Comments Add Comment

सांसद गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी

१५ कात्तिक, काठमाडौं । संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको काठमाडौंस्थित निवासमा दिउँसै चोरी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको हो ।

उनी बस्दै आएको घर सूचना आयोगको कार्यालयको ठीक अगाडि छ । आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद तथा गरगहना चोरी भएको उनले बताए । बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको गौतमको भनाइ छ ।

गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ ।

चोरी भएको जानकारी प्रहरीलाई गराएपछि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र नयाँबानेश्वर प्रहरी प्रमुखसहितको टोली गौतमको निवासमा पुगेको थियो । प्रहरीले चोरमा संलग्न कसैलाई पनि पक्रेको छैन । यद्यपि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गौतम नेकपाका केन्द्रीय सदस्य एवम् प्रेस संगठनको इञ्चार्ज हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment