Comments Add Comment

बाग्मतीलाई सफा बनाउन यस्तो बन्दैछ प्रशोधन केन्द्र

२ कात्तिक, काठमाडौं । बाग्मती सफाइ अभियान चलाएको वर्षौं भइसक्यो । तर अझै नदी सङ्लिएको छैन । नदी सफाइका लागि अब गुहेश्वरीमा फोहोरपानी प्रशोधन केन्द्र बन्दैछ, जहाँ गोकर्णदेखि गुहेश्वरीसम्मको ढल  जोडिनेछ ।

प्रशोधन केन्द्रको काम ९५ प्रतिशत सकिएको छ । बाँकी सबै काम आगामी डिसेम्बरसम्म सकेर उद्घाटन गर्ने लक्ष्य रहेको खानेपानीमन्त्री विना मगरले जानकारी दिइन् ।

प्रशोधन केन्द्र सञ्चालनमा आएसँगै पशुपति क्षेत्रमा बागमती नदीमा नुहाउन मिल्ने सरकारको दाबी छ । बाग्मतीलाई ढलरहित बनाउने अभियानमा यो निकै महत्वपूर्ण आयोजना भएको भन्दै मन्त्री मगरले भनिन्,’पशुपतिनाथका भक्तजनहरुले बाग्मतीको पानी पिउन नसकेपनि नुहाउनसक्ने बन्नेछ ।’

अहिले काठमाडौं उपत्यकामा घरघरबाट निस्कने ढल सिधै नदीमा मिसाइन्छ । यसले पानीकास्रोत प्रदुषित मात्रै भएको छैन, काठमाडौंको सभ्यतामाथि नै प्रश्न उठेको छ । तर, अब योजनाअनुसार काम भयो भने केही वर्षभित्रै ढल प्रशोधन गरेर खोलामा मिसाउने मात्र छैन, त्यसबाट बिजुली निकालिनेछ । त्यसका लागि गुहृयेहृवरीमा जस्तै सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण, र चल्नाखेलमा ढल प्रशोधन केन्द्र निर्माण भइरहेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तरगतको आयोजना कार्यान्वयन इकाई (पीआईडी)ले ढल प्रशोधन केन्द्रहरुको निर्माण गरिरहेको छ । यो काम सकिएपछि ढल सीधै खोला वा नदीमा नमिसाइने मन्त्री मगरले जानकारी दिइन् ।

त्यसकै लागि विभिन्न खोला र नदीका कोरिडोरमा ढलका ठूला पाइप बिछ्याउने काम भइरहेको छ । त्यसपछि ढलहरु प्रशोधन केन्द्रसम्म पुग्ने गरी ढल प्रणालीमा जोडिनेछ ।

ढललाई प्रशोधन केन्द्रसम्म पुर्‍याएर विभिन्न चरणमा प्रशोधन गरिनेछ । त्यसक्रममा ग्यास समेत निस्कनेछ । त्यो ग्यास प्रयोग गरेर बिजुली निकाल्ने योजना छ । गुह्येश्वरीबाट मात्र २४० किलोवाट बिजुली निकाल्ने बताइएको छ ।

गुहेश्वरीमा दैनिक ३ करोड २५ लाख लिटर पानी प्रशोधन गर्न सक्ने  प्लान्ट बनेको छ । सल्लाघारीमा १ करोड ४० लाख लिटर र कोड्कुमा १ करोड ७५ लाख लिटर ढल प्रशोधन गर्नसक्ने प्लान्ट निर्माण गरिँदैछ । धोबीघाटमा दुई ३ करोड ७० लाख लिटरका दुई वटा प्लान्ट निर्माण गर्न लागिएको छ ।

अहिले पीआईडीले १०१ किलोमिटर खोला नदी किनार क्षेत्रमा ढलको इन्टरसेप्टर निर्माण गरिरहेको छ ।

पीआईडीले हनुमन्ते, मनोहरा र खसाङखुसुङ खोलाको किनारमा इन्टसेप्टर जोड्ने काम गरिरहेको छ । बाग्मती, विणुमती, धोबीखोला, मनमतिखोला लगायतमा अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले काम गरिरहेको छ । २ अर्ब ५५ करोड रुपैयाँ लागत रहेको गुहेश्वरीको प्रशोधन केन्द्रको निर्माण भारतीय कम्पनी भीभए टेक वाबागले गरिररहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment