Comments Add Comment

शक्तिखोर-फिस्लिङ सडक निर्माणको काम सुस्त

२३ कात्तिक, चितवन । चितवनको शक्तिखोरदेखि धादिङको फिस्लिङ जोड्ने सडक निर्माणको काम सुस्त गतिमा अघि बढेको छ ।

गत वर्ष पुस महिनामा यो सडक शिलान्यास गरिएको थियो । दुई वर्षभित्र निर्माण गरिसक्ने सम्झौतामा उल्लेख भए पनि १० महिना वितिसक्दा जम्मा २५ प्रतिशत काम भएको छ ।

एसियाली विकास बैंकको अनुदानमा निर्माण गर्न लागिएको यो सडकले फिस्लिङ-तोलाङ-बाँसपुर-ओर्लाङ-मायाटार-तेर्से-उपरदाङगढी हुँदै शक्तिखोर जोड्छ । शक्तिखोरदेखि फिस्लिङसम्मको दूरी ४७ किमि छ । यसपटक ३७.९ किलोमिटर सडक मात्रै कालोपत्रे गर्ने योजना छ ।

केही वर्ष पहिले आरआरएनले १२ करोड खर्चेर यो सडकको ट्रयाक खोलेको थियो ।

निर्माणको जिम्मा साञ्जी एण्ड आशिष जेभीले पाएको छ । यो कम्पनीले ७८ करोड ९६ लाख १७ हजार ३ सय ३६ रुपैयाँमा ठेक्का पाएको हो । सडक ७.२५ मिटर चौडा पारिने छ ।

निर्माण कम्पनी साञ्जी एण्ड आशिष जेभीका प्रमुख रोशन आचार्यले ड्रेन बाहेक ४.५ मिटर सडक पिच गर्नुपर्ने आवश्यकता रहे पनि सम्झौतामा ३.७५ मिटर मात्र पिच गर्ने उल्लेख रहेको बताए । ठेकेदार आचार्यले ४ किलोमिटर नयाँ ट्रयाक खोलेको र बाँकी पुरानै ट्रयाक हुँदै बाटो जोडिने बताए । शक्तिखोर-उपरदाङगढी, उपरदाङगढी-तेर्से र तेर्से-तोलाङसम्म तीन खण्डमा विभाजन गरी निर्माणको काम भैरहेको उनले बताए । सडकको ६५ प्रतिशत काम असारसम्म निर्माण सम्पन्न गरिसक्ने आचार्यको दावी छ ।

ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाइ ललितपुरले अनुगमन गर्ने गरी गत वर्ष पुसमा सडक शिलान्यास गरिएको थियो । ‘दशै अघिसम्म २१ प्रतिशत निर्माणको काम सकिएको थियो’, आयोजनाका इन्जिनियर कालीबहादुर शाहीले भने, ‘अहिले २५ प्रतिशतसम्म काम सकियो । उनले निर्माणमा कुनै अवरोध नआए तोकिएको समयमा नै निर्माण सम्पन्न हुने दावी गरे ।

चेपाङ समुदायको बाहुल्य रहेको पहाडमा पिचसहितको सडक निर्माण हुने भएपछि स्थानीयबासी खुसी बनेका छन् । स्थानीय शन्तबहादुर चेपाङले दिनभर हिँड्नुपर्ने सडक पिच भएपछि एक-दुई घण्टामा नै पार गर्न सकिने बताए । सडक निर्माण पछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन पनि सहज हुने उनले बताए ।

सांसद कृष्णभक्त पोखरेलले सडक निर्माण पश्चात पहाडी क्षेत्रमा पर्यटक चहलपहल बढ्ने र शक्तिखोर व्यापारिक केन्द्रको रुपमा विकास हुने बताए । उनले मलेखु-भण्डारा चेपाङ मार्गसमेत यो सडकमा जोडिने र नारायणगढ-मुग्लिन सडकको वैकल्पिक सडकका रूपमा विकास हुने धारणा राखे ।

प्रदेश सांसद् घनश्याम दाहालले सिराइचुली, उपरदाङगढी, सिन्ती झरनालाई मूल सडकमा जोड्न प्रदेश सरकार अग्रसर रहेको बताए ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले शक्तिखोर-फिस्लिङ सडकलाई नगरपालिकालाई प्राथमिकतामा राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment