+
+
Shares

१६ प्रतिशतले आयात बढेको वर्ष भन्सार राजस्व साढे ६ प्रतिशतमात्र

सरकारले गत आव ५ खर्ब १५ अर्ब ५७ करोडमात्र भन्सार राजस्व संकलन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८२/८३ मा वस्तु आयात १६.२० प्रतिशतले बढे पनि भन्सार राजस्व भने ६.५ प्रतिशतले मात्र वृद्धि भएको छ ।
  • सरकारले ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ५ खर्ब १५ अर्ब ५७ करोडमात्र संकलन भएको छ ।
  • भन्सार विभागका अनुसार कम भन्सार दरका वस्तुको आयात र सरकारले दिएको राजस्व छूटका कारण राजस्व वृद्धि लक्ष्यअनुसार हुन सकेको छैन ।

१० साउन, काठमाडौं । आयात उल्लेख्य बढेको गत आर्थिक वर्ष २०८२/८३ मा भन्सार राजस्व वृद्धि भने न्यून देखिएको छ ।

भन्सार विभागका अनुसार गत आव भन्सार राजस्व ६.५ प्रतिशतले मात्र बढेको छ । जबकि, यस आव वस्तु आयात १६.२० प्रतिशतले विस्तार भएको छ ।

यस वर्ष सरकारले कुल ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ बराबर भन्सार राजस्व बढाउने लक्ष्य राखेको थियो । संकलन भने ५ खर्ब १५ अर्ब ५७ करोडमात्र भएको छ । जुन लक्ष्यको ८७.६ प्रतिशत बराबर हो । अघिल्लो आव २०८१/८२ मा सरकारले ४ खर्ब ८४ अर्ब ७ करोड भन्सार राजस्व संकलन गरेको थियो ।

भन्सार विभागका अनुसार उक्त आव लक्ष्यको ८३.१ प्रतिशतमात्र भन्सार राजस्व उठेको थियो । गत आव आयात उल्लेख्य बढेको छ । २०८१/८२ मा १८ खर्ब ४ अर्ब रहेको आयात गत आव २० खर्ब ९६ अर्ब ३७ करोड पुगेको छ ।

तर, त्यसले राजस्व वृद्धिमा भने ठूलो प्रभाव पारेन । सामान्यतया कम भन्सार दर वा शून्य भन्सार रहेका वस्तु आयात बढ्दा भन्सार महसुलमा प्रत्यक्ष योगदान देखिँदैन ।

अर्कातर्फ, सरकारले विभिन्न आयोजना र क्षेत्रमा हरेक वर्ष अर्बौं भन्सार छूट समेत दिने गर्छ । त्यसले समेत राजस्व संकलनमा प्रभाव पारेको हुन्छ ।

भन्सार विभाग तथ्यांक अनुसार गत आव कुनै पनि महिना राजस्व संकलन लक्ष्य अनुसार हुन सकेन । सबैभन्दा धेरै चैतमा लक्ष्यको ९५.२ प्रतिशत संकलन भएको थियो । माघमा ९३.८ र असारमा ९२.९ प्रतिशत राजस्व उठेको छ । सबैभन्दा कम भने कात्तिकमा ७२.६ प्रतिशतमात्र राजस्व उठेको छ ।

अघिल्लो वर्षसँग तुलना गर्दा जेठमा राजस्व संकलन नकारात्मक छ । २०८१/८२ जेठमा ४९ अर्ब ६२ करोड भन्सार राजस्व उठेकोमा २०८२/८३ जेठमा ४७ अर्ब ८६ करोडमात्र संकलन भएको छ । जुन ३.६ प्रतिशत कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?