Comments Add Comment
प्रत्यक्षदर्शीको बयान :

‘घाइतेलाई भट्टामा जलाए, माकुराको जालो खोज्न पठाए’

Photo Credit : अनलाइनखबर । आलमविरुद्ध अभियोगपत्रको तयारी गर्दै सरकारी वकिल

१८ कात्तिक, काठमाडौं । राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर जिउँदै गलाएको आरोपमा पक्राउ परेका सांसद मो. मो. अफताब आलमले विस्फोट नै नभएको दाबी गर्दै आएका छन् । तर घटना भएको मात्र होइन, घाइतेहरुलाई इँटाभट्टामा हालेर जलाएको बयान इँटाभट्टामा काम गर्नेहरुले दिएका छन् ।

जिल्ला अदालतमा दायर अभियोगपत्रमा राजा इँटा उद्योगमा काम गर्ने राजेश प्रसाद सहनी, लखिन्द्र पटेल, जलिप अन्सारीको बयान पनि समेटिएको छ, जसमा उनीहरुले आलम र उनका भाइ मो. महताब आलमलगायतले विस्फोटमा घाइतेहरुलाई बोरामा हालेर ल्याएको र भट्टामा हालेर जलाएको उल्लेख छ ।

अपराध ढाकछोप गर्न र प्रमाणहरु लुकाउन १२ वर्ष पहिले आलमले के–कस्ता कार्यहरु गरे/गराएका थिए भन्ने सुन्दा कुनै चलचित्रको कथाजस्तै लाग्छ । आलमको अपराध सम्बन्धमा १२ वर्ष पहिले ईंटाभट्टामा काम गरेका तथा बम विस्फोट भएको घर गोठ मर्मत गर्ने मजदुरहरुले प्रहरीलाई दिएको वयानको सारांश यस्तो छः

त्यसपछि माकुराको जालो खोजेर ल्याएँ…

शेख ओलजाहिर (गोठ बनाउने कामदार)

२०६४ सालको संविधानसभाको चुनाव जित्नका लागि भारतीय नागरिक तथा मृतकहरु समेतलाई बोलाई शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विष्फोट भई १५/१६ जना मानिसहरु सख्त घाइते भए । १/२ जना मानिसहरुको मृत्यु भई कुनै मानिसहरुको आँखा, कान, टाउको नरहेको त कोही मानिसहरुको हात खुट्टा नरही घाइते भए ।

निजहरु मध्ये पिन्टु भन्ने त्रिलोक प्रताप सिंहको बाँया खुट्टा समेतमा छर्रा लागी घाइते भएको र ओसी अख्तर मियाँको बायाँ हात समेतमा बमको छर्रा लागी घाइते भई घाइतेहरु छटपटिरहेकोमा प्रतिवादी मो. अफताव आलम, मो. महताब आलम, शेख सेराज, शेख भदई, महमद मोविन आलम समेतका प्रतिवादीहरुले तत्कालै घाइतेहरुलाई बोरामा हाले ।

घटनास्थलमा रहेका मानिसहरुलाई भगाई प्रतिवादीहरुले घाइतेहरु तथा मृतकहरु समेतलाई प्रतिवादी मोहम्मद अफताव आलमले प्रयोग गर्ने गरेको ट्याक्टर गाडीको टेलरमा लोड गरेर आफन्तको राजा इटट उद्योग चिम्नी भट्टीमा लगी जिउँदै जलाएको थाहा पाएको थिएँ ।

शेख ईन्द्रिसको घर बम विष्फोटमा क्षति भएकामा ५/७ दिनपछि प्रतिवादी मो. अफताब आलम समेतका प्रतिवादीहरुले मेरा घरमा आई मलाई बमले क्षति भएको शेख इन्द्रिसको गोठ घरसमेत पुनः निर्माण गरी पहिलाको जस्तै बनाइ देऊ भने । मैले सो गोठ घर निर्माण गर्न नमानेकोमा म र मेरो घर परिवारलाई यी प्रतिवादीहरुले मारिदिने भनी डराई धम्क्याए । डरले गर्दा निज प्रतिवादीहरु र मैले नचिनेको भारतीय नागरिकसमेतको सहयोगमा पुनः शेख इद्रिसको गोठ घर निर्माण गरें ।

गोठ घरमा गाईवस्तुले खाने भुस राखी त्यसपछि अन्य पुराना घरहरुबाट माकुराको जालो ल्याई सो घरको छानोमा जालो लगाई घटनास्थल परिवर्तन गरे गराएको हुँ ।

बोरामा ल्याएका मानिसलाई भुंग्रोमा हाले

राजेशप्रसाद सहनी (इट्टाभट्टामा काम गर्ने प्रत्यक्षदर्शी )

राति करिब १२ः३० बजेदेखि १०ः बजेको बीचको समयमा ट्याक्टरको आवाज र मानिसहरुको खैलाबैलाले मेरो निद्रा भंग गरायो । म उठें । के रहेछ, रातको समयमा किन ट्राक्टरमा मानिस आएका हुन भनी डर लाग्यो । बद्री सहनीसमेत सँगै देखें । बद्रीलाई सँगै देखेपछि मलाई नजिक गएर बुझ्न मन लाग्यो, नजिक गएँ ।

ट्याक्टर नजिक पुग्दा मो. अफताब आलम, निजका भाइ मो. महताब आलम लगायत करिब आधा दर्जन मानिसहरु थिए । उनीहरु नेता भएकाले मैले चिनेँ । अरुलाई चिन्न सकिनँ । बद्री सहनीसमेत सोही ट्याक्टरमा सँगै आएका रहेछन् । ट्याक्टरमा जुटको बोरामा मानिस हालेर ल्याएका रहेछन् । त्यो देखेर म धेरै डराएँ । मलाई निजहरुले ठूलो स्वरमा त्यहाँबाट टाढा जान आदेश दिए । म केही पर गएँ । बोरामा ल्याएका मानिसहरु पालैपालो निकाल्दै ईट्टा पोल्ने भुंग्रोमा हाल्न लागे । निजहरुले कति मानिसहरु ल्याए, एकिनका साथ संख्या भन्न सक्दिनँ । मलाई केही पर पठाएको कारण गन्न सकिनँ । जसमध्ये कोही जिउँदै पनि हुनुपर्छ । किनकि, मैले बोरामा जलाएको देखेको थिएँ ।

बद्री सहनीसमेत जलाउने काममा प्रत्यक्ष सहभागी बनेका थिए । उनीहरु करिब ३ घन्टा लगाएर जलाइसकेपश्चात सबैजना गाउँतिर फर्केका थिए ।

सबैजना भुंग्रोमा खरानी भएको भाइले सुनाए

लखिन्द्र पटेल (राजा इँटा उद्योगमा काम गर्ने)

म मतदानको अघिल्लो दिन ०६४ साल चैत २७ गते अरु दिनझैँ बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्मको ड्युटी सिफ्ट समाप्त गरी घर फर्केको थिएँ । २८ गतेका दिन बिहान सिफ्टमा काम गर्न सो गाउँ पुग्दा गाउँमा मतदानको चटारो थियो । गाउँलेहरुले बम विष्फोट भएको बारे गाइँगुइँ कुरा गरेको सुनेँ । उद्योगमा पुगी मेरो भाइ प्रभुलाई आफूले गाउँमा सुनेको हल्लाबारे सोध्दा चुपचाप काम गर्ने, अरु कुरा हाम्रो विषय होइन भनी जवाफ दियो ।

रातको सिफ्टमा मेरो भाइसँगै काम गर्ने अन्य ३ जना मेरै गाउँका बद्री सहनी, मुक्ति शाह र बारा बसतपुरका कृष्ण मुखिया समेत मुखामुख मात्र गरे, तर केही बोलेनन् । मलाई मनमा चिसो पस्यो । पुनः सोही कुरा सोध्दापछि थाहा पाउला भन्ने जवाफ पाएँ ।

मैले आफ्नो काम सुरु गरें र ११ः०० बजे आफ्नो सिफ्ट ड्युटी सकी हतार–हतार मतदान गर्न आफ्नो गाउँ सिम्रौनगढ फर्किएँ । बम विष्फोटनको हल्ला मेरो गाउँ बारासम्म फैलिसकेको रहेछ, सबैले मलाई नै घटनाबारे के भएको हो भनी सोध्ने गर्दथे । मैले सुनेको मात्र हो, अरु थाहा छैन भनी जवाफ दिने गर्दथें ।

२९ गते पुनः विहान ७ः०० बजे काममा पुगेँ । ईंटा बोकी म्यान नजिकमा अस्वाभाविक रुपमा गहुँको भूसा छरपष्ट भएको देखेँ । मेरो भाइ त्यहीँ भएका कारण मैले यो भुसा कसरी यहाँ आयो ? तिम्रो रातको सिफ्ट ड्युटी थियो । के भएको हो ? भनी सोध्दा भाइले एकान्तमा लगी घटनाबारे सविस्तार सुनाए ।

भाइले बताएअनुसार २७ गते साँझ शेख ईद्रिसको गोठघरमा नेता मो. अफताव आलम लगायतका मानिसहरुले चुनाव जित्नका लागि बम बनाउने क्रममा अचानक विष्फोट हुँदा ठूलो मानवीय क्षति भएको, सो घटनामा परी केही मानिसको मृत्यु भएको त केही मानिसहरु सख्त घाइते भएको, घाइते भएकालाई हिजो राति २७ गते ट्याक्टरमा लोड गरी मो. आफताब आलम, मो. महताब आलम, शेख भदई, मो. मोबिन आलम, शेख सेराज लगायत अन्य नचिनेको हिन्दी भाषा बोल्ने ३/४ जना समेतले ल्याई इँट्टा पकाउने भुंग्रोमा जिउँदै पालैपालो हालेको सबैजना सोही भुंग्रोमा खरानी भएको भन्ने बताएका थिए ।

फरहदवा गाउँमा हल्ला फैलिसकेको थियो

जलिप अन्सारी (राजा इँटा उद्योगमा कामदार)

बद्रीको प्रायः रातको सिफ्टमा ड्युटी हुने गर्दथ्यो । बद्री हेडमिस्त्री भएको कारण चौबीसै घन्टा स्ट्याण्डवाइ हुनु पथ्र्याे । उनले बताएअनुसार साँझको करिब ६ः१५ बजेदेखि ६ः३० बजे बीचमा ठूलो धमाका साथ विष्फोट भएको रहेछ । उसले पनि विष्फोटको धमाका प्रष्टै सुनेको रहेछ । विष्फोटन पश्चातः उसलाई समेत सरसल्लाह गरी सबै योजना बनाएको सुनाएको थियो ।

बद्री सहनीले भने अनुसार विष्फोट भएपछि मो. अफताब आलम र मो. महताब आलमले बद्रीलाई घाइते तथा मृत्यु भएकालाई चिम्नी भट्टामा लगि जलाउन सहयोग गर्न भनेको रहेछन् । सोही बमोजिम २७ गते करिब १२ः३० बजेदेखि १ः०० बजेको बीचमा घाइतेहरुलाई बोरामा हाली ट्याक्टरमा लोड गरी ईंट्टा भट्टामा ल्याई हाली जलाएको रहेछ । फरहदवा गाउँमा यसको हल्ला फैलिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment