Comments Add Comment

मागी विवाह गर्दै हुनुहुन्छ ?

हजुरआमा-हजुरबुबा अथवा आमाबुवाको समयमा मागी विवाहको सफलताको सूत्र आजको समयमा मेल खाँदैन । भनिन्छ, विवाह भावीले छैठौं दिनमा नै निर्धारित भएको हुन्छ । जसका कारण हरेकको लागि कोही न कोही जीवनसाथी जन्मेको नै हुन्छ । तर, आजको युवा पिँढी यो कथनमा त्यति विश्वास गर्दैन । उनीहरु लभ म्यारिज (प्रेम विवाह) लाई बढी महत्व दिन्छन् । तर, केही व्यक्तिबाहेक आज पनि धेरैजसो मानिसहरु मागी विवाह गर्न नै रुचाउँछन् । प्रेम विवाहको तुलनामा मागी विवाह सफल हुन्छ भन्ने मान्यता पनि छ ।

मंसिर महिना आउँदैछ । यो महिनामा धेरैको जोडी बन्ने सम्भावना हुन्छ । प्रेम विवाह गर्नेले त आफ्नो भावी जीवनसाथीको बारेमा सबै थाहा पाएका हुन्छन् र उनीहरुले एक-अर्कालाई कसरी खुशी राख्ने भन्ने पनि थाहा हुन्छ । तर, जसको मागी अथवा परम्परागत विवाह हुँदैछ, उनीहरुले आफ्नो वैवाहिक जीवन कसरी सफल बनाउने ?

-विवाह सफल बनाउने मूल मन्त्र भनेको नै प्रेम, विश्वास, सम्झौता र समझदारी हो । बिस्तारै-बिस्तारै एक-अर्कालाई बुझ्नुपर्छ । एडजस्ट हुनको लागि समय र स्पेस दिनुपर्छ । यी कुराहरुले वैवाहिक सम्बन्ध सुमधुर हुन्छ ।

-परम्परागत विवाहमा दुबै साथी एक-अर्काको लागि अपरिचित हुन्छन् । त्यस्तो अवस्थामा आत्तिनु स्वभाविक नै हो । यदि तपाईं पनि त्यस्तो अनुभव गर्नुहुन्छ भने के कारणले त्यस्तो भएको हो रु त्यो पत्ता लगाउने कोसिस गर्नुपर्छ । कहिलेकाहीँ अपरिचत व्यक्तिसँगै रहनुपर्ने कल्पना, नयाँ परिवारसँग तालमेल बनाउने डर, नयाँ ठाउँको रहन-सहनको चिन्ताका कारण मन आत्तिन्छ । त्यस्तो स्थितिमा आफू आत्तिएको कुरा आफ्नो पार्टनरलाई सुनाउर्नुपर्छ । आफ्नो पार्टनरको माध्यमबाट परिवारको बारेमा थाहा पाउने कोसिस गर्नुपर्छ । पार्टनरसँगको व्यवहार सहज भएपछि परिवारसँग तालमेल बनाउन सकिन्छ ।

-मागी विवाहको अर्थ धेरै जिम्मेवारीहरु र धेरै अपेक्षाहरु भन्ने हुन्छ । दुबै पार्टनरहरुबाट यी सबै कुरामा उत्कृष्ट नतीजाका लागि दबाब हुन्छ । तर, त्यस्तो दबाब लिँदा आपसी तालमेल राम्रो बनाउँदै लिनु पर्छ ।

-तपाईंहरु दुबैको विचार एउटै हुनुपर्छ भन्ने जरुरी छैन । तपाईंको पार्टनरलाई तपाईंको हरेक मनपर्ने तथा नपर्नेको कुराको बारेमा रुचि हुन्छ भन्ने पनि हुँदैन । कहिलेकाहीँ विपरित प्रवृत्तिका पार्टनरहरु पनि खुशी साथ जीवन बिताइरहेका हुन्छन् ।

-कहिलेकाहीँ नयाँ परिवारको सोचाई तपाईंको सोचाईलाई सही नमान्न पनि सक्छ । बारम्बार यहाँ त यस्तै चलन छ भनेर भन्ने पनि हुन सक्छन् । त्यस्तो वातावरणमा तपाईंले टेन्सनको महसुस गर्नु स्वभाविक नै हो । तर, विवाहमा सामञ्जस्य र अनुकूलता पनि हुन्छ । त्यस्तो स्थितिमा आफ्नो पार्टनरसँग राम्रो भाषाका साथ सौम्य स्वरले कुरा गर्नुपर्छ । पार्टनरलाई आफ्नो उल्झनको बारेमा बताउनुपर्छ । जसले परिवारको कुनै पनि सदस्यको कुनै गुनासो बिना नै समस्याको समाधान निस्कियोस् ।

-सुरु-सुरुमा आफ्नो पार्टनर अथवा परिवारको सदस्यहरुको कुनै पनि कुरा, टिप्पणी अथवा व्यवहारलाई मनमा राख्नु हुँदैन । त्यस्तै, जस्तोलाई त्यस्तै भन्ने रणनीति पनि लिनु हुँदैन । आफूलाई जुन व्यक्तिले समस्या दिन खोज्छ, उसंग बचेर बस्नुपर्छ । बुद्धिमानी पूर्वक स्थितिलाई सम्हाल्नुपर्छ । तपाईंको त्यस्तो व्यवहारले तपाईंहरु दुबैलाई खुशी प्रदान गर्नुको साथै दुबैलाई अझ नजिक बनाउँछ ।

-परिवारमा हुने हरेक स-साना कुरा आफ्नो पार्टनरलाई सुुनाउनु हुँदैन । त्यसका साथै हरेक कुरामा आँशु बगाइरहनु पनि राम्रो हुँदैन ।

-प्रेम एउटा त्यस्तो भावना हो, जसले हरेक समस्यालाई सहज बनाइदिन्छ । मागी विवाहमा पनि कहिलेकाहीँ त देख्नासाथ प्रेम हुनसक्छ । त्यस्तै कहिलेकाहीँ सँगै हिँड्दा-हिँड्दै पनि माया बस्न सक्छ । यो माया-प्रेमले जीवनको ठूलोभन्दा ठूलो आँधीसँग लड्ने शक्ति प्रदान गर्छ । माया-प्रेम दिनुभयो भने माया-प्रेम पाउनु पनि हुन्छ ।

-प्रेमको आधार भनेको नै विश्वास हो । पार्टनरलाई विश्वास गर्नुपर्छ र उसको भरोसालाई पनि कायम राख्नुपर्छ । धैर्यतापूर्वक काम लिनुपर्छ । पार्टनर अथवा परिवारको सदस्यहरुको गल्तिप्रति क्षमाशील बन्नुपर्छ । हामीले जस्तो बिउ रोप्छौं, त्यस्तै फल पाउँछौं ।

-विवाह एउटा सम्झौता हो, जसमा तपाईं आफ्नो तनावमुक्त संसारबाट जिम्मेवारी, सम्झौता तथा त्यागको भूमरीमा होमिनुहुन्छ । तर, तिनै कुराहरुले विवाहलाई बलियो पनि बनाउँछ ।

-तपाईं आफ्नो नयाँ परिवारको तुलनामा आर्थिक रुपले धेरै सम्पन्न परिवारबाट आउनुभएको हुन सक्छ । तपाईं धेरै स्मार्ट अथवा हरेक प्रकारले राम्रो हुन सक्नुहुन्छ । तर, तुलनात्मक विचारधारालाई अगाडि आउन दिनु हुँदैन । अब यही नै तपाईंको आफ्नो परिवार हो भन्ने बुझेर त्यही परिवारलाई राम्रो बनाउनतिर लाग्नुपर्छ ।

-सम्बन्धलाई बलियो बनाउनको लागि संवादको मुख्य भूमिका हुन्छ । कहिल्यै पनि आफ्नो पार्टनरलाई झुटो बोल्नु हुँदैन । तपाईंले बोल्नु भएको एउटा झुटले तपाईको लागि ठूलो समस्या उत्पन्न गराउन सक्छ । एक पटक तपाईंको झुट समातियो भने फेरि त्यहि विश्वास पाउन गाह्रो हुन्छ ।

-विवाहको सफलताको लागि दुबै परिवारलाई जोडेर राख्नु पनि तपाईं र तपाईको पार्टनरको जिम्मेबारी हुन्छ । यो त्यो बेलामात्र सम्भव हुन्छ जब दुबै परिवारप्रति स्नेह र आदरको समान भावना हुन्छ ।

-सम्बन्ध सुमधुर बनाउनको लागि हाँसोको महत्वपूर्ण भूमिका हुन्छ । तपाइर्ं आफू पनि आनन्दको अनुभव गर्नुहुन्छ र अरुको मन पनि सजिलै जित्न सक्नुहुन्छ । यी सबै कुराबाहेक केही व्यक्तिगत कुराहरु पनि हुन सक्छन् । जसलाई तपाईं आफैंले उचित ढंगले सुल्झाएर विवाहलाई सफल बनाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment