Comments Add Comment

शक्तिखोर–फिस्लिङ सडक निर्माणको काम सुस्त 

२२, कार्तिक, चितवन । चितवनको शक्तिखोरदेखि धादिङको फिस्लिङ जोड्ने सडक निर्माणको काम निकै सुस्त गतिमा अघि बढेको छ ।

एसियाली विकास बैंकको अनुदानमा गत वर्षबाट निर्माण थालिएको सडकको काम अहिलेसम्म २५ प्रतिशत मात्रै सकिएको छ । गत वर्ष पुषमा शिलान्यास भई निर्माणको काम अघि बढेको भएपनि सडक निर्माणको कार्यले गति लिन नसकेको स्थानीयको गुनासो छ ।

दुई वर्षभित्र निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ । सम्झौताको १० महिना बितेको छ । यो सडकले फिस्लिङ–तोलाङ–बाँसपुर–ओर्लाङ–मायाटार–तेर्से–उपरदाङगढी–शक्तिखोर जोड्छ । केही वर्ष पहिले आरआरएनले १२ करोड खर्चेर यो सडकको ट्रयाक खोलेको थियो । शक्तिखोरदेखि फिस्लिङसम्मको दूरी ४७ किमि छ । यसपटक ३७.९ किमि सडक मात्रै कालोपत्रे हुनेछ । निर्माणको जिम्मा साञ्जी एण्ड आशीष जेभीले पाएको छ ।

कम्पनीले ७८ करोड ९६ लाख १७ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का पाएको हो । सडक ७.२५ मिटर चौडा पारिने छ । निर्माण कम्पनी साञ्जी एण्ड आशीष जेभी प्रमुख रोशन आचार्यले ड्रेन बाहेकको ४.५ मिटर सडक पिच गर्नुपर्ने आवश्यकता रहे पनि सम्झौतामा ३.७५ मिटरको पिच गर्ने उल्लेख रहेको बताए । ठेकेदार आचार्यले ४ किमि नयाँ ट्रयाक खोलेको र अन्य पुरानै ट्रयाक हुँदै बाटो जोडिने बताए । शक्तिखोर–उपरदाङगढी, उपरदाङगढी–तेर्से र तेर्से–तोलाङसम्म तीन खण्डमा विभाजन गरी निर्माणको काम भइरहेको उनले बताए । सडकको ६५ प्रतिशत काम असारसम्म निर्माण सम्पन्न गरिसक्ने आचार्यको दाबी छ ।

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई ललितपुरले अनुगमन गर्ने गरी गत वर्षको पुसमा सडकको शिलान्यास गरिएको थियो । ‘दशै अघिसम्म २१ प्रतिशत निर्माणको काम सकिएको थियो’, आयोजनाका इन्जिनियर कालीबहादुर शाहीले भने, ‘अहिले २५ प्रतिशतसम्म काम सकियो । स्थानीयले सडक निर्माणको काम सुस्त गतिमा भइरहेको आरोप लगाएपनि इन्जिनियर शाहीले भने निर्माणमा कुनै अवरोध नआए तोकिएको समयमा नै सडक निर्माण सम्पन्न हुने दाबी गरे ।

चेपाङको बाहुल्य रहेका पहाडमा पिचसहितको सडक निर्माण हुने भएपछि यहाँका स्थानीय खुसी बनेका छन् । स्थानीय शन्तबहादुर चेपाङले दिनभर हिड्नुपर्ने सडक पिच भएपछि एक/दुई घण्टामा नै पार गर्न सकिने बताए । स्थानीय उत्पादनलाई बजारसम्म सडक निर्माण पछि सहज हुने उनले बताए ।

सांसद कृष्णभक्त पोखरेलले सडक निर्माण पश्चात पहाडी क्षेत्रमा पर्यटक चहलपहल बढ्ने र शक्तिखोर व्यापारिक केन्द्र बन्ने बताए । उनले मलेखु–भण्डारा चेपाङ मार्गसमेत यो सडकमा जोडिने र नारायणगढ–मुग्लिन सडकको वैकल्पिक सडकका रूपमा विकास हुने धारणा राखे ।
प्रदेश सांसद् घनश्याम दाहालले सिराइचुली, उपरदाङगढी, सिन्ती झरनालाई मूल सडकमा जोड्न प्रदेश सरकार अग्रसर रहेको बताए ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले शक्तिखोर फिस्लिङ सडक नगरपालिकाको प्राथमिकताको सडक भएको बताए । यो सडक निर्माण पछि चितवनका विकट भेग सहजतामा बदलिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment