Comments Add Comment

अटोमेटिक पेस्तोलसहित मोरङबाट २ जना पक्राउ

१८ कात्तिक, विराटनगर । लोड गरिएको अटोमेटिक पेस्तोलसहित मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका– २ का २३ वर्षीय सुरज भनिने बिक्कीकुमार भगत र धनपालथान गाउँपालिका– ७ का २८ वर्षीय मुकेशकुमार मण्डल छन् ।

भगत शनिबार कटहरी– १ सिंघिया खोला पूर्व तर्फ रहेको चौरबाट पक्राउ परेका हुन् । मण्डल आइतबार राति विराटनगर–७ जलजला चोकबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका मण्डल जीवन विकास समाज उदयपुरको रामपुर ठोक्सिलामा फिल्ड सहायाकको रुपमा कार्यरत छन् । बिक्की विराटनगरको एक कपडा पसलमा काम गर्दै आएका थिए । हतियारसहित पक्राउ परेका दुईजना माथि अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

लोड गरेको पेस्तोल बोकेर सांस्कृतिक कार्यक्रममा

प्रहरीले बिक्कीलाई कटहरी गाउँपालिका– १ सिंघिया खोला पूर्व पट्टी रहेको खेल मैदानमा छठ पर्वको अवसरमा आयोजिक सांस्कृतिक कार्यक्रमबाट पक्राउ गरेको हो । शनिबार साँझ आयोजित सांस्कृति कार्यक्रममा उत्छृङ्खल गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिने क्रममा बिक्कीसहित आठ जना पक्राउ परेका थिए । खानतलास गर्ने क्रममा बिक्कीको साथबाट लोड गरिएको अटोमेटिक पेस्तोल, दुईवटा म्यागजिन र एक राउण्ड गोली बरामद भएको  प्रहरी उपरीक्षक अधिकारीले बताए ।

शनिबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा ढुंगा प्रहार भएपछि भागदौड भएको थियो । तर हतियार बोकेका बिक्की भने प्रहरीको अगाडि उभिएर बसेका थिए । संकास्पद लागेपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियार फेला परेको अधिकारीले जानकारी दिए ।

बिक्कीमाथि अनुसन्धान गर्दा मुकेशसँगको कनेक्सन देखिएको  अधिकारीको दाबी छ । प्रहरीसँग बयानका क्रममा बिक्कीले जीवन बिकास समाजमा कार्यरत मुकेशले पेस्तोल राख्न दिएको बताएका थिए ।

बिक्कीको बयानपछि प्रहरीले विराटनगर ७ जलजला चोकबाट मुकेशलाई नियन्त्रणमा लिएको  हो ।

पक्राउ परेका व्यक्तिहरुले छठ पर्वमा कसैलाई गोली प्रहार गर्न आएको हुनसक्ने प्रहरीले बताएको छ ।  प्रहरी उपरीक्षक अधिकारीका अनुसार बिक्की र मुकेशको कनेक्सन नेपाल र भारतका संकास्पद गिरोहसँग पनि देखिएको छ ।

प्रहरीका अनुसार गत असोज १५ गते मोरङको कानेपोखरी गाउँपालिका– ७ प्रगति टोलको भित्री सडक खण्डबाट जीवन विकास समाजमा कार्यरत जुनियर सहायक जयकिसान गनगाइको साथबाट १ लाख १७ हजार ३ सय ६० रुपैयाँ नगद लुटिएको थियो ।

त्यस्तै गत  जेठ १२ गते धरानबाट जीवन विकासकै कर्मचारी शम्भु गच्छदारको साथबाट चारलाख रुपैयाँ लुटिएको थियो । लुटपाटका क्रममा गच्छदारमाथि गोली प्रहार भएको थियो । त्यस्तै गत वर्ष पनि सुनसरीबाटै जीवन विकासको कर्मचारी लुटिएका थिए ।

पछिल्लो तीन घटनामा संलग्नहरु पक्राउ परेका छैनन् ।

प्रहरीले धरान र कानेपोखरीमा भएको लुटपाटको घटनामा दुईजनाको संलग्नताको विषयमा पनि अनुसन्धान सुरु गरेको छ । दुबै व्यक्तीको भूमिका संकास्पद रहेकाले लुटपाटको घटनामा पनि  छानविन सुरु गरिएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment