Comments Add Comment

राष्ट्र बैंकको १७ औं गभर्नर बन्न को–को आकांक्षी ?

६ कात्तिक, काठमाडौं । मुलुकको केन्द्रीय बैंकका रूपमा रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले यस वर्ष अवकाश पाउँदैछन् । तर, उनले अवकाश पाउन पाँच महिना बाँकी रहँदै नयाँ गभर्नरको दौड सुरु भइसकेको छ ।

राष्ट्र बैंकको गभर्नर अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्छ । यसका लागि उच्च राजनीतिक तहसम्म चलखेल र दाउपेच हुने गरेको छ । आकांक्षीहरूले सत्तारूढ दलका शीर्ष नेताको दैलो चहार्ने क्रम अहिले नै सुरु गरेको स्रोत बताउँछ । स्रोतका अनुसार गर्भनरका लागि अहिले नै आधा दर्जन आकांक्षी देखा परिसकेका छन् ।

नेपाल राष्ट्र बैंकका १६ औं गभर्नर हुन् । उनी ४ वर्षअघि नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकार रहेका उनलाई कांग्रेस नेतृत्वको सरकारले सल्लाहकारबाट राजीनामा दिन लगाएर गभर्नर नियुक्त गरेको थियो । नेपालको कार्यकाल आगामी चैतमा सकिँदैछ ।

बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय राष्ट्र बैंकलाई सरकारको प्रमुख आर्थिक सल्लाहकार मानिन्छ । नेपाली मुद्रा छपाइ तथा व्यवस्थापनसमेत यसको कार्यक्षेत्रमा पर्ने भएकाले राष्ट्र बैंकको गभर्नर महत्त्वपूर्ण र आकर्षक पद हो । यसमा नियुक्त हुन सानो पहुँचले पुग्दैन ।

वरीयतामा गभर्नर नेपाल सरकारको सचिवभन्दा माथि हुने व्यवस्था छ । राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै रहन्छ भने उक्त समितिको सदस्य अर्थमन्त्रालयका सचिव हुने व्यवस्था छ ।

को–को छन् आकांक्षी ?

गभर्नरका लागि आंकाक्षा राख्ने पहिलो नम्बरमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी छन् । ०४४ मा राष्ट्र बैंकको प्रमुख सहायक पदबाट करियर सुरु गरेका सिवाकोटी १९ फागुन ०७२ मा डेपुटी गभर्नर बनेका थिए । ०७२ भदौमा कार्यकारी निर्देशकमा बढुवा भएका उनलाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेको थियो । सिवकोटी अमेरिकाको साउदर्न न्यू हेम्पासायर युनिभर्सिटीबाट वित्तीय व्यवस्थापनमा स्नातकोत्तर हुन् ।

गभर्नरका अर्का आकांक्षी हुन्, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी । अधिकारी राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर हुन् । उनीसँग ३० वर्ष राष्ट्र बैंकमा काम गरेको अनुभव छ । उनी यसअघि पनि गभर्नरका लागि सिफारिस भएका थिए । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले अधिकारीको नामसमेत सिफारिस गरे पनि उनी नियुक्त हुन सकेनन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त भास्करमणि ज्ञवाली पनि गभर्नरको दाबेदारका रूपमा छन् । उनले आफू गभर्नरको दाबेदार भए पनि राजनीतिक लबिङ भने नगरेको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले आफू स्वतन्त्र भएर काम गर्न नसक्ने संस्थाका लागि मरिहत्ते नगर्ने प्रतिक्रिया दिए । तर यो मान्छे योग्य छ भनेर सरकारले नियुक्त गरे स्वीकार गर्ने ज्ञवालीको भनाइ छ ।

यीबाहेक अन्य अनुहारले पनि गभर्नर हुने लालसा देखाएका छन् । राष्ट्र बैंक सञ्चालक समिति सदस्य सुवोध कुमार कर्ण, नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले समेत आकांक्षा राखेको चर्चा बैंक तथा वित्तीय क्षेत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment