Comments Add Comment

मनोज हत्या प्रकरण : डिजेलको उधारो रकम माग्दा गोली हानियो

दुई पेस्ताल र २२ राउण्ड गोलीसहित पंकज पक्राउ

६ कात्तिक, धनुषा । जनकपुरधाममा पेट्रोलपम्प सञ्चालक मनोज साहको हत्याको कारण लेनदेन विवाद रहेको खुलेको छ । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित पक्राउ गरेको छ ।

निर्माण व्यवसायी पंकजले मनोजको सपहीस्थित न्यू शिव आयल स्टोर्सबाट डिजेल किनेको आठ लाख रुपैयाँ उधारो थियो । पंकजले त्यो रकम दिन आलटाल गर्दै आएका थिए ।

जनकपुर उपमहानगरपालिका वडानम्बर १ घर भएका मनोज बुधबार बिहान पैसा लिनका लागि साथी अमित साहलाई लिएर पंकजको घर गए । तर, पंकजले बिहान १० बजेतिर मनोजमाथि गोली प्रहार गरे ।

अमित भने भागेर नजिकै रहेको मुझेलिया प्रहरी चौकीमा पुगेर खबर गरे । करिब ५० मिटरको दुरीमा रहेको चौकीका प्रहरीले पंकजलाई तत्कालै हतियारसहित गिरफ्तार गरे ।

साहको हत्या गरेर छिमेकीको घरमा गई लुकेर बसेका चौधरीको साथबाट दुई थान हतियार र दुवै हतियारमा लाग्ने गोली बरामद भएको धनुषा प्रहरीले जनाएको छ । ‘चौधरी छिमेकीको घरमा लुक्न जाँदा हतियारसमेत बोकेर गएका रहेछन्,’ धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले भने, ‘झोलामा हतियार बोकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएका हौं ।’

डीएसपी कार्कीका अनुसार ४ राउण्ड गोली र अटोमेटिक पेस्तोल घटनास्थलबाट तथा एक थान कटुवा पेस्तोल, त्यसको २ राउण्ड गोली र अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली चौधरीले बोकेको झोलाबाट बरामद भएको छ ।

पंकज चौधरी निर्माण व्यवसायी हुन् भने साहले पेट्रोलपम्प सञ्चालनसँगै ठेकदारी पनि गर्दै आएको प्रहरीको भनाइ छ ।

मनोजको पेट्रोल पम्प सपहीमा छ । ठेकदारी गर्दै आएका चौधरीले साहको पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए ।

चौधरीले साहको पम्पबाट खरीद गरेको डिजेलमध्ये ८ लाख उधारोमा लिएका थिए । चौधरीले यो रकम दिन आलटाल गरेपछि उनीहरुबीच मनमुटाव बढेको स्थानीय बताउँछन् ।

आफ्नो घरमा ताकेता गर्न आएको भन्दै चौधरीले साहमाथि गोली चलाएका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।

प्रहरीले घटना अनुसन्धानका लागि मृतक मनोजका बुवालाई पनि लगेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment