Comments Add Comment

दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा, निर्माण कार्यमा रोक, विद्यालय बन्द

१६ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरिएको छ । त्यहाँकाे वायु प्रदूषणस्तर बढेपछि अरबिन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरेको हो ।

दीपावलीपछि  दिल्लीको वायु निकै प्रदूषित बनेको छ । समाचारहरुमा जनाइएअनुसार यहाँको वायुमा खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मानकभन्दा २० गुणा ज्यादा भेटिएको छ ।

वायु प्रदूषण बढेपछि सर्वसाधारणले यतिबेला स्वास फेर्न कठिनाइ झेलिरहेका छन् । अस्पतालमा बिरामीको संख्या पनि उत्तिकै मात्रामा बढेको छ ।

वायुको गुणस्तरमा आएको गम्भीर गिरावटपछि त्यहाँको सर्वोच्च अदालतको एक प्यानलले दिल्ली र दुई छिमेकी राज्यहरूका केही काममा प्रतिबन्ध लगाउने आदेश दिएको छ।

विद्यालय बन्द

दिल्लीमा वायु प्रदूषणको मात्रा बढेपछि त्यसबाट विद्यार्थीहरूलाई जोगाउन विद्यालयमा मास्क वितरण गरिएका थियो । प्रदूषण दर घट्नुको साटो बढ्दै गएपछि यसपटक भने विद्यालय नै बन्द गर्ने निर्णय गरिएको छ । बीबीसी हिन्दीका अनुसार, दिल्लीका विद्यालयले ६ नोभेम्बरसम्मका लागि बन्द रहने सूचना जारी गरेका छन् ।

त्यहाँको पर्यावरण प्रदूषण रोकथाम प्राधिकरण (ईपीएस) ले पनि निर्माण कार्यमा रोक लगाएको छ । उसले ६ नोभेम्बरसम्मका लागि सबै किसिमका निर्माण कार्यमा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment