Comments Add Comment

पोखराका फुटपाथमै पसल, हटाउन सातदिने ‘अल्टिमेटम’

१८ कात्तिक, पोखरा । पोखरा महानगरको सबैभन्दा व्यस्त व्यापारिक क्षेत्र लेकसाइडपछि महेन्द्रपुल–चिप्लेढुंगालाई मानिन्छ । जहाँ दैनिक हजारौं सेवाग्राही, उपभोक्ताको भीड थामिनसक्नु हुन्छ । छिचोल्नै गाह्रो हुने भीडमा सडक पेटीमै अस्तव्यस्त तरिकाले व्यापारीले पसल राखिदिँदा यात्रुलाई झनै सास्ती हुने गरेको छ ।

‘एक त हिँड्ने बाटोमै पार्किङ गरिएको हुन्छ । त्यसमाथि व्यापारीले फुटपाथमै व्यापार गरिदिँदा हिँड्नै गाह्रो हुन्छ,’ महेन्द्रपुलमा भेटिएका एक यात्रुको गुनासोे थियो, ‘सटर भाडामा लिएर व्यापार गरिरहेका पसलेले समेत आधा बाटोसम्मै सामान थुपारेका हुन्छन् ।’ फुटपाथमा राखिएका सामानमात्रै हटाइयो भने पनि व्यवस्थित देखिने उनको भनाइ थियो ।

यो समस्या महेन्द्रपुलमा मात्रै नभई चिप्लेढुंगा, बगर, पृथ्वीचोक, सिर्जनाचोक, सिद्धार्थ चोकको साझा समस्या हो । महानगरले पैदलयात्रीका लागि कुनै ठाउँमा अपांगमैत्री फुटपाथ बनाइसकेको छ भने कुनै ठाउँमा निर्माणाधीन छ । तर, हिँड्नलाई बनाएका ती बाटोमा व्यापारी र सवारी चालकले ठाउँ ओगट्दा यात्रु समस्यामा पर्ने गरेका छन् ।
यो पनि पढ्नुहोस पोखरामा पार्किङस्थलका लागि सडक नै ठेक्कामा !

उसो त सडक पेटीमा राखिएका पसल महानगरले यसअघि नहटाएको भने होइन । साविक पोखरा उपमहानगरले २०७१ सालमा पोखराका मुख्य बजार क्षेत्रका फुटपाथ पसल हटाएको थियो । तर, एकपटक हटाइसकेपछि सोही योजनालाई निरन्तता दिन नसक्दा समस्या दोहोरिएको छ । प्रत्यक्षदर्शीका अनुसार तत्कालीन समयभन्दा अहिले फुटपाथ व्यापारीको संख्या उल्लेख्य वृद्धि भएको छ ।
चिप्लेढुंगामा व्यापार गरिरहेका एक व्यापारीले भने, ‘नगर प्रहरी आउँदा हटाएको जस्तो गर्छन् । उनीहरु गइसकेपछि फेरि सामान सडकमा ल्याउन थालिहाल्छन् ।’ नगर प्रहरीको लापरबाहीले गर्दा पनि फुटपाथ समस्या समाधान हुन नसकेको उनी सुनाउँछन् ।

फुटपाथ पसल हटाउने महानगरको निर्णय

पोखरा महानगरले सडक छेउका अनाधिकृत र अव्यवस्थित फुटपाथ पसल हटाउने निर्णय गरेको छ । कात्तिक ७ गते महानगरको ट्राफिक व्यवस्थापन गर्नेबारे बसेको बैठकले सबै फुटपाथ पसललाई हटाउने निर्णय गरेको हो ।

महानगर ट्राफिक व्यवस्थापन समिति, नगर प्रहरी, जिल्ला ट्राफिक प्रहरी, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघलगायतको संयुक्त बैठकले फुुटपाथ पसल हटाउने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका फुटपाथहरु अतिक्रमण गरी व्यवसायहरु सञ्चालन भइरहेको पाइएको छ र यसले सहरको सुन्दरतामा ह्रास आइरहेको छ,’ निर्णयमा भनिएको छ, ‘यसले बटुवाहरुको यात्रालाई असहजता भएकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहयोग लिएर फुटपाथ पसल हटाउने निर्णय भएको छ ।’

माइक्रोबस स्टेसन हटाउने निर्णय कार्यान्वयन भएन

महानगरले पृथ्वी चोकमा रहेको माइक्रो बस स्टेसन पनि ‘तत्काल’ हटाउने निर्णय गरेको थियो । तर सो निर्णय कार्यान्वयनमा आइसकेको भने छैन । ‘मैले ट्राफिक प्रहरीलाई सो स्टेसन हटाउन जिम्मा दिएको हुँ । निर्णय अनुसार ८ गते नै हटिसक्नुपर्ने हो,’ महानगर ट्राफिक व्यवस्थापन प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘अब केही दिनमै हटिसक्छ । म फेरि बुझ्छु ।’ महानगरले चिप्लेढुंगास्थित चौतारो वरिपरिसमेत कुनै व्यापार गर्नै नपाउने निर्णय गरेको छ ।

७ दिनभित्र फुटपाथ छोड्न ‘अल्टिमेटम’ !
पोखरा महानगरले फुटपाथमा पसल गरिरहेका व्यापारीलाई ७ दिनभित्र फुटपाथ छोड्न पत्राचार गरेको छ । आइतबार महानगरका नगर प्रहरी, जिल्ला ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ लगायतको प्रतिनिधिले सडकका व्यापारीलाई सडक छोड्न ‘अल्टिमेटम’ दिएका हुन् ।

महेन्द्रपुल, पालिखेचोक, चिप्लेढुंगा, सिद्धार्थचोक, न्युरोड, पृथ्वीचोक, सिर्जनाचोक, बिरौटा, बगरलगायतका बजार क्षेत्रका फुटपाथमा व्यापार गर्न नपाइने र अटेरी गरेमा कारबाही गरिने महानगरले चेतावनी दिएको छ । ‘दिइएको समयभित्र पसल नहटाए महानगरले कारबाही प्रक्रिया अघि बढाउँछ,’ फुटपाथ पसल हटाउन गठित समिति संयोजक तथा महानगर निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले भने, ‘अटेरी गरे ५ हजारदेखि १० हजारसम्म जरिवाना गरी कारबाही गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment