Comments Add Comment

विदेशमा रहेका नेपालीको यकीन तथ्यांक आउनेमा शंका

३ कात्तिक, काठमाडौं । ७० लाखभन्दा बढी नेपाली विदेशमा छन् भनिन्छ । तर कति नेपाली विदेशमा छन् भन्ने यकिन संख्या सरकारसँग छैन । दुई वर्षपछि हुने राष्ट्रिय जनगणनाले पनि विदेशमा बसोबास गर्ने सबै नेपालीको संख्या निकाल्ने छैन ।

परिवार नै विदेशमा बसोबास गर्नेहरुको संख्या जनगणनाबाट पनि नआउने केन्द्रीय तथ्यांक विभागलेले जनाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक नेविनलाल श्रेष्ठले भने ‘पुरै परिवार मुभ (विदेशमा बसाइँसराइ) भयो भने त्यसको तथ्यांक लिन सकिँदैन, त्यो हाम्रो लिमिटेसन हो ।’

उनका अनुसार जनगणनाका क्रममा घरको एक जनासँग कुरा गरेर सिंगो परिवारको तथ्यांक संकलन गर्ने गरिएकोछ । छिमेकी वा आफन्तसँग कुराकानी गरेर तथ्यांक नलिइने भएकाले नेपालमा परिवार रहेकाहरुको मात्र गणना गर्न सकिने उनले बताए ।

२०६८ सालको जनगणनाले १९ लाख २१ हजार नेपाली विदेशमा बसोबास गर्ने गरेको देखिएको थियो ।

सरकारले मेरो गणना मेरो सहभागिता नारासहित २०७८ सालमा  जनगणना गर्दैछ । हाल त्यसको तयारीको  काम चलिरहेको विभागले जनाएको छ ।

६ महिनाभन्दा बढी बसोबास गरेको ठाउँबाट जनगणना

तथ्यांक विभागले ६ महिना भन्दा बढी बासोबास गरेको ठाउँबाट व्यक्तिको जनगणना गर्ने भएको छ । व्यक्ति बसाइसराइ गरेर नयाँ ठाउँमा ६ महिना भन्दा बढी बसेको छ भने ऊ त्यहीँको बासिन्दाको रुपमा गणना हुनेछ ।

केही महानगरपालिका र उपमहानगरपालिकामा ट्याब्लेटमार्फत तथ्यांक संकलन गर्ने सरकारको तयारी छ । ‘सम्भव भएसम्म ई–सेन्ससको प्रविधिमा जान खोजेका छौं’ उनले भने ।

धर्म निरपेक्षको गणना गर्ने तयारी

जनगणना २०७८ मा कुनै पनि धर्म नमान्ने (धर्म निरपेक्ष) को पनि संख्या गणना गर्ने तयारी भएको छ । यद्यपी अहिलेसम्म यो विषय छलफलमै रहेको छ । धर्म निरपेक्षको गणना गर्न माग आएको तर यस विषयमा निर्णय भइनसकेको जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

अन्य धर्मका प्रतिनिधिहरुसँग छलफल गरेर यो विषयमा निर्णय गर्ने उनको भनाइ छ । ‘यो विषय छलफलमा आएको छ, तर हामीले तयार पारेको प्रश्नावलीमा आधिकारिक रुपमा धर्म निरपेक्ष उल्लेख गरिएको छैन’ उनले भने ।

समलिंगी तेस्रोलिंगीको छुट्टै तथ्यांक संकलन गर्ने कि नगर्ने भन्ने अहिलेसम्म नटुंगिएको विभागले जनाएको छ ।

‘अहिलेसम्म यो विषय छलफलमै छ, भोलि पनि उहाँहरु (समलिंगी तेस्रोलिंगीका प्रंतिनिधि)सँग हाम्रो छलफल छ’ महानिर्देशक श्रेष्ठले भने, ‘ज्यादै थोरै संख्यामा तथ्यांक आयो भने के गर्ने ? ’

परिवारका एक जनासँग भेटेर तथ्यांक लिने भएकाले परिवारले आफ्नो सदस्य समलिंगी तेस्रोलिंगी हो भन्न चाहन्छ कि चाहँदैन र व्यक्ति समलिंगी तेस्रोलिंगी भएको परिवारलाई थाहा दिएको छ कि छैन भन्ने कुराले तथ्यांक प्रभावित हुन सक्ने श्रेष्ठको भनाइ छ ।

माघ १ देखि नमुना जनगणना

२०७८ सालको जनगणनाको तयारीस्वरुप आउँदो माघ १ देखि चैत ३० गतेसम्म नमुना जनगणना गरिने भएको छ । ७ प्रदेशका २/२ वटा गरी १४ जिल्लाका ५५ वटा वडामा नमुना जनगणना गरिने महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौं, गण्डकी प्रदेशको बागलुङ र कास्की, प्रदेश ५ को रुपन्देही र प्युठान, कर्णालीको सुर्खेत र जुम्ला, सुदूरपश्चिमको कैलाली र दार्चुलामा नमुना जनगणना हुनेछ । नमुना जनगणना हुने वडा भने चयन भइसकेको छैन ।

नमुना जनगणनामा गणना सामाग्री, गणना क्षेत्रको नक्शाको शुद्धता, प्रश्नावली, जनशक्तिको पर्याप्तता, प्रविधिको प्रयोगजस्ता विषयको परीक्षण गर्ने महानिर्देशक श्रेष्डले बताए ।

नमुना जनगणनामा १५ जना सुपरीवेक्षक, ६० जना गणक र अन्य ४७ जना गरी १२२ जना कर्मचारी खटिनेछन् । नमुना जनगणनाका लागि १ करोड १७ लाख बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment