+
+
Shares

कर्णालीले पर्यटनबाटै लाभ लिन सक्छ : उपराष्ट्रपति   

रासस रासस
२०७६ कात्तिक ७ गते १८:५३

७ कात्तिक, सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताएका छन् । सुर्खेतका पर्यटकीयस्थल काँक्रेविहार र बुलबुले उद्यानको बिहीबार अवलोकन गर्दै उनले पर्यटन प्रवर्द्धन गर्नसके कर्णालीले मुहार फेर्ने बताएका हुन् ।

उपराष्ट्रपति पुनले खस भाषाको उत्पत्तिस्थल जुम्लाको सिंजा उपत्यकालाई काँक्रेविहारसँग जोडेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने धारणा राखे । “सिंजाको महत्वबारे विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीभाषीलाई बुझाउन जरुरी छ, सिंजा क्षेत्रले जति महत्व पाउनुपर्ने पर्ने त्यति पाएको छैन”, उनले भने, “कम्तीमा कर्णालीका मुख्य गन्तव्यस्थल रारा, सिंजा र काँक्रेविहारलाई जोडेर पर्यटन प्रवद्र्धन गर्नसके भविष्यमा उचित लाभ पाउन सक्छौँ ।” उनले संसारको जुनसुकै कुनामा बसोबास गर्ने नेपालीभाषी भए पनि कम्तीमा एकपटक आफ्नो भाषाको उत्पत्तिस्थल सिञ्जा क्षेत्रको भ्रमण गराउनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पुनसँगै कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले काँक्रेविहार र बुलबुले उद्यान क्षेत्रको अवलोकन गरेका थिए । काँक्रेविहारमा वीरेन्द्रनगर नगरपालिकाले पञ्चेबाजासहित उपराष्ट्रपतिको स्वागत गरेको थियो । नगर उपप्रमुख मोहनमाया ढकाल, वडाध्यक्ष सुरेश मानन्धरले काँक्रेविहारको विकासको अवस्था र ऐतिहासिक पक्षका बारेमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

उपराष्ट्रपति पुनले शुक्रबार सिंजा महोत्सवको उद्घाटन र हुम्लामा एक विद्यालयको शिलान्यास गर्ने कार्यक्रम छ । यसैबीच, उनले बिहीबार वीरेन्द्रनगर खजुरास्थित एक निजी अस्पतालको उद्घाटन गर्ने कार्यक्रमको तयारी भए पनि अन्तिम समयमा रद्द भएको थियो । अस्पताल सञ्चालनको पूर्वाधार नपुगेको सूचनाका आधारमा उद्घाटन समारोहमा सहभागी नभएको उपराष्ट्रपतिको सचिवालयले जनायो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?