Comments Add Comment

विद्यालयमा प्राविधिक शिक्षा अपरिहार्य : मुख्यमन्त्री राउत

८ कात्तिक, जनकपुधराम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका विद्यालयहरुमा प्राविधिक शिक्षा पनि लागू गरिने बताएका छन् । प्राविधिक शिक्षाविना प्रदेश समृद्ध हुन नसक्ने बताउँदै उनले विद्यालयहरुमा प्राविधिक शिक्षा अपरिहार्य रहेको बताए ।

धनुषाको मिथिला बिहारी नगरपालिकाको जगरुप साह रामपुकार साह माविका छात्राहरुलाई शुक्रबार साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले संविधानले प्रद्धत गरेको प्राविधिक र उच्च शिक्षा दिने प्रदेश सरकारको अधिकारलाई स्थापित गराउन प्रदेश सरकार छिट्टै प्राविधिक शिक्षा ऐन ल्याउन लागेको बताए । यो ऐन बनेपछि सामुदायिक विद्यालयहरुमा आवश्यकताको आधारमा प्राविधिक शिक्षाको अनुमति प्रदान गर्ने बताए ।

मुख्यमन्त्री राउतले समाजको आधा हिस्सा छोरीहरु शिक्षित र सक्षम नभएसम्म प्रदेश समृद्ध नहुने भएकाले प्रदेश सरकार यस अभियानमा अघि बढिरहेको बताए । मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छोरीहरुलाई शिक्षित र सक्षम बनाउन साइकल वितरण अभियान, छोरी शिक्षा विमा, सामुदायिक विद्यालयहरुमा छात्रा शौचालयको निर्माण अघि बढाइएको उल्लेख गरे ।

छोरीहरु शिक्षित र समक्ष भइसकेपछि उनिहरुलाई रोजगारीमा समान अवसर दिन विभिन्न निकायहरुमा ५० प्रतिशत आरक्षणको व्यवस्था समेत गरेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अबको १५ वर्षपछि महिलाहरुले जिल्ला र प्रदेश चलाएर नमूना कायम गर्ने दाबी समेत गरे ।

उक्त विद्यालयको कक्षा ८ मा अध्ययनरत ६० जना बालिकालाई साइकल वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment