१९ कात्तिक, काठमाडौं । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सदस्यका लागि बाग्लुङ २ ‘ख’ मा खिमविक्रम शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमोर्चाका शाहीलाई सत्तारूढ नेकपाले सघाउनेछ ।
बाग्लुङ २ ‘ख’ मा सत्तारुढ नेकपाले जनमोर्चालाई समर्थन गरेको छ भने दुई दलबीच भएको चुनावी तालमेलको सहमतिअनुसार कास्की २, भक्तपुर २ ‘ख’ र दाङ ३ ‘ख’मा भने जनमोर्चाले नेकपालाई समर्थन गर्नेछ ।
०७४ को चुनावमा बाग्लुङ २ ‘ख’ मा जनमोर्चाकै टेकबहादुर घर्ती विजयी भएका थिए । उनको निधन भएपछि १४ मंसिरमा उपचुनाव हुँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच आगामी मंसिरमा हुने उपनिर्वाचनमा तालमेल गर्ने सहमति भएको हो । केन्द्र, प्रदेश र स्थानीय तह उपनिर्वाचनमा तालमेल गर्ने सहमति भएको । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
सहमति अनुसार जनमोर्चाले प्रदेशसभा सदस्य र एउटा वडाध्यक्ष उठाउने छ । जनमोर्चाले बाग्लुङ-२ (ख)मा खिमविक्रम शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यो क्षेत्रबाट गत निर्वाचनमा नेकपाकै समर्थनमा जनमोर्चाका टेकबहादुर घर्तीले चुनाव जितेका थिए ।
प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पनि जनमोर्चाको भागमा परेको छ । त्यहाँ भक्तबहादुर बिकलाई उम्मेदवार बन्ने पक्का भएको छ ।
अध्यक्ष केसीले भने, ‘बाँकी स्थानमा हामीले उम्मेदारी नदिने र नेकपाको उम्मेदवारहरूलाई सघाउने सहमझदारी भएको छ ।’
१४ मंसिरमा एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न ४८ पदका लागि उपनिर्वाचन हुँदैछ ।