Comments Add Comment

प्रचण्डले भने– ढिलो चाँडो मै प्रधानमन्त्री

न्यारो बडी घोटाला प्रतिवेदन संसदीय समितिले लुकायो

२० कात्तिक, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले राजपुर फरहदवा बम काण्डका मुख्य आरोपित मोहम्मद आफ्ताव आलमले अदालतमा दिएको वयानबारे लेखेका छन् भने कुनैले न्यारोडबडी जहाज घोटाला, उपनिर्वाचन, प्रधानमन्त्रीको स्वास्थ्यलगायत विषयमा समाचार बनाएका छन् ।

पश्चिम नवलपरासीको रामग्राम स्तूपा परिक्रमा गरिरहेका भिक्षुहरूको तस्वीर छापेको कान्तिपुरले नेकपा नेता प्रचण्डले नेपालगञ्ज पुगेर व्यक्त गरेको भनाइलाई स्थान दिएको छ । समाचार अनुसार,प्रचण्डले आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आलोपालो सरकारको नेतृत्व गर्ने लिखित सहमति भएको चर्चा भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो ।

नेकपा बाँकेले आयोजना गरेको चियापानमा सहभागी हुन त्यहाँ पुगेका प्रचण्डले नेपालगञ्ज उद्योग वाणिज्य संघले पेस गरेको ७ बुँदे मागपत्र बुझ्दै ढिलोचाँडो आफू प्रधानमन्त्री हुने र माग पूरा गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ । समाचार अनुसार प्रचण्डले आफू सरकारको नेतृत्वमा आएपछि सबै पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्न पहल गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्रीको उपचारबारे पनि कान्तिपुरमा एक सामग्री छ । समाचार अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर देखिएको छ । अघिल्लो साता मृर्गौलाले काम गर्न छाडेपछि दुईपटक डायलाइसिस गराएका ओलीले गत शनिबार या आइतबारमध्ये एक दिन फेरि डायलाइसिस गर्नुपर्ने बताएका छन् ।

चितुवाको आक्रमणबाट जोगिन तनहुँको भानुनगरका बासिन्दाले चितुवाको पूजा गरेकोलाई कान्तिपुरले एंकर बनाएको छ । समाचार अनुसार चितुवाको आक्रमणबाट जोगित सोमबार पूजाआजा गरेका उनीहरूले कालीकादेवी र भीमसेन थुम्की मन्दिरमा दर्जन बोकाको बलि दिएका छन् ।

न्यारोबडी जहाज खरिदमा भएको एक अर्बभन्दा बढीको अनियमितता काण्ड संसदीय समितिले गुपचुप राखेको प्रसंग अन्नपूर्णले उप्काएको छ । एक अर्ब २० करोड घोटाला ठहर गरेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन लुकाइएको दाबी अन्नपूर्णले गरेको छ ।

नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी बिचौलियाबाट महँगो मूल्यमा खरिद गर्ने गरेको राष्ट्रिय सतर्कता केन्द्रको निष्कर्षलाई नागरिकले समाचार बनाएर छापेको छ । किसानलाई धानको उचित मूल्य दिन न्यूनतम मूल्य तोकिने गरे पनि संस्थानले किसानसँग नभई बिचौलियासँग धान किन्ने गरेको हो ।

सरकारी मुखपत्र गोरखापत्रले गर्भवती तथा सुत्केरीको हवाई उद्धार प्रभावकारी भएको दाबी गरेको छ भने कारोबारले सहकारीको सेवा शुल्कमा पनि सीमा निर्धारण गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment