
४ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकाका मुख्य सात चोकमा ओभरहेड (आकाशमार्ग) र अण्डरपास विथ टनेल (सुरुङमार्ग) बनाउने प्रस्ताव अगाडि सारेको छ । मन्त्री रघुवीर महासेठका अनुसार यो प्रस्ताव सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पेश गरिएको छ ।
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन गर्दै मन्त्री महासेठले काठमाडौं उपत्यकाको विकासका लागि योजना बनिसकेको बताए । कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, कालिमाटी, त्रिपुरेश्वर र थापाथलीमा ओभरहेड ब्रिज र अण्डरपास विथ टनेल बनाउने प्रस्ताव छ ।
काठमाडौं बाहिर जति काम गरे पनि उपत्यकामा सरकार आलोचित हुने गरेको भन्दै मन्त्री महासेठले भने, ‘आज काम गर्ने वातावरण बनेको छ बढीमा फागनु मसान्तभित्र नयाँ काठमाडौं हेर्न पाउनु हुनेछ ।’
मन्त्रालयको प्रस्ताव स्वीकृत भएसँगै टेण्डर लगायतका प्रक्रिया सुरु गर्ने उनले बताए । नयाँ काठमाडौं बनाउने लागेको भन्दै उनले यदि काम गर्न नसक्ने छोडेर जाने समेत बताए ।
सात सुरुङमार्गको डीपीआर
भौतिक पूर्वाधारमन्त्री महासेठले यो वर्षमात्र सात वटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन बनाउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए । चित्लाङ, लामाबगर, सिद्धबाबा, खुर्कोट लगायतका स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम भइरहेको उनले बताए ।
प्रतिक्रिया 4