Comments Add Comment

लक्ष्मी पूजामा झिलिमिली बनाउन लोडसेडिङको छैन डर

जति माग आए पनि सुविधाजनक अवस्थामा छौं : घिसिङ

Photo Credit : अनलाइनखबर फाइल ।

५ कात्तिक, काठमाडौं । वर्षभरीमा सबैभन्दा बढी विद्युत माग हुने दिन हो लक्ष्मी पूजा । यस दिन अत्यधिक बढ्ने मागलाई धान्न विद्युत प्राधिकरणका लागि चुनौतीपूर्ण हुने गर्छ ।

तिहारमा सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाउने गरिन्छ । केही वर्ष अगाडिसम्म लक्ष्मी पूजाका दिन प्राधिकरणले झ्यापझ्याप बत्ति काटेर धुरुक्क पाथ्र्यो । तर, त्यो अब इतिहास भइसक्यो । चार वर्षदेखि प्राधिकरणले तिहारमा वत्ति काट्न छोडेको छ । कुनै प्राविधिक गड्बडीले काटियो भने बेग्लै कुरा ।

यसपाली पनि तिहारमा कतै बत्ति नजाने सुनिश्चित गर्न प्राधिकरण जुटिसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सकेसम्म स्थानीय क्षेत्रका ट्रान्सर्फमरले लोड धान्न नसकेर ट्रिपिङ हुने खालका समस्या पनि आउन नदिने गरी तयारी भइरहेको बताउँछन् ।

गत वर्ष पनि लक्ष्मी पूजाका दिनमा प्राधिकरणले कतै पनि बत्ती नकाटिने गरी लोड व्यवस्थापन गरेको थियो । प्राधिकरणका अनुसार तिहारअघि नै सबै जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको नियमित मर्मत सकिनेछ ।

कुनै स्थानमा समस्या आउने बित्तिकै तत्काल सम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिम तयारी अवस्थामा राखिने छ । यस्तोे टिम कतै समस्या आए त्यहाँ तुरुन्तै पुगिहाल्छ ।

लक्ष्मीपूजाको दिन सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । ललितपुर, भक्तपुरसहित देशको मुख्य शहरी क्षेत्रहरुमा पनि ठूलो मात्रामा बिजुलीको माग हुने हुन्छ ।

काठमाडौंमा स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातिर्थ, बनेपा र पाँचखाल सबस्टेशनलाई चुस्त अवस्थामा राखिनेछ । देशभरका सबस्टेशनलाई पनि समस्या नआउने गरी सम्भार गरिँदैछ । हरेक वर्ष लक्ष्मी पूजाका दिन स्युचाटारको भारप्रेषण केन्द्रमा आफैं बसेर उपत्यकाको विद्युत वितरण निगरानी गर्छन् कार्यकारी निर्देशक घिसिङले ।

लक्ष्मीपूजाका दिन साढे ३ सय मेगावाटको हाराहारीमा विद्युत् खपत गर्ने उद्योगहरु भने बन्द हुने घिसिङ बताउँछन् । प्राधिकरणले देशभर लाइन नकाट्न लक्ष्मी पूजाका दिनमा आवश्यक पर्दा हेटौंडामा रहेको डिजेल प्लान्ट पनि चलाउने गरेको छ । यो १४ मेगावाट क्षमताको प्लान्ट हो ।

‘हामी तिहारमा जति माग आए पनि सुविधाजनक अवस्थामा छौं,’ घिसिङ भन्छन्, ‘बिजुली अभाव भएर कतै बिजुली काट्नुपर्ने अवस्था आउँदैन, चाहेजति खपत गर्दा हुन्छ ।’

उनले कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक मागका कारण नै विजुली काट्नु पर्ने अवस्था नरहेको आश्वस्त पारे ।

यो वर्ष तिहारमा १३०० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले अहिले देशभित्र नै ११ सय मेगावाट बराबरको विजुली प्लान्ट चलाइरहेको घिसिङले बताए ।

‘डेढदेखि २ सय मेगावाट विजुली भारतबाट ल्याउँदा पुग्छ,’ उनले भने ।

नेपाल विद्युत प्राधिकरणले तिहारमा आफ्नो उत्पादन केन्द्र र साइट नछाड्न विद्युत् उत्पादन, सञ्चालन सम्भार विभाग मातहतका कर्मचारीलाई निर्देशन दिने तयारी गरेको छ ।

गत वर्ष पनि कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर विद्युत् केन्द्र प्रमुख, शाखा प्रमुख र इन्जिनियरहरु कार्यस्थल (साइट)मा नबस्ने गरेको भन्दै प्राधिकरणले जिम्मेवारी पन्छाएर नहिँड्न निर्देशन दिएको थियो ।

यसवर्ष पनि हरेक गतिविधिमा जिम्मेवार, जवाफदेही र संवेदनशील भएर तालुक निकायका पदाधिकारीसँग निरन्तर सम्पर्कमा रहन प्राकिरकणले निर्देशित गर्ने घिसिङले बताए ।

प्राधिकरणले मेसिन, उपकरण र मर्मतको जिम्मेवारी लिएका कर्मचारीलाई पनि साइट छाड्न नदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment