News Summary
Generated by OK AI. Editorially reviewed.- साउन दोस्रो सातासम्म देशभर कुल धानखेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७४ हजार ३ सय ९२ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ।
- कृषि विभागको तथ्यांक अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी २२.१२ प्रतिशत धानखेतमा अझै रोपाइँ हुन बाँकी रहेको छ।
- गत वर्षको तुलनामा यस वर्ष राष्ट्रिय रोपाइँ दरमा सुधार आएर रोपाइँ गर्ने क्रम ८५.७२ प्रतिशत पुगेको छ।
१२ साउन, काठमाडौं । साउन दोस्रो सातासम्म आइपुग्दा देशभरि अझै १४.२८ प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी रहेको तथ्यांकले देखाएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्यांक अनुसार देशभरि कुल धानखेती हुने १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टरमा रोपाइँ हुन सकेको छैन ।
हालसम्म देशभरि ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर क्षेत्रफल अर्थात् ८५.७२ प्रतिशत खेतमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
देशको प्रमुख अन्नभण्डार मानिने मधेस प्रदेशमा नै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ । साउन ७ सम्मको तथ्यांक अनुसार मधेसमा कुल ३ लाख ८५ हजार ९ सय ३३ हेक्टरमा धानखेती हुने गरेकोमा ३ लाख ५ सय ८० हेक्टरमा मात्र रोपाइँ भएको छ ।
मधेसमा अझै २२.१२ प्रतिशत अर्थात् करिब ८५ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन बाँकी छ ।
मधेसपछि गण्डकीमा सबैभन्दा बढी रोपाइँ हुन बाँकी छ । तथ्यांक हेर्दा गण्डकीमा कुल ९३ हजार ६ सय ६ हेक्टरमध्ये ७५ हजार ५ सय ६२ हेक्टर (८०.७२ प्रतिशत) मा मात्र रोपाइँ सकिएको छ, जसले त्यहाँ अझै १९.२८ प्रतिशत खेत बाँझै रहेको छ ।
यसैगरी कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये २ लाख ४० हजार ३ सय ७७ हेक्टरमा मात्र रोपाइँ भएको छ । त्यहाँ अझै १३.०३ प्रतिशत क्षेत्रफलमा रोपाइँ गर्न बाँकी छ ।
बागमती प्रदेशमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ८७.०९ प्रतिशतमा रोपाइँ सकिएर अझै १२.९१ प्रतिशत क्षेत्रफल बाँकी छ ।
उता, लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३ सय ७२ मध्ये ८८.९९ प्रतिशतमा रोपाइँ हुँदा ११.०१ प्रतिशत क्षेत्रफल बाँकी छ भने कर्णाली प्रदेशमा कुल ४३ हजार २ सय ९० हेक्टरमध्ये ८८.२२ प्रतिशतमा रोपाइँ सम्पन्न भई ११.७८ प्रतिशत खेतमा धान रोप्न बाँकी रहेको तथ्यांकले देखाएको छ ।
देशभरिकै तुलनामा सुदूरपश्चिम प्रदेशमा भने रोपाइँ लगभग अन्तिम चरणमा पुगेको छ । त्यहाँ कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये १ लाख ५१ हजार ७ सय ४२ हेक्टर अर्थात् ९७.९३ प्रतिशतमा रोपाइँ सकिएको छ । सुदूरपश्चिममा अब २.०७ प्रतिशत क्षेत्रफलमा मात्र धान रोप्न बाँकी छ, जुन देशभरिकै सबैभन्दा कम हो ।
रोपाइँ हुन बाँकी क्षेत्रफल अझै ठूलो देखिए पनि गत वर्ष २०८२ को यही अवधिको तुलनामा यस वर्ष समग्र राष्ट्रिय रोपाइँ दरमा भने सुधार आएको छ ।
गत वर्ष ११ साउनसम्म देशभरि जम्मा ७८.८४ प्रतिशतमात्र रोपाइँ भएकोमा यस वर्ष सोही अवधिमा समग्र रोपाइँ ८५.७२ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया 4