देशको लागि खेल्नको लागि नेपाल आउने कुरा थियो तर कारणवश आउन सक्नु भएन ।

******

खेलाडी र कप्तानको दोहोरो भूमिका निभाउन कतिको गाह्रो हुन्छ भनेर नसोध्नुहोस् । यी दुबै पाटो फरक हुन् । खेलाडी मात्रै हुनुमा र कप्तान पनि हुनुमा निकै फरक हुन्छ ।

कप्तान आफैमा दबाब हुने जिम्मेवारी हो । टिमको नेतृत्व गर्नुपर्ने हुँदा कुन खेलाडीले कस्तो प्रदर्शन गर्‍यो भन्ने कुरा त छँदै छ, तर आफ्नै प्रदर्शन पनि राम्रो हुनुपर्‍यो । त्यसैले यो दुईवटै भूमिका निभाउन सजिलो भने नहुँदो रहेछ ।

नेतृत्वदायी भूमिकामा पुगेपछि झन राम्रो गर्नुपर्ने हुन्छ । सिंगो टिमले खेल नराम्रो खेल्यो भने जिम्मेवारी कप्तानले लिनुपर्ने हुन्छ । म चुनौतीको सामना गर्ने मान्छे नै हुँ । मेरो लागि कप्तान एउटा अवसर हो । खेल्नु चाहिँ मेरो कर्म हो ।

सन् २०१३ देखि मैले कप्तानको जिम्मेवारी लिएकी हुँ । चीनमा भएको थ्री एण्ड थ्री प्रतियोगितादेखि कप्तानको भूमिकामा छु ।

प्रस्तुति : सरोज तामाङ

तस्वीर : चन्द्र आले

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृंखला ‘मेरो कथा’को ५८ औं अंकमा यो हप्ता बास्केटबल खेलाडी सदिना श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment