Comments Add Comment

चिनियाँ टोलीले भन्यो– नेपालका अमिला फलफूल भित्र्याउन समस्या छैन

७ कात्तिक, काठमाडौं । सुन्तला लगायतका नेपाली अमिला समूहका फलफूल चीनको बजारमा पुर्‍याउन कुनै समस्या नरहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । सिन्धुपाल्चोकको तातोपानीमा आयोजित नेपाल–चीन व्यापार सहजिकरण समितिको बैठकमा चिनियाँ अधिकारीहरुले यस्तो प्रत्याभूति दिएका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण क्रममा चीनमा नेपालबाट अमिला फलफूलको आयातको ढोका खोल्ने गरी सम्झौता भएको थियो । विभिन्न समझदारीहरुको कार्यान्वयन तहका जटिलता फुकाउन आयोजित बैठकमा अमिला फलफूल चीन निर्यात गर्नेबारे छलफल भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

उत्पादनको स्वस्थता प्रमाणपत्रको भाषा सर्वमान्य बनाउने, प्रमाणपत्रको विश्वसनीयता कायम गर्ने, भन्सार प्रक्रिया सरल र सहज बनाउने तथा कार्यगत तहमा उत्पन्न हुने समस्या तत्कालै बसेर टुंग्याउन चिनियाँ पक्ष राजी भएको छ ।

दुई देशबीचको ब्यापारका लागि माथिल्लो तहमा भएको सहमति अक्षरस कार्यान्वयन गर्न चिनियाँ अधिकारीले प्रतिबद्धता देखाएको प्रवक्ता महर्जनले बताए । एक दिने छलफलमा व्यापार, क्वारेन्टाईन, सुरक्षा, अध्यागमन लगायतका विषयमा छलफल हुने वाणिज्य मन्त्रालयलले जनाएको छ ।

तत्काल समाधान हुने समस्याको समाधान पहिल्याउने र जटिल विषय उपल्लोस्तरको समितिमा लैजान बैठकले सिफरिस गर्ने छ । छलफलमा वाणिज्य, क्वारेन्टाईन, राष्ट्र बैंक, गृह मन्त्रालय, भन्सार लगायतका गरी २० भन्दा धेरै अधिकारीहरु सहभागी छन् । चिनियाँ टोलीमा पनि २२ जनाभन्दा धेरै अधिकारीहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment