Comments Add Comment

पोखरा पुगेर प्रचण्डले भने – फुर्सदिलो छु, जोतिन राम्रै लाग्या छ !

भारतको नयाँ नक्सा नेपाललाई मान्य छैन ः महासचिव पौडेल

२२ कात्तिक,  पोखरा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड बुधबार दाङमा थिए । दाङमा उनले राष्ट्रियसभा सदस्य कोमल ओलीको सचिवालय उद्घाटन गरे । र, पार्टी कार्यकर्तालाई प्रशिक्षणसमेत दिएर पोखरा आइपुगे ।

अध्यक्ष प्रचण्ड नेकपाका महासचिव विष्णु पौडेलसँगै जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आइपुगेका हुन् । शुक्रबार नेकपाले गरेको आयोजना पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘म अध्यक्ष भएर पनि फुर्सदिलो भएको छु । पार्टीका कमरेडहरु यो फुर्सदिलो छ, यसलाई जोत्नुपर्छ भन्ने मान्नु भा’छ । मलाई पनि जोतिन राम्रै लाग्या छ ।’

नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । प्रचण्डले अर्का अध्यक्षले प्रधानमन्त्री पद सम्हालिरहेकाले आफू फुुर्सदमा रहेको बताएका हुन् । ‘फुर्सदमा भएर पनि मलाई सजिलो भा’छ । देशैभरि घुम्न पाइया छ’ प्रचण्डले कार्यकर्ताहरुसँग भने, ‘जनताका गुनासा, टिप्पणी सुनेर केन्द्रमा लैजाने मौका पाएको छु, पार्टीका लागि ब्रिजिङको काम गरिराख्या छु ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले कात्तिक २४ गते पार्टी एकताकोे अन्तिम टुंगो लाग्नेसमेत जानकारी दिए । उनले कात्तिक २५ सम्म अन्तिम टुंगो लगाएर सबै प्रक्रिया पूरा गरिसक्ने सुनाए । ‘भन्न त हामीले गठबन्धन गर्दा ३ महिनाभित्र टुंग्याउने भनेका थियौं । तर, केही कारणबश १८ महिना पुगिसक्यो,’ उनले भने, ‘अब कोही नआत्तिनुस् । यही २४ गते नै हामी अन्तिम टुंगो लगाउँदै छौं ।’

मदन भण्डारीसँग तत्कालीन समयमा नै एमाले र माओवादीबीच एकताको एजेन्डा भए पनि भण्डारीको दुर्घटनापछि लामो समय कुर्नु परेको प्रचण्डले आफ्नो पुरानो अभिव्यक्ति पोखरामा पनि दोहोर्‍याए । ‘मदन भण्डारीसँग एकता गर्ने एजेन्डा थियो । तर, पछि उहाँको दुर्घटना भएसँगै एजेन्डा अघि बढ्न पाएन,’ उनले भने, ‘म अहिलेसम्म जीवित छु । त्यतिबेला पार्टी एकता भएको भए के हुन्थ्यो होला भन्ने यही एउटा कुरा खड्किरहन्छ ।’

आफ्नै विजय पचाउन सकेनौं

अध्यक्ष प्रचण्डले ०६४ सालमा भूमिगत जीवनपछि पहिलोपटक बहुमतले जिते पनि विजयलाई ‘पचाउन’ नसकेको बताएका छन् । ‘तत्कालीन एमाले जितमा ढुक्क थियो । तर, हामीले बहुमतले जितेपछि एमालेले हार के हो भन्ने राम्रोसँग बुझ्यो,’ उनले भने, ‘तर, त्यो जीतलाई पचाउन सकेनौं । पछि हामीमा अहंकार आयो र विभाजनतर्फ गयौं ।’

०६४ सालमा पार्टीले बहुमत ल्याए पनि पचाउन नसक्दा पछि दोस्रो चुनावमा हार व्यहोर्नु परेको अध्यक्ष प्रचण्डले समीक्षा गरे । प्रचण्डले ०७० सालसम्म आइपुग्दा तत्कालीन माओवादी पार्टीले चुनाव हारेपछि भने बुद्धि फिरेको बताए । उनले भने, ‘दोस्रो चुनावमा हाम्रा दाह्रा भाँच्चिए, सिङ भाँच्चिए ।’

कास्की २ मा हुन लागेको प्रतिनिधिसभाको उपचुनाव रहर या ईच्छाले नभई बाध्यताले भएको प्रचण्डको भनाइ थियो । शोकलाई शक्तिमा बदल्न उपचुनावमा होमिएको र हेलचक्रयाइँ नगर्न प्रचण्डले सुझाए । ‘उपचुनावमा हामीले हेलचेक्र्याईं गर्‍यौं भने जनता र राष्ट्रप्रति गैरजिम्मेवारी ठहर्छ,’ उनले भने ।

भारतको नयाँ नक्सा नेपाललाई मान्य छैन : महासचिव पौडेल

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले भारतले हालै प्रकाशन गरेको नक्सा नेपाललाई मान्य नहुने प्रतिक्रिया दिएका छन् ।

‘भारतले अहिले जुन नक्सा प्रकाशन गरेको छ । त्यो नक्सा नेपाललाई मान्य हुने छैन,’ पौडेलले भने, ‘हामी सधैं स्वतन्त्र छौं । हाम्रो भूमिको एक इञ्च पनि गुम्न दिने पक्षमा छैनौं ।’

महासचिव पौडेलले छिमेकी राष्ट्रसँग सद्भाव राख्न चाहेको तर, भौगोलिक हस्तक्षेप गरे मान्य नहुने बताए । ‘छिमेकीसँग सद्भाव कायम राख्न चाहन्छौं । तर, भौगोलिक हस्तक्षेप गरे चुनौति दिन्छ भने प्रतिरोधमा उत्रिन तयार छौं,’ उनले भने ।

कास्की २ उपचुनावबारे बोल्दै महासचिव पौडेलले कास्कीबाट नयाँ सन्देश दिने दाबी गरेका छन् । उनले भने, ‘कास्की २ मा हाम्रो जीत औपचारिकमात्रै हुन छैन । दुनियाँलाई नयाँ सन्देश दिने गरी जित्नुपर्छ ।’ उनले विरोधीको प्रतिक्रियाबाट प्रभावित नहुनसमेत कार्यकर्तालाई सुझाए ।

१३ हजार मतान्तरले जित्छौं : नेकपा कास्की

अघिल्लो चुनावमा ८ हजार मतान्तरले जितेको नेकपाले मंसिर १४ मा हुन लागेको उपचुनावमा १३ हजार मतान्तरले जित्ने दाबी गरेको छ । नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले अघिल्लो चुनावमाभन्दा ५ हजार बढी मतान्तरले जित्ने उद्घोष गरेका हुन् ।

‘अघिल्लो चुनावमा हाम्रो मतान्तर ८ हजार ५ सय ४६ थियो । अहिले बढी पनि भनेका छैनौं, त्यसमा जम्मा ५ हजार बढाउने भनेका छौं,’ थापाले भने, ‘कास्की २ मा पुन भारी मतले जितेर विजयी झन्डा फर्फराउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

तत्कालीन नेकपा एमालेका रवीन्द्र अधिकारीले उपचुनाव हुन लागेको क्षेत्र कास्की २ बाट ८ हजार ८ हजार मतले बाजी मारेका थिए । २७ हजार मत ल्याएका उनले निकतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार मत ल्याएका थिए ।

चुनाव प्रचार प्रसारका लागि कात्तिक २४ गते ११ वटै वडामा निर्वाचन परिचालन कमिटी गठन गरिने थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment