Comments Add Comment

अर्थमन्त्रीको चाहना – गभर्नरमा खनाल, सचिवमा ढुंगाना !

१८ कात्तिक, काठमाडौं । गभर्नरको कार्यकाल  पाँच महिना बाँकी हुँदा अब नेपाल राष्ट्र बैंकको नेतृत्वमा को पुग्ने भन्ने चर्चा व्यापक भइसकेको छ ।

नयाँ गभर्नरको आकांक्षीका रुपमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, राष्ट्र बैंककै पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशकद्वय मीनबहादुर श्रेष्ठ भाष्करमणि ज्ञवालीलगायत छन् ।

गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै आउँदो चैतमा अवकाश पाउँदैछन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा भने बहालबाला अर्थसचिव डा. राजन खनाललाई गभर्नर बनाउने सोचमा रहेको स्रोतले बताएको छ । कांग्रेसनिकट गभर्नर नेपालसँग राम्रो सम्बन्ध नभएका अर्थमन्त्री अब आफ्नो अनुकुल व्यक्तिलाई सो पदमा ल्याउन चाहन्छन् । स्रोतका अनुसार आफूलाई धेरै सहयोग गरेका कारण खनाललाई उनले गभर्नर बनाउने आश्वासनसमेत दिएका छन् ।

खनालले आगामी माघ २२ गते नेपाल सरकारको सचिव पदबाट अवकाश पाउँदैछन् । उनले अवकाश पाएपछि रिक्त हुने अर्थसचिवमा भने राजश्व सचिव शिशिर ढुंगानालाई ल्याउने सोच अर्थमन्त्रीको छ ।

ढुंगाना यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । राजस्व सचिववबाट प्रधानमन्त्री कार्यालयमा गएको १० महिनापछि उनी पुनः सोही पदमा फर्किएका हुन् । त्यसपछि ढुंगानालाई नै अर्थ सचिव बनाउने योजनासहित फर्काइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार पठाएको पत्रपश्चात सोमबार नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरमाथि छानविन गर्न समिति गठन गरेको  छ । समिति गठनसँगै डेपुटी गभर्नर श्रेष्ठ बर्खास्तीमा पर्ने चर्चा छ । गर्भनरको प्रतिस्पर्धाबाट आफूलाई पन्छाउन कारवाहीको तरबार देखाइएको श्रेष्ठले दावी गरिरहेका छन् । यद्यपि, उनी गभर्नर बन्ने सम्भावना यसै पनि न्यून थियो ।

नयाँ डेपुटी गभर्नरमा लक्ष्मी प्रपन्न !

छानविन समितिले डेपुटी गभर्नर श्रेष्ठलाई बर्खास्त गर्नु पर्ने निश्कर्ष निकालेमा सो पद पनि रिक्त हुनेछ । यद्यपि, कस्तो निश्कर्ष आउछ अहिले नै भन्न सकिने अवस्था छैन ।

डेपुटी गभर्नरको पनि राजनीतिक नियुक्ति नै हुने भएकाले यदि श्रेष्ठ पदमुक्त भएमा अर्थमन्त्रीले आफू निकट नै नियुक्त गर्ने सम्भावना छ । राष्ट्र बैंक सञ्चालक समितिले गरेको सिफारिसका आधारमा सरकारले वर्तमान कार्यकारी निर्देशकमध्येबाट नयाँ डेपुटी गभर्नर नियुक्त गर्नेछ ।

नयाँ डेपुटी गभर्नरको प्रवल दाबेदारका रुपमा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला देखिएका छन् । उनी अन्य कार्यकारी निर्देशक भन्दा वरिष्ठ हुन् ।

अर्थमन्त्री खतिवडा गभर्नर छँदादेखि नै निरौला उनको नजरमा परिसकेको अर्थ मन्त्रालय स्रोत बताउँछ ।

उनी डेपुटी गभर्नरमा नियुक्ति भए पनि धेरै लामो समय भने राष्ट्र बैंकमा बस्न पाउने छैनन् । उनको कार्यकाल करिब डेढ वर्षको मात्रै हुनेछ । निरौलाले ०४६ माघ ८ गते राष्ट्र बैंकको नोकरी सुरु गरेका थिए । उनी ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

श्रेष्ठको ठाउँमा नियुक्त भए उनको कार्यकाल छोटो हुने भएकाले नेकपा निकटकै अन्य कुनै कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर नियुक्त गर्न सक्ने सम्भावनासमेत छ । श्रेष्ठको कार्यकाल डेढ वर्षमात्रै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment