Comments Add Comment

पञ्चवर्षीय गढीमाई मेलाको विवाद सुल्झियो

नगरपालिका र विकास समिति दुवै पक्ष मिलेर मेला लगाउने

१८ कात्तिक, वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा मंसिरमा सञ्चालन हुन गईरहेको पञ्चवर्षीय मेला सञ्चालन सम्बन्धी विवाद टुंगिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न महागढीमाई नगरपालिका र गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिबीच सहमति भएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलको रोहबरमा दुवै पक्षले ७ बुँदे सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् । सहमति पत्रमा प्रजिअ पोखरेल, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव र समितिका अध्यक्ष रामचन्द्र साह तेलीले हस्ताक्षर गरेका हुन् ।

मेला सञ्चालनको विषयमा नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र समितिबीच लामो समयदेखि विवाद चल्दै आएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्था अनुसार नगरपालिकाले आफै मेलाको व्यवस्थापन गर्ने अडान लिँदै वडा नं १ का अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा मूल समिति बनाएको थियो ।

अर्को तर्फ समिति विगतमा जस्तै मेला व्यवस्थापन गर्ने अडानमा थियो । विभिन्न राजनीतिक दलका नेताहरूपनि सोही अनुसार पक्ष विपक्षमा लविङ गरिरहेका थिए । मेलाको सन्दर्भमा प्रदेशका मन्त्री, सांसद र प्रदेशसभा सदस्य लगायतको चासो रहँदै आएको छ ।

सहमति पत्रको पहिलो बुँदामा मेला सञ्चालन समितिको अध्यक्षमा वडा अध्यक्ष सुदामा साह कानुलाई नै मनोनयन गर्ने, उपाध्यक्ष दुईजना थप गर्ने र त्यसमा समितिको तर्फबाट मनोनयन गर्ने, अन्य पदाधिकारीहरु सबैमा समितिले नामावली उपलब्ध गराई एक–एक जना थप गर्ने उल्लेख छ ।

दोस्रो बुँदामा मेलाबाट उठेको रकम व्यवस्थापन गर्न कोष खडा गर्ने, जसमा नगरपालिकाको तर्फबाट दुईजना र समितिको तर्फबाट दुईजना सदस्य रहने, चरजना मध्य दुवैतर्फबाट १/१ जनाको अनिवार्य दस्तखत रहने गरी कोष खाता सञ्चालन गर्ने उल्लेख छ ।

मेला सञ्चालनबाट उठेको रकम गढीमाई क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने, मेला सञ्चालनको लागि गठित विभिन्न उपसमितिहरु मध्ये मनोरञ्जन उपसमितिको गठन नगरपालिकाबाट र जग्गा व्यवस्थापन उपसमितिको गठन समितिले गर्ने, मेलालाई सु–व्यवस्थित रुपमा सञ्चालन गर्ने दायित्व दुवै पक्षको हुने, मेला सञ्चालनका लागि गठित समिति, उपसमिति तथा अन्य निकायमा रहने पदाधिकारी तथा सदस्यहरुले नगरपालिकाको नीति निर्देशन पूर्ण रुपमा पालना गर्नुपर्ने सहमति भएको छ ।

त्यस्तै मेलाको पूर्व सन्ध्यामा एक अर्काविरुद्ध परेका उजुरी फिर्ता लिई सहयोगी वातावरण तयार गरी भव्य र सभ्य रुपमा मेला सञ्चालन गर्न दुवै पक्ष सहमत भएका छन् ।

सहमति अनुसार सोमबार १४ वटा उपसमिति गोला प्रथाबाट बाँडफाँड समेत भइसकेको मूल समितिले जनाएको छ ।

महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवले विकास समिति विधिको शासन मान्न तयार भएकोले सहमति गरेको जानकारी दिए । ‘ विकास समितिले विधिको शासन विपरित मेला लगाउने जिद्धि गरिरहेको अवस्था थियो,’ नगर प्रमुख यादवले भने, ‘ नगरपालिकाले गठन गरेको समितिमै समाहित भएर मेला लगाउन उनीहरु तयार भएका छन् । मेला सेवा भावले लगाउने हो, कमाउने मनशायले कोहि पनि नआउनु भनेर भनेको छु ।’

विकास समितिका अध्यक्ष रामचन्द्र साहले मेला व्यवस्थित गर्न दुवै पक्ष मिलेर जाने सहमति भएको बताए ।

बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले दुवै पक्षलाई सहमतिमा ल्याएर मेला सञ्चालनका लागि सकारात्मक वातावरण तयार पारिएको बताए । ‘कानुनले नगरपालिकाले मेला लगाउन सक्ने अधिकार दिएको छ, पहिलेदेखि नै मेला लगाउँदै आएको समितिबीच विवाद थियो । विवादका कारण अप्ठेरो स्थिति र्सिजना भईरहेको थियो,’ प्रजिअ पोखरेलले भने, ‘ दुवै पक्ष समन्वय गरेर काम गर्न तयार भएका छन् ।’

गढीमाई मन्दिरलाई सरकारले पर्यटकीय क्षेत्रको सूचीमा राखेको भएपनि पर्यटकलाई तान्न सक्ने पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेको छ ।

गढीमाई मन्दिरमा प्रत्येक ५।५ वर्षमा ठूलो मेला लाग्ने गर्दछ । झण्डै ३ सय वर्ष पुरानो मेलामा हजारौंको संख्यामा राँगा, बोका, हाँस, कुखुरा र मुसा गरी पाँच किसिमका पशुपंक्षीहरूको बली दिने गरिन्छ । मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुने मेलामा नेपालका मात्रै नभएर भारतबाट समेत लाखौँ दर्शनार्थीको ओइरो लाग्ने गरेको छ । यसवर्ष मंसिर १७ र १८ गते बली दिने दिन तय भएको छ ।

किम्बदन्ती अनुसार एकजना स्थानीय भूमिपतिलाई तत्कालीन मकवानपुरका राजाले बन्धक बनाएका थिए । भूमिपतिले सपनामा गढीमाई मन्दिरमा गएर रगत चढाए सबै कुरा पूरा हुन्छ भन्ने सपना देखेका थिए । नभन्दै उनी बन्धक मुक्त भई गढीमाई मन्दिरमा गई आफ्नो जीउको पाँच ठाउँमा खोपेर रगत चढाएका थिए ।

त्यहि बेलादेखि हरेक पाँच वर्षमा गढीमाई मेला गरिँदै आएको जनविश्वास छ । तर पछि मानिसको रगतको साटो पाँच किसिमको पशुपंक्षीको बली दिने गरिएको छ । संसारको सबैभन्दा बढी बली हुने मन्दिरको रुपमा परिचित भएपछि गढीमाईमा हुने बलीको पशुअधिकारवादीहरुले विरोध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment