Comments Add Comment

चालकको लापरबाहीले सुकुटे बस दुर्घटना, १७ जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा १७ जनाको मृत्यु  हुने गरी भएको बस दुर्घटनाको कारण चालकको लापरबाही भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

कालोपत्रे सडक भए पनि घुम्ती र साँघुरो स्थानमा पनि तीब्र गतिमा सवारी चलाएका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोकको प्रारम्भिक निष्कर्ष छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले चालकले संयमित भएर सवारी चलाएको नदेखिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘घुम्ती र साँघुरो बाटोमा होसियारीपूर्वक सवारी चालाउनुपर्नेमा तीब्र गतिमा चलाइएको देखिन्छ ।’

उनले सवारी चालकलाई लक्षित गरेर सचेतनामुलक अभियान निरन्तर चलाइए पनि ‘स्टेरिङ’मा पुग्नेवित्तिकै चालकले ती कुरा भुल्ने गरेको गुनासो गरे । यद्यपि, प्रहरीले सवारी चालकको बयान लिइसक्न भने भ्याएको छैन ।

रक्ताम्मे अवस्थामा चालकको उद्दार गरिएको थियो । तर, प्रारम्भमा स्वास्थ्य उपचार नै महत्वपूर्ण हुने भएकाले अहिले बयान नलिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एक अधिकृतले बताए ।

दुर्घटनाका एक घाइतेको बयानले दुर्घटनामा परेको बा २ ख ७२४५ नम्बरको बसमा यात्रिन्क समस्या पनि हुनसक्ने देखिन्छ । घाइते निराग श्रेष्ठले बनेपा अस्पतालबाट अनलाइनखबरसँग बयान दिँदै दुर्घटनाको पाँच मिनेटअघि गाडी विग्रिएको बताए ।

उनले भने, ‘चक्का कि के छोयो भनेर बनाउन लागेको थियो । त्यतिवेला पेच थिएन रे । पछि बनाएर हिँड्यौं ।’

श्रेष्ठले घटनाबारे यसरी वेलिविस्तार लगाए:–

दुर्घटनाभन्दा अगाडि पनि गाडी विग्रिँदा खेरि चक्का कि के छोयो भनेर बनाउन लागेको थियो । त्यतिवेला पेच थिएन रे । त्यो पांग्राको भन्थ्यो । पछि आधा बनाएर हिँड्यौं । खाना खाएर हिँड्ने वित्तिकै ५ मिनेट जति हिँडेपछि घच्याक्क गर्‍यो । अनि, सबै गन्ट्याङ् गुन्टुङ्ग पस्यौं ।

दुर्घटना स्थलबाट म उठ्दा एक जना बच्चा छेऊ मरेको थियो । अरु सानो सानो बच्चाहरु गाडीमाथि रोइरहेका थिए । मेरा साथीहरु चाहिँ निस्किँदै थिए । कोहीलाई बगाइरहेको थियो । बगाइ रहेकाहरुलाई र्‍याफिटिङबाट आएकाले निकालिरहेका थिए ।

पहिले सुरुमा धेरै चोटपटक भएकालाई पठाइदियो । हामी चाहिँ अलिकम घाइते भएकाले दोस्रो पटक एम्बुलेन्समा हालेर पठाइएको थियो । हामी दोलखाको देउरालीबाट काठमाडौंका लागि बसमा बढेका थियौं ।

मृतकको संख्या १७ पुग्यो

दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् ।

उनका अनुसार मृत्यु हुनेमा दोलखाकी २४ वर्षीया रञ्जिता केसी, सिन्धुपाल्चोककी अन्दाजी २७ वर्षीया चमेली श्रेष्ठ, उनकी छोरी ६ वर्षीया शाहीरामी श्रेष्ठ, ३ महिनाको शिशु सिसन तामाङ, दोलखाकी ५०÷५१ वर्षीया रक्तकुमारी रावत छन् ।

त्यस्तै, धुलिखेल अस्पताल र श्रीमेमोरियल अस्पताल बनेपामा तेजकुमारी बस्नेत र सुनिला तामाङ छन् । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्दार कार्यमा खटिएका थिए । नदीमा डुबेको बसलाई क्रेनको सहयोगले बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार बस सडकबाट ३५ मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment