Comments Add Comment

प्रदूषित वायुले धुम्मियो आकाश, पानी नपर्ने, उडान प्रभावित हुनसक्ने

अरब सागरको ‘माहा’ चक्रवात, नेपाल आइपुग्ला ?

१७ कात्तिक, काठमाडौं । केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशका अधिकांश स्थानको मौसम धुम्मिएको छ । मौसम नखुलेकाले खासगरी धान भित्र्याउने चटारोमा रहेका किसानहरू पानी पर्ने हो कि भनेर चिन्तामा छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, मौसम नखुले पनि वर्षा नै हुने सम्भावना भने तत्काललाई छैन । तर, वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान भने प्रभावित हुनसक्ने खतरा बढेको छ ।

महाशाखाका मौसमविद् वरूण पौडेल वर्षा हुने नयाँ प्रणाली विकसित नभएकाले डराउनु पर्ने अवस्था नरहेको बताउँछन् । ‘अहिलेको प्रणालीले वर्षा हुँदैन, त्यसका लागि नयाँ प्रणाली विकास हुनुपर्छ’, अनलाइनखबरसँग उनले भने, ‘तर, तत्काल वर्षा हुने प्रणाली विकास हुने सम्भावना छैन ।’

भारतको प्रदूषणको असर नेपालसम्म

पछिल्लो समय देशका अधिकांश स्थानमा तुवालो लागेको छ । प्रदूषण बढ्दा काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा तुवालो लागेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

‘हावाहुरी चल्ने मौसममा वायुमण्डलमा भएको प्रदूषण उडाएर लैजान्छ र तुवालो देखिँदैन’, मौसमविद् पौडेलले भने, ‘तर, अहिले हावाहुरीको मौसम नभएकाले प्रदूषण बढेको छ । त्यही प्रदूषणका कारण वायुमण्डलको पारदर्शिता घटेको छ ।’

केही दिनदेखि बढेको प्रदूषण छिमेकी मुलुक भारतका लागि टाउको दुखाइको विषय बनेको छ । वायुमण्डल प्रदूषित भएपछि दिल्ली सरकारले सार्वजनिक स्वास्थ्य क्षेत्रमा संकटकाल नै घोषणा गरेको छ । निर्माण कार्यमा प्रतिबन्ध लगाइएको छ भने विद्यालय ६ नोभेम्बरसम्मका लागि बन्द छन् ।

भारतमा बढेको प्रदूषणको असर नेपालसम्मै आइपुग्ने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार, भारतको प्रदूषणको प्रभावले धूलोको कण केही दिन बढ्ने र तुवालो लाग्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय उडान प्रभावित हुने खतरा

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा हावाको पारदर्शिता (भिजिबिलिटी ) को महत्त्वपूर्ण भूमिका रहन्छ । मौसमविदका अनुसार वायुमण्डलको पारदर्शिता ३ हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न मिल्दैन ।

वायुमण्डलको प्रदूषण बढ्दै जाँदा अन्तर्राष्ट्रिय उडान प्रभावित हुने खतरा चिन्ता व्यक्त हुन थालेका छन् । यद्यपि, अहिले नै उडान प्रभावित हुने खतरा भने छैन ।

मौसमविद् पौडेलका अनुसार, नेपालको वायुमण्डलको पारदर्शिता ३ हजार मिटरमा झरेको छ । ‘अन्तर्राष्ट्रिय उडानमा वायुको पारदर्शिता ३ हजार मिटरसम्म हुनुपर्छ । त्योभन्दा कम भएमा उडान प्रभावित हुन्छ । नेपालको वायुमण्डलको पारदर्शिता ३ हजार मिटरबाट तल नझरेकाले तत्काल उडान नै प्रभावित हुने अवस्था भने छैन ।’

अरब सागरको चक्रवात, नेपाल आइपुग्ला ?

नेपाल र भारतका वायुमण्डल प्रदूषित बनिरहेका बेला अरब सागरमा भने चक्रवात देखापरेको छ । मौसमविदहरूका अनुसार, ‘माहा’ नाम दिइएको यो चक्रवात अहिले अरब सागरको दक्षिणपूर्वी भागबाट विकसित भई उत्तर–पश्चिम दिशातर्फ लागेको छ ।

यो चक्रवातले उत्तर–पश्चिम दिशा समाते पनि तत्काल यसको प्रभाव नेपालमा भने नपर्ने मौसमविद् पौडेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment