Comments Add Comment

कस्तो छ आयुष्मान खुरानाको ‘बाला’ ?

बलिउड अभिनेता आयुष्मान खुरानाले पछिल्लो समय जस्तो प्रकारका फिल्महरु गरिरहेका छन्, ती फिल्महरुबाट उनले दर्शकहरुलाई विशेष प्रकारको कन्टेन्ट हुने विश्वास दिलाउन सफल भएका छन् । त्यसैले आज शुक्रवारदेखि प्रदर्शित आफ्नो नयाँ फिल्म ‘बाला’ को पोस्टर रिलिजदेखि आजका मितिसम्म उक्त फिल्मका लागि दर्शकहरुमा राम्रै उत्सुकता पाइएको छ ।

फिल्ममा बाल मुकुन्दको कथा समेटिएको छ । जो बाल्यकालदेखि कलेजसम्म आफ्ना साथीहरुमाझ नायक झैं रहेका छन् । शाहरुख खान तथा अमिताभ बच्चनका रोमान्टिक संवाद बोल्नु उनको एउटा राम्रो खुबी हो । तर, अचानक उनका कपालहरु बिस्तारै र्झन थाल्छन् । त्यसपछि उनी तालु खुइले हुन्छन् । उनको खुइलिएको तालुलाई फिर्ता ल्याउने अनेकौं प्रयास गरिन्छ । कपाल झरेपछि उनलाई उनका नातेदार, साथीभाइ तथा अफिसका सहकर्मीहरुले हेर्ने नजर नै परिवर्तन हुन्छ । अरु त अरु, बाला स्वयंले नै आफूलाई हेर्ने नजर परिवर्तन गर्न बाध्य हुन्छन् । यिनै विषयवस्तुमा यो चलचित्र आधारित छ ।

फिल्मको उत्कृष्ट पटकथा, मनोरञ्जक कथा, उत्कृष्ट अभिनय तथा माझिएको निर्देशनले यो फिल्मलाई उत्कृष्ट बनाएको छ । फिल्ममा कमेडी तथा संवेदनाहरुलाई समान रुपमा समावेश गरिएको छ । यही नै यो फिल्मको सुन्दर पक्ष हो । यसका लागि निर्देशक अमर कौशिक बधाईका पात्र बनेका छन् ।

बालाको चरित्रमा आयुष्मान खुराना पूर्ण रुपमा सफल देखिएका छन् । तालु खुइले हुनुको पिडा, छटपटाहट तथा आफैंप्रति हाँस्ने मानिसहरुको डर जस्ता भावनाहरुलाई उनले नबोलिकनै पूर्ण रुपले सम्प्रेषण गरेका छन् । कालिन्दीको चरित्रमा अभिनेत्री भूमि पेडनेकरले आफ्नो संवदेनशील अभिनयमार्फत् दर्शकको मन जितेकी छिन् ।

परीको चरित्रमा अभिनेत्री यामी गौतमले अहिलेसम्मको सर्वश्रेष्ठ अभिनय गरेकी छिन् । सौरभ शुक्ला तथा सीमा पाहवाको जोडीले सशक्त उपस्थित जनाएका छन् । बच्चन भैयाको चरित्रमा जावेद जाफरीले रमाइलो अभिनय गरेका छन् । उनी जुन उचाइका अभिनेता हुन्, त्यो उचाइको भूमिका अहिलेसम्म उनले पाएका थिएनन्, के आशा गर्न सकिन्छ भने बच्चन भैयापछि उनलाई एउटा बेग्लै चरित्रका लागि समेत सोच्न सकिने छ ।

समग्रमा बाला एउटा मनोरञ्जक फिल्म हो, जुन बडी सेमिङ जस्तो सवेदनशील मुद्दामा बनेको छ । यो फिल्म सपरिवार सँगै हेरेर आनन्द लिन सकिने शैलीको छ ।

कलाकार : आयुष्मान खुराना, यामी गौतम, भूमि पेडेनकर, जावेद जाफरी

निर्देशक : अमर कौशिक

निर्माता : दिनेश विजन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment