Comments Add Comment

बुटवलमा २ करोड लगानीमा लेभिज लाउञ्ज

१८ कार्तिक, बुटवल । प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीमा ठूला लगानीका होटेल तथा रेष्टुरेन्ट खुल्ने क्रम बढ्दो छ । बुटवलको गोलपार्कमा दुई करोड लगानीमा लेभिज लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।

साइप्रसमा होटल म्यानेजमेन्टमा ग्राजुएट गरेका तीनजना सहित पाँच युवाको संयुक्त लगानीमा स्तरीय लाउञ्ज सञ्चालनमा आएको हो । यसअघि बुटवलमा दुईवटा र चितवनमा एउटा गरी तीवटा रेष्टुराँ र क्याफे सञ्चालन गरिसकेको लाइम एण्ड लेमन ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा लेभिज लाउञ्ज सञ्चालनमा आएको हो ।

लाउञ्जको क्रिकेटर शक्ति गौचन र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले संयुक्तरुपमा उद्घाटन गरे । बुटवल बजारको भन्दा शान्त, शीतल र स्वच्छ वातावरण रहेको गोलपार्कमा निकट भविष्यमै पाल्पा जाने सुरुङमार्ग र बसन्तपुर जाने केबुलकार बन्न लागेकाले स्तरीय रेष्टुरेन्टको राम्रो संभावना देखेर लगानी गरेको अध्यक्ष रोमित बज्राचार्यले बताए । लाउञ्जमा रोमित बज्राचार्य, सागर पौडेल, लोकेश शाक्य, अमृत गुरुङ र गोविन्द देवकोटाको लगानी रहेको छ ।

करिब तीन कठ्ठा क्षेत्रफलमा रहेको लाउञ्जमा बाल उद्यान सहितको पर्याप्त पार्किङ स्थल उपलब्ध रहेको सञ्चालक सागर पौडेलले बताए । लाउञ्जमा मःमः फेस्टिबल, विद्यार्थीका लागि क्वीज कन्टेस्ट जस्ता कार्यक्रम सञ्चालन गरिने र आम्दानीको १० प्रतिशत सामाजिक काममा खर्च गरिने पौडेलले बताए । लाउञ्जमा ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

रात्रीकालीन व्यवसाय गर्न नदिए अदालत जान्छौं

लाउञ्जको उद्घाटन गर्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जीसीले अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बुटवल र भैरहवामा रात्रीकालीन व्यवसाय गर्न दिनुपर्ने माग गर्दै नदिए अदालत जाने तयारीमा रहेको बताए । काठमाडौं, पोखरा र  चितवनमा रात्रीकालीन व्यवसाय सञ्चालन भइरहेको उदाहरण दिँदै उनले बुटवलमा पनि दिनुपर्ने माग गरे ।

अन्तराष्ट्रिय विमानस्थल निर्माणसँगै रुपन्देहीमा दुई वर्षको अवधिमा मात्रै ठूला लगानीका करिब दुई सय होटेल र रेष्टुरेन्ट खुल्ने क्रममा रहेकाले कम्तीमा १२ बजेसम्म होटल र रेष्टुरेन्ट चल्न दिनुपर्ने बताए । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधव खनालले सशष्त्र युद्धको बेलाको नियम अहिले पनि लागु गरेर प्रहरी प्रशासनले साढे ९ बजे नै होटेल बन्द गराउंदा सेवाग्राही र व्यवसायी दुबैलाई मार परेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment