Comments Add Comment

‘खुलामञ्चमा लाज भयो, अहिले नरोके कहिले रोक्ने ?’

२१ कात्तिक, काठमाडौं । टुँडिखेललाई अतिक्रमण मुक्त गर्न भन्दै अकुपाई टुँडिखेल अभियान घोषणा गरिएको छ । अभियान अन्तर्गत शनिबार काठमाडौंमा नावव साङ्लो बनाएर टुँडिखेललाई घेरा हालिँदैछ ।

कुनै समय एसियाकै ठूलो परेड मैदानका रुपमा रहेको टुँडिखेल अहिले विभिन्न भागमा खुम्चिएको छ । धेरैजसो भूभाग नेपाली सेनाले परेड खेल्न प्रयोग गर्छ भने केही भूभाग यतिबेला चिनियाँ ठेकेदारको नियन्त्रणमा छ । पुरानो बसपार्क, चिनियाँ कम्पनीका निर्माण उपकरण लगायतले घेरिएको टुँडिखेलको थोरैमात्रै भूभाग सर्वसाधारणको कब्जामा छ ।

कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङस्थल बनेको छ । सर्वसाधारणको पहुँचमा रहेको थोरै भूभाग बाहेक अस्तव्यस्त बनेको टुँडिखेल मासिने अवस्था आएको भन्दै नागरिककै सक्रियतामा अकुपाई टुँडिखेल अभियान सुरु भएको हो ।

आयोजकहरुले दिएको जानकारी अनुसार विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार बिहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरुवात गरिनेछ । अब तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ ।

बिहीबार अभियानबारे जानकारी दिन खुलामञ्चभित्रै आयोजना गरिएको पत्रकार सम्मेलनमा अभियन्ताहरुले टुँडिखेल सरकारको सम्पत्ति नभएको बताए । उनीहरुले सरकारको सम्पत्ति र सार्वजनिक सम्पत्तिबीच भिन्नता रहेको भन्दै टुँडिखेल सार्वजनिक सम्पत्ति रहेको बताए ।

सार्वजनिक सम्पत्ति संरक्षण गर्ने जिम्मा सर्वसाधारणको भएको भन्दै अभियानमा सहयोग गर्न अभियान्ताहरुले आग्रह गरे ।

टुँडिखेलमा देखिएका समस्या– हामीले के गर्न सक्छौं ?

अभियानका संयोजक विजय श्रेष्ठ काठमाडौंको प्राकृतिक फोक्सो (हावाको श्रोत) टुँडिखेल भएको बताउँछन् । भूमिगत जलभण्डारको पुनः भरणको श्रोत, सांस्कृति सम्पदाको क्षेत्र, ऐतिहासिक राजनैतिक परिवर्तनको साक्षीका रुपमा रहेको टुँडिखेल दैवि प्रकोपका बेला आश्रय लिने ठाउँ समेत भएका कारण यसको संरक्षणमा सबै लाग्नुपर्ने उनको भनाइ छ ।

खुलामञ्चको क्षेत्रमा अहिले अस्थायी बसपार्कको रुपमा पुरानो बसपार्क राखिएको छ । अहिले देखिएका समस्याहरुमा भने अभियानले यसलाई प्रमुख समस्या भएको बताएको छ ।

अस्थायी बसपार्क भन्दै स्थायी बसपार्क बन्न सक्ने खतरा रहेको भन्दै अभियानले खुलामञ्च क्षेत्रमा अनधिकृत पसल, पार्किङ लाई समेत समस्याका रुपमा प्रस्तुत गरेको छ । अभियानले भवन बनाउने, सामान र कामदार राख्ने संरचना निर्माण गर्ने, विभिन्न बहानामा पक्का ढलान गरेर सर्वसाधारणको पहुँच पुग्न नदिएको विषयलाई समस्याको रुपमा अभियानले उठान गरेको छ ।

समस्यासँगै यसका लागि के गर्न सक्छौं भन्ने योजनासहित अघि बढेको अभियानले टुँडिखेल नागरिकको सम्पत्ति भएको भन्दै यसको संरक्षण गर्न आम नागरिकमा अपिल गरेको छ ।

संयोजक श्रेष्ठले समस्या समाधानका लागि मानब साङ्लो बनाएर सरकारलाई संरक्षणका लागि दवाब दिन सकिने बताए ।

खुलामञ्चमा लाजसरम भयो– अहिले नरोके, कहिले रोक्ने ?

बिहीबार खुलामञ्चमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले सार्वजनिक सम्पत्ति संरक्षणको जिम्मा सबैको भएको भन्दै सबैले यसमा साथ दिनुपर्ने बताए । पूर्वमन्त्री प्रधानले टुँडिखेल मिचिँदै जाँदा सर्वसाधारणलाई अप्ठेरो परेको भन्दै टुँडिखेल खुला हुनुपर्ने बताए ।

उनले अझै अतिक्रमण भए खुला ठाउँ नै देख्न नपाइने बताए । प्रदेश सांसद विराज भक्त श्रेष्ठले त खुलामञ्चलाई ‘लाजसरम’ भएको बताए । हिजो कुनैबेला यही ठाउँबाट ठूला–ठूला नेताहरु स्थापित भएको भन्दै उनले भने, ‘म कामरेडहरुलाई भन्न चाहान्छु, खुलामञ्चमा लालसलामबाट लाजसरम भयो ।’

टुँडिखेल सबैको साझा सम्पत्ति भएको भन्दै उनले सरकारले अभियानको माग पूरा गर्नुपर्ने बताए । सार्वजनिक सम्पत्ति नै संरक्षण गर्न नसकिने भए लोकतन्त्रको अर्थ नै नरहेको उनले बताए ।

घरमा बालवालिकाले खुला ठाउँ नपाएको र ज्येठ नागरिकहरु घरमा कुजिएर बसको भन्दै प्रदेश सांसद श्रेष्ठले यसलाई खुला गर्न सके सबैको हित हुने बताए । सफा मनले टुँडिखेल जोगाउने अभियानमा होमिएको भन्दै उनले सेतो सर्ट लगाएर अभियानमा सहभागी हुन अपिल समेत गरे ।

मेयरको आरोप– बदमासी कांग्रेसको हो

अभियानको जोडतोडले प्रचार भइरहँदा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने टुँडिखेल अतिक्रमण हुँदै जानुमा कांग्रेसको हात रहेको बताएका छन् । यद्यपि, अभियानलाई सकारात्मक भएको मेयरको प्रतिक्रिया छ ।

मेयर शाक्यले अभियान सकारात्मक भए पनि राजनीति रंग देखिनु गलत भएको प्रतिक्रिया दिए । अहिले अभिायनमा होमिएका सांसद भीमसेनदास प्रधान रक्षामन्त्री भएका बेला सेनालाई संरचना निर्माण गर्न दिएको मेयर शाक्यको आरोप छ ।

पूर्वमन्त्री प्रधानप्रति संकेत गर्दै मेयर शाक्यले भने ‘आफू रक्षामन्त्री रहेका बेला सेनालाई संरचना निर्माण गर्न अनुमति दिने अनि अहिले सरकारमा नभएको मौका छोपेर टुँडिखेल मिचियो भन्दै हल्ला गर्ने कुरा राजनीतिक पूर्वाग्रहबाहेक केही पनि होइन ।’

‘टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा महानगरपालिका सकारात्मक छ, तर, अभियानको बाहानामा केहीले राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी गरे भने त्यो राम्रो होइन’ उनले भने ।

टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राख्ने दायित्व महानगरपालिकाको पनि भएको भन्दै उनले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले पनि सक्दो प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment