Comments Add Comment

११ वर्षअघिको बयान नै आलमविरुद्ध बलियो प्रमाण

१८ कात्तिक, काठमाडौं । २३ दिनदेखि प्रहरी हिरासतमा रहेका सांसद मोहमद आफताब आलमले अभियोग त धेरै टाढाको कुरा, २७ चैत ०६४ मा राजपुरमा बम विस्फोट भएको पनि स्वीकार गरेका छैनन् । ०३६ सालदेखि राजनीतिमा लागेको आफू चारपटक सांसद र ६/७ पटक मन्त्री भएको भन्दै उनले प्रहरीलाई दिएको वयानमा भनेका छन्, ‘घटना नै नघटेको हुँदा कसैले देख्ने, घाइते हुने प्रश्नै आउँदैन ।’

सरकारी वकिलको कार्यालय रौतहटले सोमबार जिल्ला अदालत रौतहटमा आलमविरुद्ध बिस्फोटक पदार्थ, ज्यान मार्ने उद्योग र ज्यानमुद्दा गरी तीनवटा मुद्दा हालेको छ ।

प्रहरीले अदालतमा पेश गरेको ३९ पृष्ठ लामो अभियोगपत्रमा आलमसँगै जाहेरवाला, घटना तथा घाइतेहरुलाई देख्ने, घटनाबारे सुन्नेहरुको समेत वयानसमेत समेटिएको छ ।

त्यसमध्ये प्रहरीले बलियो प्रमाण भने प्रत्यक्षदर्शी सराजुल मियाँले २० वैशाख ०६५ मा गरेको कागजलाई मानेको छ । घटनामा मृत्यु भएका भनिएका ओसी अख्तरका बुबासमेत रहेका मियाँले त्यसबेला गरेको सो कागजमा आफ्नो आँखा अगाडि बम बिस्फोट बताएका छन् ।

घटनामा १/२ जनाको मृत्यु र केही घाइते भएको भन्दै उनले भनेका छन्, ‘पिन्टुलाई दायाँ-बायाँ हात र दायाँ तिघ्रामा चोट लागेको र ओसी अख्तरलाई बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको थियो ।’

ओसी र पिन्टुसहितका घाइतेलाई ट्याक्टरमा राखेर इँटाभट्टामा लगेर चिम्नीमा फालेको आफैंले देखेको उनले त्यसबेला नै प्रहरीसामू गरेको कागजमा उल्लेख छ ।

सराजुल मियाँको त्यो वयानको व्यहोरा यस्तो छ-

मिति २०६४/१२/२७ गते बिहान घरबाट आसी अख्तरको खेतमा गहुँ काट्न गएको अवस्थामा निजको आमा रोक्साना खातुनले मेरो छोरा ओसी अख्तरलाई मो. महताब र सेराजले बोलाई लगेको छ, तिमी गएर ल्याई देऊ भनेको हुँदा म मोहम्मद महताब आलमको घरमा गएकोमा लाल महमदले ओसी अख्तर दक्षिण मोहडाको घरमा छ भनी देखाएकोमा सो घरमा जाँदा ढोका बन्द थियो, दिवालको प्वालबाट हेर्दा ओसी अख्तर र दुई कार्टुन बम र १८/२० जना नचिनेका मानिसहरुलाई मेले देखेको हुँ, त्यसपछि मैले ओसी अख्तरलाई बोलाउँदा नचिनेको मानिसले पछि जान्छ, चुप लाग भनेको र ओसी अख्तर नआएको हुँदा सोही नजिक रहेको रुख मुनि बसिहरको अवस्थामा बम विष्फोटन भइ १/२ जनाको मृत्यु भएको र अन्य मानिसहरु घाइते भएको, घाइते मध्ये पिन्टुलाई दायाँ बायाँ हात र दयाँ तिघ्रामा चोट लागेको र ओसी अख्तरलाई बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको थियो, विष्फोटन हुँदा घर ध्वस्त भएको थिएन, छाना टुटफुट भएको थियो ।

ओसी अख्तर र पिन्टु समेतलाई ट्याक्टरमा राखी इँटाभट्टातर्फ लाँदै गर्दा मानिसहरु कराएको सुनेको हुँ र पछि ट्याक्टरबाट जुटको बोरा उठाइ चिम्नीमा फालेको मैले देखेको हुँ ।

यसैगरी विस्फोटमा घाइते सफी अहमदको बयान आलमविरुद्धको मुद्दाको अर्को बलियो प्रमाण हो ।

गाईगोरु भारतसम्म पुर्‍याउन हिँडेका उनी शेख इद्रिसको घर नजिकै पुगेका बेला बम विस्फोटमा परेका थिए । बमको छर्राले उनको पेटमा चोट लागेको थियो । उनको भारतमा लगेर उपचार गरिएको थियो, जसको रिपोर्ट पनि प्रहरीले ल्याएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा गरिएको घाउजाँच परीक्षणले पनि सफीको बयानलाई पुष्टि गरेको छ । प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्की भन्छन्, ‘फेरिन्सक रिपोर्टले पनि घाउ विष्फोटकै कारण भएको निष्कर्ष निकालेको छ ।’

यस्तै, इँटाभट्टाहरुमा काम गर्नेहरु र प्रत्यक्षादर्शीले दिएको बयान पनि अर्को बलियो प्रमाण हो ।

उसो त आलमले घटना भएको नै स्वीकार गरेका छैनन् । तर, तत्कालीन प्रहरी प्रमुख ओमबिक्रम राणा र राजपुरका प्रहरी निरीक्षक इन्द्र सुवेदीको बयानले त्यसलाई खण्डन गरेको छ । दुबैले राजपुरमा बम विस्फोट भएको खबर पाएको बयान दिएकाले आलमविरुद्ध यो अर्को बलियो प्रमाण भएको अधिकारीहरु बताउँछन् ।

घटनाको एक सातापछि अनुगमनका लागि पुगेको राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक लगायतको प्रतिवेदनमा उल्लेख भएका विवरणहरुले पनि बम विस्फोट भएको देआएको छ । त्यसलाई पनि बलियो प्रमाण मानिएको छ ।

पूर्वप्रहरी प्रमुख राणाको वयान

जिल्ला रौतहट राजपुर फरहदवा गाविस वडा नं. ४ हालको राजपुर नगरपालिका वडा नं. ४ स्थित आफ्नै काका शेख ईदि्रसको गोठघरमा मिति २०६४/१२/२७ गते अन्दाजी १८ः३० बजेको समयमा विष्फोट भएको घटना सम्बन्धमा अनुसन्धानका लागि खटी आउनु भएको अनुसन्धान अधिकृतले जानकारी गराइ घटना विवरणबारे जानकारी मात्र गर्नुभएकोमा मलाई सम्झना भएसम्म त्यतिखेर बम विष्फोट भयो, केही मािनस घाइते भएको र केही मृत्यु भएको भन्नेसम्म रिर्पोटिङ भएको थियो भन्ने लाग्छ । र, त्यस्तो रिपोर्टिङ भएपछि निष्पक्ष रुपमा अनुसन्धान गरी कानूनबमोजिम कारबाही गर्नु भने निर्देशन दिएको थिएँ ।

पछि जिल्ला प्रहरी कार्यालय, रौतहटले पूर्वर्मन्त्री मो. अफताव आलम समेतलाई मुद्दा चलाउने रायसहित सरकारी वकिल कार्यालय, रौतहटमा मिसिल पेश गरेकोमा निज अफताब आलम समेतका व्यक्तिहरु हाजिर जमानीमा छुटेको भन्ने सुनेको थिएँ ।

आलमलाई मुद्दा नचलाउने तत्कालीन सरकारी वकिलको कार्यालयको निर्णयलाई सदर गर्ने महान्यायाधिवक्ताको निर्णयलाई नै सर्वोच्च अदालतले नै उल्टाएकाले यो पनि बलियो प्रमाण भएको एक अनुसन्धान अधिकृतले बताए ।

फरदवामा विष्फोटमा ज्यान गुमाएका त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु दर्ता प्रमाणमा पनि जारी भएको देखिन्छ । त्यसक्रममा विष्फोटमा मृत्यु भएको उल्लेख गरिएको भेटिएको छ । यसले पनि विष्फोट भएको हो भन्ने विषयलाई थप पुष्ट्याइँ गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

राजापुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इाटाभट्टामा जिउँदै जलाएको आरोपमा रौतहट २ बाट निर्वाचित सांसद २६ असोजमा पक्राउ परेका थिए । पटकपटक म्याद थप गरेर प्रहरीले गरेको अनुसन्धानका आधारमा आलमविरुद्ध मुद्दा दर्ता भएको छ ।

मंगलबार अदालतमा उनको बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment