Comments Add Comment

प्रधानमन्त्री ओली दिनभर सक्रिय

१७ कात्तिक, काठमाडौं । शनिबार पार्टी नेताहरुलाई आफ्नो मिर्गौलाले राम्रोसँग काम नगरेको, फोक्सोमा पानी जमेकाले अब नियमित डायलासिस गर्नुपर्ने सुनाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहारमा चमक पनि घटेको थियो ।

दुई दिन अस्पताल बसाई र डायलासिसका कारण पनि प्रधानमन्त्री ओली थकित देखिन्थेे । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुले पनि प्रधानमन्त्री ओली केही गलेको झै देखिएको बताएका थिए ।

तर आइतबार निकै सक्रिय देखिए । बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओभास्कुल तथा थोरासिक सेन्टरमा पुगेर छातीको एक्सरे गराए । त्यहाँबाट बालुवाटार फर्किएपछि लगातार बैठक र भेटघाटहरुमा व्यस्त रहे ।

सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखे । सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने, नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गराए । त्यसपछि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरे ।

साँझ नेकपाको सचिवालय बैठकमा सहभागी भए, जसले मंसिर १४ को उपचुनावका लागि उम्मेदवारहरु टुंगो लगाएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक दोस्रो बैठक पनि बोलाएका थिए, तर नेकपा सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुबारे निर्णय नगरेका कारण स्थगित भयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री ओली दिनभर सक्रिय रहेको बताए । प्रधानमन्त्रीको स्वास्थ्यको विषय पुरानो भइसकेको भन्दै उनले अघि भने, ‘प्रधानमन्त्रीले दिनभर सक्रिय रुपमा बैठकहरुमा भाग लिनु भएको छ । भोलि पनि ११ बजे क्याबिनेट बोलाइएको छ ।’

प्रधानमन्त्रीलाई राहत दिने रिपोर्ट

बुधबार धापासीस्थित ग्राण्डी अस्पतालमा परीक्षण गर्दा प्रधानमन्त्री ओलीको मिर्गौलोले राम्रोसँग काम नगरेको मात्र होइन, फोक्सोमा पानी जम्मा भइसकेको देखिएको थियो । त्यही कारण चिकित्सकहरुले आकस्मिक रुपमा डायलासिस गराए ।

बिहीबार पनि डायलासिस गरेर बालुवाटार फर्किएका उनले शनिबार पार्टी नेताहरुलाई अब नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको सुनाएका थिए । शनिबार वा आइतबार फेरि डायलासिस गर्ने तयारीमा रहेको समेत बताएका थिए ।

उपचारमा संलग्न चिकित्सकहरुले फोक्सोको पानी निकाल्नुपर्ने पर्ने हो कि भन्ने आशंका गरेका थिए ।

तर आइतबार विहान गरिएको एक्स–रेले राहत दियो । फोक्सोमा जम्मा भएको पानी हटिसकेको रिपोर्टमा देखिएको छ । ‘फोक्सोमा जम्मा भएको पानी निकाल्नुपर्ने हो कि भनेर चेकजाँच गर्न आउनु भएको थियो’ सेन्टरका एक चिकित्सकले भने, ‘हामी पानी निकाल्नु पर्दैन भन्ने निष्कर्षमा पुग्यौं र उहाँ फर्किनुभयो ।’

प्रधानमन्त्रीको मुटुमा पनि कुनै समस्या नरहेको पाइएइको छ । एक चिकित्सकले भने, ‘डायलासिसपछि मिर्गौलामा पनि केही सुधार भएको होला । त्यसैले प्रधानमन्त्रीको स्वास्थ्यमा हिजो अस्तिको तुलनामा केही सुधार देखिएको छ ।’

प्रधानमन्त्रीले पनि आफ्नो स्वास्थ्यमा सुधार भएको सुनाएको नेकपाका नेताहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment