Comments Add Comment

छठ पूजासँग सम्बन्धित केही रोचक तथ्य

लोकपर्व छठ अथवा सूर्य षष्ठी पूजा अचेल प्रायः सबैले गर्छन् । केही समय अगाडिसम्म तराईका मानिसहरुले मात्र मनाउने छठ पर्व आज पहाडमा पनि पूर्ण आस्थाका साथ छठ माताको पूजा-आराधना गरि मनाउने गरिन्छ । तर छठ पूजाको मौलिक कुराहरुको बारेमा धेरै मानिस अञ्जान छन् । छठ ब्रत बस्नेहरुको मनमा पनि छठ पूजाको बारेमा धेरै प्रश्न उत्पन्न भएका छन् । छठ सम्बन्धि केही रोचक तथ्यहरु यस्ता छन् :

सूर्यदेव र षष्ठी देवी दुबैको पूजा

छठको ब्रतमा कुन देवी-देवताहरुको पूजा गरिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । छठ पूजाको व्रतमा सूर्य देवताको पूजा आराधना गरिन्छ, जुन प्रत्यक्ष देखिन्छ र समस्त प्राणीहरुको जीवनको आधार पनि हो । सूर्यको साथै षष्ठी देवी अथवा छठ माताको पनि पूजा गरिन्छ । पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा गर्नुको साथै उनीहरुलाई स्वास्थ्य र दीघार्यु बनाउँछिन् ।

यस अवसरमा सूयदेवका श्रीमतीहरु उषा र प्रत्युषालाई पनि अर्घ दिएर प्रसन्न बनाइन्छ । छठ व्रतमा सूर्यदेव र षष्ठी देवी दुबैको पूजा संग-संगै गरिन्छ । त्यसैले छठ माताको पुजा आफैंमा विशेष रहेको छ ।

निःसन्तानहरुलाई सन्तान

सूर्यसंग त सबै परिचित नै छन, तर छठ कुन देवी हुन भन्ने पनि धेरैको मनमा कौतुहलता हुन सक्छ । सृष्टिको अधिष्ठात्री प्रकृति देवीको एउटा प्रमुख अंशलाई देवसेना भनिन्छ । प्रकृतिको छैठौं अंश भएका कारण यी देवीको नाम षष्ठी रहन गयो । षष्ठी देवीलाई ब्रम्हाको मानसपुत्री पनि भनिन्छ । पुराणहरुमा यी देवीको एउटा नाम काल्यायनी पनि हो । यी देवीको पूजा नवरात्रिमा षष्ठी तिथिमा गरिन्छ । षष्ठी देवीलाई नै स्थानीय बोलीको आधारमा छठ माता भनिएको हो, जसले निःसन्तानहरुलाई सन्तान दिन्छिन् र सबै बालबालिकाको रक्षा पनि गर्छिन् ।

छठ माताको पूजाको शुरुवात

छठ माताको पूजाको शुरुवात कसरी भयो र यसको पुराण कथा कस्तो छ भने प्रथम मनु स्वायम्भुवका पुत्र राजा पि्रयव्रतका कुनै सन्तान थिएनन्, जसका कारण उनी दुःखी थिए । महर्षि कश्यपले राजालाई पुत्रेष्टि यज्ञ गर्ने सल्लाह दिए । राजाले यज्ञ गराए, यज्ञपछि महारानी मालिनीले एउटा पुत्रलाई जन्म दिइन् । तर दुर्भाग्य त्यो शिशु मृत जन्मेका थिए । राजाको दुःख देखेर एउटा दिव्य देवी प्रकट भइन् । उनले ती मृत बालकलाई जीवित गरिदिइन् । देवीको त्यस्तो कृपाले राजा धेरै खुशी भएर उनले षष्ठी देवीको स्तुति गरे । यहि समयदेखि छठ माताको पूजाको शुरुवात भयो ।

रावणलाई अन्तिम बाण

शास्त्रमा भगवान सूर्यलाई गुरु पनि भनिन्छ । पवन पुत्र हनुमानले सूर्यसंग नै शिक्षा प्राप्त गरेका थिए । श्रीरामले आदित्य हृदयस्तोत्रको पाठ गरेर सूर्य देवतालाई प्रसन्न गरेपछि मात्र रावणलाई अन्तिम बाण हानेका थिए र विजय भएका थिए ।

श्रीकृष्णका पुत्र साम्बलाई कुष्टरोग

श्रीकृष्णका पुत्र साम्बलाई कुष्टरोग लागेको थियो । त्यस समयमा उनले सूर्यको उपासना गरेर यो रोगबाट मुक्ति पाएका थिए । सूर्यको पूजा वैदिककाल भन्दा पनि पहिलेबाट भएको थियो ।

सूर्यको स्थान

त्यस्ता ६ प्रमुख देवी-देवताहरुमा सूर्यको स्थान रहेको छ, जसको पूजा सबैभन्दा पहिला गर्ने विधान रहेको छ । पञ्चदेवमा गणेश, दुर्गा, शिव, विष्णुका साथमा सूर्य पनि पर्छन् ।

सूर्यले सबैलाई उपकार गर्ने

भगवान सूर्यले सबैलाई उपकार गर्ने, अत्यन्त दयालु छन् । उनले आफ्ना भक्तहरुलाई आयु, आरोग्य, धन-धान्य, सन्तान, तेज, कान्ति, यश, वैभव र सौभाग्य प्रदान गर्छन् । उनले सबैलाई चेतना पनि प्रदान गर्छन् ।

सूर्यको उपासना

सूर्यको उपासना गर्नाले मनुष्यलाई सम्पुर्ण रोगहरुबाट छुटकारा प्राप्त हुन्छ । जसले सूर्यको उपासना गर्छ, उ दरिद्र, दुःखी, शोकग्रस्त र अन्धो हुँदैन । सूर्यलाई बम्हाको तेज पनि भनिन्छ । सूर्यले धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ प्रदान गर्नुको साथै सम्पुर्ण संसारको रक्षा पनि गर्छन् ।

जलको अर्घ

सूर्यको पूजा गर्दा उनलाई जलको अर्घ दिइन्छ । पवित्र नदीहरुको जलले सूर्यलाई अर्घ दिने र नुहाउनुको विशेष महत्व रहेकेा छ । वास्तवमा यो पूजा कुनै पनि सफा स्थानमा गर्न सकिन्छ ।

घरको आँगन र छतमा पनि छठको पूजा

यस्तो भिडबाट बच्नका लागि हिजोआज घरमा नै छठको पूजा गर्ने चलन बढ्दै गएको छ । धेरै मानिसहरु घरको आँगन र छतमा पनि छठको पूजा र व्रत बस्ने गर्छन् । व्रतालुहरुको सुविधालाई ध्यानमा राखेर घरमा नै छठ पुजाको व्यवस्था गरिन्छ ।

परिवारको कल्याणको कामना 

महिलाहरु अनेक कष्ट सहेर आफ्नो परिवारको कल्याणको कामना गर्न सक्छिन् । यसको साथै पूजाको हरेक विधी महिलाहरुले राम्रोसंग पुरा गर्न सक्छन् । यसलाई महिलाको त्याग-तपको भावनासंग सम्बन्धित भएको मान्न सकिन्छ ।

सन्तानको कामना

छठ पुजा जो कोहिले पनि गर्न सक्छ । यो पूजाको लागि महिला-पुरुष भन्ने हुँदैन । तर महिलाहरु सन्तानको कामना अथवा सन्तानको स्वास्थ र उनीहरुको दीघार्युको लागि समस्त विधि पुरा गर्दै पुर्ण श्रद्धाका साथ छठ पूजा गर्छन् ।

हरेक वर्ग र जातिमा गहिरो श्रद्धा

सूर्यले सबै प्राणिहरुलाई समान रुपले कृपा गर्छन् । उनले कुनै किसिमको भेदभाव गर्दैनन् । यो पूजामा वर्ण अथवा जातिको आधारमा भेद छैन । यो पूजाप्रति समाजको हरेक वर्ग र जातिमा गहिरो श्रद्धा देखिन्छ ।  सबै मिलेर संग-संगै यो पूजामा सहभागि हुन्छन् । हरेक जाति अथवा धर्मका मानिसले यो पूजा गर्न सक्छन् ।

अस्ताउँदै गरेको सूर्यको पूजा

सूर्य षष्ठी व्रतमा मानिसहरु उदाउँदै गरेको सूर्यको पनि पूजा गर्छन् भने अस्ताउँदै गरेको सूर्यको पूजा पनि उत्तिकै श्रद्धाका साथ गरिन्छ । यसमा विभिन्न किसिमको संकेत लुकेको छ ।

जातिय आधारमा कहि-कुनै भेदभाव छैन

यो पूजामा जातिय आधारमा कहि-कुनै भेदभाव छैन । समाजमा सबैलाई समान दर्जा दिइएको छ । सूर्य देवतालाई बाँसबाट बनेको सूप र डालोमा राखेर प्रसाद अर्पित गरिन्छ । ती कुराहरु सामाजिक रुपले अत्यन्त पिछडिएका जातिहरुबाट निर्मित हुन्छन् । त्यसले सामाजिक सन्देश कस्तो दिएको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

चैती छठ

कार्तिक महिना बाहेक यो पूजा-व्रत चैत्र शुक्ल पक्ष चतुर्थीदेखि सप्तमीसम्म पनि गरिन्छ । त्यसलाई सामान्य बोलीचालीको भाषामा चैती छठ भनिन्छ ।

कष्टी देना

यो पूजामा केही मानिस जमिनमा बारम्बार सुतेर, कष्ट सहँदै नदीको किनारमा जान्छन् । सामान्य बोलीचालीको भाषामा यसलाई कष्टी देना भनिन्छ । प्रायः त्यस्तो त्यहि समयमा हुन्छ, जब कसैले कुनै भाकल गरेको हुन्छ ।

शारीरिक र मानसिक तयारी

कार्तिक शुक्ल चतुर्थीबाट छठको व्रतको थालनी हुन्छ । यो दिन व्रत गर्ने व्यक्ति र घरका सबै परिवारले दाल, चामल र लौकाले बनेको व्यञ्जन प्रसादको रुपमा ग्रहण गर्छन् । वास्तवमा यो तीन दिनसम्म छठ पूजाको लागि शारीरिक र मानसिक तयारी हो ।

सख्खरबाट बनेकेा खीर

दोस्रो दिन, कार्तिक शुक्ल पञ्चमीको दिन साँझमा मुख्य पूजा हुन्छ । यसलाई खरना भनिन्छ । प्रसादको रुपमा उखुको रस अथवा सख्खरबाट बनेकेा खीर चढाइन्छ । धेरै घरहमा चामलको पिठोबाट बनेको परिकार पनि बनाइन्छ । मानिसहरु छठको पूजा गरिएको घरमा गएर प्रसाद ग्रहण गर्छन् ।

नदीमा डुबेर सूर्यलाई अर्घ

तेस्रो दिन कार्तिक शुक्ल षष्ठीको साँझमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइन्छ । यो दिन व्रतालुसंगै अन्य मानिस पनि नदीमा डुबेर सूर्यलाई अर्घ दिन्छन् ।

चौथो दिन कार्तिक शुक्ल सप्तमीको दिन उदाउँदै गरेेको सूर्यलाई अर्घ दिएर नमस्कार गर्दै यो व्रत समाप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment