Comments Add Comment

तिहार नेपालीको, व्यापार विदेशीको : भाइमसलामा ४ अर्ब बाहिरियो

७ कात्तिक, काठमाडौं । नेपाली हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको भीड पनि बढ्न थालेको छ । तिहारमा खासगरी फूल, बत्ती र भाइमसलाको अत्यधिक माग हुन्छ ।

तर, स्वदेशमा उत्पादन नहुँदा तिहारका सामग्री खरिदका लागि ठूलो स्वदेशी पूँजी विदेशिने गरेको छ । हामीले चाड मनाउँदा छिमेकी देश भारत र चीनका व्यवसायीहरु मालामाल हुने गर्छन् ।

विदेशबाट घर–आँगन सजावटका साम्रग्री र बिजुलीका सामानबाहेक भाइ मसलाको आयात हुने गरेको छ । भन्सार विभागका अनुसार तिहारलाई लक्षित गरेर १६ भन्दा धेरै प्रकारका वस्तुहरु व्यवसायीले आयात गरेका छन् । नरिवल, काजु, बदाम, अलमण्ड, ओखर, कटुस, पिस्ता, सुपारी, केरा, खजुर, छोगडा, अम्बा, आँप, सुन्तला, कागती तथा अमिला फलफूल, अंगुर, किसमिस र स्याउ आयात भएका छन् ।

नेपालमै प्रशस्त उत्पादन हुने सिजनल फलफूलहरु केरा, सुन्तला, सुपारी, कटुस, नरिवल र बदामसमेत चालू आर्थिक वर्षको सुरुवाती तीन महिनामा भारतलगायतका देशबाट आयात भएका छन् ।

चालु आर्थिक वर्षको तीन महिनामा तिहारका सामग्रीको आयातमा विदेशिएको रकम अघिल्लो वर्षको तुलनामा न्यून देखिएको छ । अघिल्लो वर्ष ७ करोड ३० लाख १५ हजार ३१९ किलो परिमाणको त्यस्ता वस्तु आयात गर्न नेपालबाट १२ अर्ब ३९ करोड ८४ लाख ४३ हजार २४८ रुपैयाँ बाहिरिएको थियो ।

तर यस वर्ष ७ करोड ४४ लाख ५६ हजार ६४७ किलो बराबरको वस्तु आयात गर्न ३ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ मात्रै खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा तिहारको आयात खर्च ९ अर्ब हाराहारीले घटेको छ । यस वर्ष तिहारमा प्रयोग हुने वस्तुमा बाहिरीने रकममा भारी गिरावट आए पनि वस्तुको परिमाण भने १४ लाख किलो हाराहारीले मात्रै घटेको देखिएको छ ।

कुन सामग्री कति आयात ?

नेपालमा व्यावसायिक खेती हुने गरेको केरा, स्याउ, सुपारी, बदामजस्ता वस्तु पनि भारतलगायतका मुलुकबाट तिहारको छेको पारेर आयात भएको छ ।

चालू आर्थिक वर्षको श्रावण, भदौ र असोज तीन महिनामा ३५ लाख ३७ हजार किलो नरिवल आयात भएको छ । यस वर्ष नरिवल खरिदका लागि मात्रै २३ करोड ७८ लाख रुपैयाँ मुलुकबाट बाहिरिएको छ । गत वर्ष ३६ लाख ६२ हजार किलोभन्दा धेरै नरिवल आयात भएको थियो । सो अवधिमा नरिवल किन्न २६ करोड ८४ लाखभन्दा धेरै बाहिरिएको थियो ।
गत वर्ष ४ लाख १९ हजार किलो काजु आयात गरेको नेपालले यस वर्ष सोही अवधिमा ३ लाख १४ हजार किलोमात्रै आयात गरेको छ । यस्तै यस वर्ष बदाम र आलमण्ड १ लाख ६६ हजार किलो आयात भएको छ । गत वर्ष २ लाख ५३ हजार आयात भएको थियो ।

यस्तै, २ लाख ४० हजार किलो ओखर, एक सय किलो कट्टुस, एक लाख ५४ हजार किलो पिस्ता, १८ लाख ५३ हजार किलो सुपारी, २ करोड ९७ लाख किलो केरा, ९ लाख ५६ हजार किलो खजुर/छोगडा, ३९ लाख २५ हजार किलो अम्बा र आँप, २२ लाख ७५ हजार किलो सुन्तला, ४७ लाख ९० हजार किलो कागती तथा अमिलो फलफूल, १० लाख ७९ हजार किलो अंगुर, २ लाख १६ हजार किलो किसमिस र २ करोड ५१ लाख ३७ हजार किलो स्याउ नेपालले आयात भएको छ ।

भन्सार विभागका अनुसार स्याउ, किसमिस, कागती, अम्बा, खजुर, पिस्ता, ओखर, बदाम र काजुको आयत अघिल्लो वर्षको तुलनामा घटेको छ । सुपारीको आयात उस्तै उस्तै रहे पनि अंगुर आयात भने यस वर्ष बढेको छ । गत वर्ष आयात नै नभएको कट्टुस यस वर्ष एक सय किलो आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment