Comments Add Comment

तिलोत्तमा नगरपालिकाले दियो दुग्ध उत्पादक किसानलाई अनुदान

८ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ ।

दूधमा आत्मनिर्भर तिलोत्तमाले व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि बढाएको हो ।नगरपालिकाले दुई वर्षदेखि पशु बीमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको छ ।

अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैयाँको दरले अनुदान दिनेगरी बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले दुग्ध उत्पादक सहकारीमार्फत् किसानलाई अनुदान दिने व्यवस्था मिलाएको हो ।

किसानले एक वर्षमा जति लिटर दूध सहकारीमार्फत् बिक्री गर्छन् सोहीअनुसार अनुदान प्राप्त गर्ने उपप्रमुख जागेश्वरी चौधरीले बताइन् ।

अनुदानलाई व्यवस्थित बनाउन सरोकारवालाहरुसँगको परामर्शमा नगरपालिकाले प्रोत्साहन रकम वितरण कार्यविधि जारी गरेको छ ।

तिलोत्तमामा हाल १९ वटा दुग्ध उत्पादक सहकारीहरु छन् । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ को दूध संकलन विवरणको आधारमा दूध उत्पादन अनुदान वितरण गरेको छ ।

विभिन्न १४ वटा सहकारीले शुक्रबार अनुदान रकम प्राप्त गरेका छन् । बाँकी सहकारीले आवश्यक प्रक्रिया पूरा गरेपछि अनुदान रकम प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्षमा तिलोत्तमाका सहकारीले कुल ३८ लाख ८५ हजार लिटर दुध संकलन गरेका थिए । तिलोत्तमामा वाषिर्क ५० लाख लिटर बढी दुध उत्पादन हुने गर्दछ ।

नगरको टिकुलिगढ दुग्ध उत्पादक सहकारीले वाषिर्क सात लाखभन्दा बढी लिटर दूध संकलन गर्दै आएको छ ।

सहकारीमार्फत् तीन हजार बढी किसानले दूध बिक्री गर्ने गरेको र २७ केन्द्रमा दुध संकलन हुने गरेको सहकारीले उपलब्ध गराएको तथ्यांकमा जनाइएको छ ।

सहकारीले अनुदान रकमलाई किसानलाई भुक्तान गरी त्यसको भर्पाइ विवरण नगरपालिकालाई बुझाउनुपर्नेछ ।

यो व्यवस्थाले तल्लो तहका किसानमा समेत अनुदानको पहुँच पुग्ने नगरपालिकाको विश्वास छ । ‘सहकारी संस्थाहरुको पछिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको आधारमा किसानलाई नगद अनुदान दिनेगरी व्यवस्था गरेका छौं,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले भने, ‘अनुदानले दूध उत्पादन बढाउन किसानलाई प्रोत्साहन मिल्ने छ ।’

शंकरनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले गरीब किसानलाई समेत पुग्ने गरी नगरपालिकाले गरेको अनुदान व्यवस्था अत्यन्त प्रशंसनीय रहेको बताए । ‘सबै किसानको पहुँच पुग्ने गरी अनुदान वितरण गरेर तिलोत्तमाले राम्रो थालनी गरेको छ,’ भण्डारीले भने, ‘अब दूधको लागत घटाउने अन्य कार्यक्रम पनि सुरु गर्नुपर्छ ।’

नगरपालिकाले गाईभैँसीको गोठ सुधार, घाँसखेती, पशुको कृत्रिम गर्भाधान, पशु खोपलगायतका कार्यक्रम पनि चलाइने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment