Comments Add Comment

महराको बयान सकिएन, आज फेरि अदालतबाट म्याद थपिँदै

३ कात्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई लागेको यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप पर्ने भएको छ ।

यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

अघिल्लो पटक तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याउने प्रहरी अधिकारीहरुले बताएका छन् ।

पक्राउ परेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न पाउँछ । पक्राउ परेपछि अस्वस्थ भएको भन्दै महरा २३ असोजदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य ठीक नभएको भन्दै उनले बयान दिन मानेका छैनन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले गत असोज १९ गते महरालाई पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।

महराले यौन दुर्व्यवहार गरेको भन्ने ती महिलाको भिडियो गत असोज १२ गते सार्वजनिक भएपछि त्यसको भोलिपल्ट महराले सभामुख पदबाट राजीनामा दिएका थिए । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment