Comments Add Comment

‘सुरुङ युग’ नआउँदै नेपालमा २५० किलोमिटरभन्दा बढी सुरुङ !

यस्तो छ नेपालका सुरुङको नालीबेली

२२ँ कात्तिक, काठमाडौं । गत चैत ८ गते बुटवल–नारायणगढ सडकखण्डको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘२०८० देखि नेपालमा सुरुङ युग सुरु हुन्छ ।’ कात्तिक ४ गते नागढुंगामा बन्ने सुरुङमार्ग शिलान्यास गर्दा पनि उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताए । प्रधानमन्त्रीका यी भनाइहरुले सुरुङ प्रविधिप्रति उनको मोहलाई झल्काउँछन् । यद्यपि, सुरुङ निर्माण र उपयोगमा नेपाल यसअघि पनि अनुभवहीन चाहिँ होइन ।

बिज्ञहरु नेपालमा मानव निर्मित सुरुङको प्रयोग ४ सय वर्ष पहिल्यै पाल्पाको अर्गलीबाट सुरु भएको दाबी गर्छन् । नेपाल टनेलिङ एशोसियसनका अनुसार नेपालमा सुरुङको इतिहास  निकै पुरानो हो । राजनीतिक अस्थिरता र देशको कमजोर अर्थतन्त्रले सुरुङ प्रविधिलाई आत्मसात गर्न भने नेपाललाई निकै वर्ष लाग्यो ।

एशोसिएसनका अध्यक्ष तथा सुरुङ विज्ञ डा. ज्ञानेन्द्रलाल श्रेष्ठका अनुसार नेपालमा अहिलेसम्म करिब २५१ किलोमिटर सुरुङ बनिसकेको छ । तर, यीमध्ये सुरुङ मानिसका लागि नभएर जलविद्युत आयोजनामा बनेका हुन् । पानीलाई बाँधस्थलबाट पावरहाउससम्म पुर्‍याउन यस्ता सुरुङ प्रयोग गरिन्छन् ।

सुरुङको नालीबेली

एशोसियनका अनुसार हालसम्म जलविद्युत आयोजनाका लागि २१० किलोमिटर सुरुङ खनिइसकेको छ । विभिन्न सरकारी आयोजनासहित निजी क्षेत्रले बनाएका आयोजनामा सुरुङको प्रयोग गरिएको छ । ठूला क्षमताका पेनस्टक पाइपबाट समेत सम्भव नहुने जलविद्युत आयोजनामा इन्जिनियरिङ अध्ययनअनुसार सुरुङहरु खनिन्छन् । आयोजना चलेपछि ती सुरुङहरु पूर्णरुपमा विजुली निकाल्न प्रयोग हुन्छन् ।

नेपालमा पहिलो हाईड्रो सुरुङ रुपन्देहीको तिनाउमा बनेको थियो । तिनाउ जलविद्युत आयोजनाका लागि सन् १९७४ मा यो सुरुङ खनिएको थियो । त्यसपछि नेपालमा दर्जनौं जलविद्युत आयोजनामा सुरुङहरु खनिए ।

नेपालमा पहिलोपटक पाल्पामा मानिसद्वारा नै सुरुङ खनिएको विश्वास गरिन्छ । पाल्पाको अर्गलीमा सिँचाई आयोजनाका लागि सुरुङ खनिएको थियो । १.५ किलोमिटर लामो यो सुरुङ ४ सय वर्ष पुरानो हो । राणाकालमा पाल्पाको तानसेनमा सिँचाइका लागि प्रतापसमशेरले खनाएको मानिने चण्डी भन्ज्याङमा करिब २ किलोमिटर सुरुङ पनि अझै भग्नावशेषका रुपमा रहेको छ ।

नेपालको पहिलो सुरूङमार्ग (रोड टनेल) भने हेटौंडा–पथलैया सडक खण्डको चुरियामाईमा खनिएको थियो । यो सुरुङमार्ग सन् १९१७ मा खनिएको प्रमाणहरु छन् । हाल प्रयोगमा नरहेको यो सुरुङमार्ग डिल्लीजंग थापाले डिजाइन गरेका थिए । अझै पनि संरक्षित अवस्थामा रहेको सुरुङमार्ग २३९ मिटर लामो छ ।

यो सुरुङमार्गलाई एसियाकै पहिलो भनेर पनि दावी गरिन्छ । चुरिया सुरुङको उचाई ५ मिटर छ भने चौंडाई ५ मिटर छ । यो सुरुङमार्ग भएर लामो समयसम्म मकवानपुरको भीमफेदीसम्म गाडी आवात–जावत हुन्थे ।

नेपालमा ढलका लागि पनि सुरुङको प्रयोग भएको छ । काठमाडौंमा तिलगंगा–ताम्रगंगा (गुहेश्वरी) खण्डमा ढलका लागि सुरुङ खनिएको छ, जुने ५२२ मिटर लामो छ । यो भूमिगत ढलमार्ग अहिले पनि प्रयोगमा छ ।

नेपालमा प्राकृतिक खनिजजन्य पदार्थका खानीका लागि पनि सुरुङहरु खनिएका छन् । केही परम्परागत खानीहरुमा यसको प्रयोग भएको थियो । तर, त्यसमध्ये गणेश हिमाल आसपासको क्षत्रेमा खनिएको करिब २ किलोमिटरको सुरुङ अहिलेसम्मको लामो मानिन्छ । पछिल्लो समयमा विभन्न खानीमा अध्ययनका लागि खनिएका सुरुङहरुबारे विस्तृत अध्ययन हुन बाँकी नै छ ।

मेलम्ची सुरूङ

नेपालमा खानेपानीका लागि बनेको पहिलो सुरुङ भने मेलम्चीकै हो । यो सुरुङ करिब २७ किलोमिटर लामो छ । यो सुरुङबाट अझै पनि काठमाडौंमा पानी आईसकेको छैन । तर, पनि हालसम्म खनिएको सुरुङमध्ये यो नै सबैभन्दा लामो हो । २०७४ को चैत २९ गते ब्रेक–थ्रु भएको यो सुरुङ खन्न करिब १० वर्ष लागेको थियो ।

नेपालमा पहिलोपटक आधुनिक प्रविधिको प्रयोगबाट बनेको सुरुङ भने भेरी–बबई डाइभर्सन सुरुङ हो । यसमा अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग भएको थियो । जसमार्फत अपेक्षित समय अगावै सुरुङ छेड्ने काम सकिएको थियो । १२ किलोमिटरको यो सुरुङ मुख्यरुपमा सिँचाईका लागि प्रयोग गरिनेछ । यो सुरुङबाट गएको पानीबाट ४५ मेगावाट विजली पनि निकाल्ने योजना छ ।

बबई नदीको किनार हात्तीखालबाट चुरे पर्वत छिचोल्दै भेरी किनारको चिप्लेसम्म यो सुरुङ खनिएको छ । यो सुरुङको ब्रेक–थ्रु गत वैशाख ३ गते प्रधानमन्त्री ओलीको उपस्थितिमा भएको थियो । योसहित सिँचाईका लागि नेपालमा करिब १४ किलोमिटरभन्दा बढी सुरुङ खनिएको अनुमान छ ।

मध्य मर्स्याङ्दी जलविद्युतले बनाएको बेसीशहर-चामे खण्डको सुरूङमार्ग

हुन त नेपालका सडकमा सुरुङहरु खासै प्रयोगमा छैनन् । तर कतिपय स्थानमा जलविद्युत आयोजनाका लागि खनिएको सुरुङ मानव प्रयोगमा आएको देखिन्छ । त्यसमध्ये सबैभन्दा बढी प्रचलनमा रहेको लमजुङको बेसीशहरबाट मनाङको चामे जाँदा भेटिने सुरुङमार्ग हो । ३१२ मिटरको यो सुरुङमार्ग अपर मस्र्याङ्दी आयोजनाले बनाएको हो । यहाँबाट सार्वजनिक सवारीहरु पनि नियमित आवात–जावत गर्छन् ।

माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल लामाबगर जाँदा प्रयोग हुने ३ सय ३७ मिटरको सुरुङमार्ग पनि अर्को उदाहरण हो । काभ्रेभीरमा पहिरो गएपछि सामान आपूर्तिमा सहजताका लागि आयोजनाले खनेको यो सुरुङमार्ग अहिले पनि सार्वजनिक प्रयोगमा छ, जुुन सुरुङ हुँदै लामाबगर जान सकिन्छ ।

यसबाहेक सवारीको आवागमनका लागि कालीगण्डकी जलविद्युत आयोजनामा पनि छोटो सुरुङमार्ग बनाइएको छ । ८ मिटर चौडाई र उचाईको सो सुरुङमार्ग हाल प्रयोगमा छैन । यो सुरुङमार्ग नेपालको अहिलेसम्मको फराकिलो सुरुङ भएको अनुमान छ ।

चुरिया सुरूङ

हेटौंडामा प्रयोगविहीन अवस्थामा रहेकोसहित सडकका रुपमा हालसम्म २ किलोमिटर सुरुङमार्ग बनेको नेपाल टनेलिङ एसोसिएसनको तथ्यांकले देखाउँछ । अब निकट भविष्यमा नै नागढुंगासहित द्रुतमार्ग र सिद्धबाबामा सुरुङमार्ग बनाउने तयारी छ ।

यस्तै विभिन्न जलविद्युत आयोजनाहरुमा दैनिक रुपमा सुरुङहरु बनाउने काम चलिरहेको छ । अब मेलम्चीमा यांग्री र लार्के खोलको पानी मिसाउने भएपछि करिब ११ किलोमिटरको खानेपानी सुरुङ पनि थपिनेछ । यस्तै प्रस्तावित मेट्रो तथा अन्तरदेशीय रेलमार्गहरु बनेमा सुरुङको प्रयोग नेपालमा बढ्नेछ ।

सुरुङ निर्माण कति कठिन ?

अध्यक्ष श्रेष्ठ

टनेलिङ एसोसिएसनका अध्यक्ष श्रेष्ठ नेपाल सुरुङहरुको प्रयोगका हिसावले सामान्य जोखिम क्षेत्र भएको बताउँछन् । भूकम्पीय जोखिमका हिसावले जापान र ताइवानजस्तो उच्च जोखिम नभएको तर युरोपमा जस्तो सहज पनि नभएको उनको कथन छ । उनका अनुसार नेपालमा सुरुङ बनाउँदा कतिपय क्षेत्रमा टेक्टोनिक प्लेटको ‘फल्ट लाइन’ भेटिन सक्छ ।

‘जमिनबाट जति मुनि गयो, त्यति नै भूकम्पीय असर र त्यसको जोखिम कम हुन्छ, त्यसैले हाम्रो पहाडी क्षेत्रमा यस्ता सुरुङहरुको प्रयोग बढाउनुपर्छ,’ श्रेष्ठले भने, ‘सडकदेखि विभिन्न सम्भाब्य परियोजनामा सुरुङ प्रयोग गर्दा आर्थिक लाभ मात्र हुँदैन, त्यसबाट वनजंगल तथा जैविक विविधताको विनास रोकिएर वातावरणीय लाभ पनि प्राप्त हुन्छ ।’

सुरुङ खन्ने प्रविधिमा भएको विकासलाई नेपालले आत्मसात गर्नुपर्ने मत उनको छ ।

‘अब नयाँ प्रविधि भित्र्याएर यसका लागि जनशक्ति तयार गर्नुपर्छ, हामीसँग पर्याप्त र दक्ष जनशक्ति नभए सुरुङको विकासमा पछि पर्छौं,’ उनी भन्छन्, ‘सुरुङ खानेपानी, सिँचाई लगायतका परियोजनामा निर्विकल्प हुन्छ, भने सडक परियोजनामा आर्थिक तथा वातावरणीय लाभको लेखाजोखा गरेर बनाउनुपर्ने हुन्छ । पहाड चढेर बेसी झर्ने पुरानो सोचलाई अब सुरुङ प्रविधिले विस्थापन गर्न सक्नुपर्छ ।’

महंगो भन्दै सुरुङ प्रविधिमा जान अल्मलिए विकासको गतिमा नेपालले फड्को मार्न नसक्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । विज्ञको सुझावअनुसार अब नेपालले सुरुङ इन्जिनियरिङको पढाई पनि सुरु गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment